News 24 Television
उपसभामुखको लापरवाही कि नेताका षड्यन्त्र ? दाउ कुर्दै कांग्रेस–एमाले

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरमाथि पदीय आचरणविपरितको काम गरेको अभियोग लगाएर कांग्रेस–एमालेले संवैधानिक परिषद्को अंकगणित फेर्ने तयारी गरिरहेका छन् । उपसभामुखमाथि उठेका प्रश्न हेर्दा सामान्य भएपनि उनको कार्यशैली भने सोच्नुपर्ने किसिमको नै छ । तर, दलहरुले किन यसरी संसदलाई अपमानको शिखरमा पु¥याउने गरि राजनीतिक कदम चाल्न चाहेका छन् ? यो पनि सोचनीय विषय बन्दै गएको छ । 

उपसभामुख इन्दिरा राना मगर पदीय संकटमा मात्रै परेकी छैनन्, उनी राजनीतिक नैतिकताको कसीमा समेत बाँधिन पुगेकी छन् । यस पहिले अमेरिकामा असम्बन्धित मान्छेलाई भिसा अन्तरवार्ताको समय छिटो मिलाइदिन भन्दै लेखेको पत्र पदीय दूरुपयोग प्रष्ट ढंगले देखिएको थियो । तर, राजनीतिक तानातानका कारण उनी सुरक्षित हुन पुगिन् । 

अहिले पनि अमेरिकामा रहेकी उपसभामुख संसदीय कार्यक्रममा सहभागी नभएको विषयले उनको राजनीतिक इमान्दारितामाथिको प्रश्न थप पेचिलो बनिरहेको छ । अमेरिकामा लामो समय विताउने गरि गैरसंसदीय कार्यक्रममा अमेरिका पुगेकी उनलाई प्रश्न स्वभाविक बनेको छ । रातो पासपोर्टको दुरुपयोगको भद्दा नमुना पेश गरेको भन्दै प्रश्न गर्न थालिएका छन् । 

यो पाटो एकातिर छदैछ, उपसभामुखको यही बरालिने शैलीको मौका छोपेर आफु अनुसार नतिजा निकाल्ने ध्याउन्नमा छन्, कांग्रेस–एमाले । रानालाई उपसभामुखबाट हटाएर कांग्रेस–एमालेले संवैधानिक परिषद्को अंकगणित पुरा गर्ने दाउ खोज्नु पनि कुसंस्कारकै शैली देखिन्छ । दलहरुको यस्तो प्रवृतिले संसददेखि सार्वजनिक स्थानमा समेत चर्चा पाइरहेको छ । 

संसदमा प्रतिपक्षी दलले प्रश्न गरिरहेका छन् भने कांग्रेसकै कतिपय नेताहरुले पनि यो विषयमा प्रश्न गरिरहेका छन् ।

प्रतिपक्षी दलहरुले सत्तारुढ दलको निर्णयमाथि धावा बोलेपनि सत्तापक्षले वैध निर्णयबाहेक केहि नगर्ने भन्दै जवाफ दिइरहेको छ । 

सत्ता र प्रतिपक्षीबीचका विवाद चलिरहेको बेला कांग्रेस महामन्त्री गगन थापाले भने फरक मत राखेका छन् । संख्याको आधारमा गलत निर्णय गर्न नपाइने भन्दै गगनले उपसभामुख हटाउने निर्णयमा केहि संकेत गर्न खोजेको देखिन्छ ।

यसरी दलीय दाउपेच र तानातान चलिरहेको बेला उपसभामुख प्रकरणमा सत्ता पक्षले नयाँ जुक्ति भने निकालिसकेको देखिन्छ ।

निर्णय पेन्डिङमा

उपसभामुख हटाउन भन्दै खाली पानामा गराइएको हस्ताक्षर थाती राखिएको छ । अहिले उपसभामुख पन्दिरा रानामगर अमेरिका भ्रमणमा रहेकाले पदबाट हटाउदा राम्रो सन्देश नजाने भन्दै दुई दलले निर्णय रोकेर राखेको बताइएको छ । 

उनी काठमाडौं फर्किएपछि हटाउने प्रक्रिया थाल्ने गरि हस्ताक्षर तयार पारिएको छ । तर, कांग्रेस–एमाले सत्ता समीकरणमा दुई तिहाई बहुमत छैन । 

यस्तो स्थितिमा सरकारबाट बाहिरिएको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी र रञ्जिता श्रेष्ठ चौधरीको नागरिक उन्मुक्ति पार्टी सत्तापक्ष बन्ने हतारोमा जुटेका छन् । उनीहरुले पनि सरकारलाई साथ दिदा दुई तिहाई बहुमत पुग्ने स्थिति बनेको छ, भने कांग्रेस सभापति शेरबहादुर देउवाले नै पदाधिकारी र पूर्वपदाधिकरीको बैठकमा दुई तिहाईको चिन्ता नगर्न भनिसकेकाले उपसभामुखको पद धरापमा निश्चित भएको बताइन्छ ।

पदको गरिमा नबुझ्दा समस्या

उपसभामुख इन्दिरा रानामगरले पदीय मर्यादा कायम गर्न नसक्दा संकटमा फसेकी हुन् । यस पहिले अमेरिकी दूतावासलाई लेखेको पत्रकै कारण उनी संकटमा फसेकी हुन् । त्यसमाथि अहिले अमेरिका भ्रमण समेत संसदीय कार्यक्रमका लागि नभई अन्य प्रयोजनको भएकाले उनीमाथि प्रश्न उठेका छन् । 

नेपालमा संसद चलिरहेको बेला गैरसंसदीय कार्यक्रमका लागि लामो समय रातो पासपोर्ट बोकेर विदेश पुग्नुले उनको नैतिकता, पदीय गरिमा लगायतका विषयमा प्रश्न उठेको छ । 

माथिल्लो तहमा रहेका व्यक्तिले कस्तो वैदेशिक भ्रमण गर्ने, त्यो भ्रमणबाट आफ्नो पदलाई कसरी लाभ दिन्छ ? जस्ता तमाम प्रश्नको लेखाजोखा गर्न नसक्दा संकट पर्ने गरेको देखिन्छ । जुन कुरामा उपसभामुख रानामगर पूर्णतः चुकेकी छन् । 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update