
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले पहिलो पटक एमबीबीएस पढाउन पाउने भएको छ । चिकित्सा शिक्षा आयोगले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई यसै शैक्षिक सत्रदेखि एमबीबीएस पढाउनका लागि ५० सिट स्वीकृति प्रदान गरेको छ । यो सँगै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस अध्ययन गराउने प्रक्रिया सुरु गरेको छ ।
स्थापनाको पाँच वर्ष पछि बल्ल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएस पढाउन पाउने भएको छ । प्रतिष्ठानले एमबीबीएस अध्ययन गराउन हाललाई ५० सिटको स्वस्कृति प्राप्त गरेको छ । बागमती प्रदेशकै गौरवको आयोजनाको रुपमा लिइएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको ५ वर्ष पूरा भइसक्दा पनि यस अघि खास उपलब्धि हासिल भएको थिए ।
स्वास्थ्य क्षेत्रमा गरिएको लगानीले हरेक नेपालीलाई सुखी र समृद्ध बनाउँछ भन्ने उदेश्यका साथ तत्कालिन मुख्यमन्त्री डोरमणी पौडेलले यो प्रतिष्ठान स्थापना गरेका थिए । चिकित्सा अध्ययनका लागि आफ्नै प्रदेशमै अवसरका साथै देशभरका विद्यार्थीहरूलाई आकर्षित गर्ने सम्भावना बोकेको भन्दै स्थापना भएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अहिले चिकित्सा शिक्षा अध्ययनका लागि विद्यार्थीहरुको पहिलो गन्तव्य बनेको छ ।
प्रतिष्ठानमा यसअघि बीएससी नर्सिङ ३० सिट, मेडिकल ल्याब टेक्नोलोजी र पब्लिक हेल्थ अन्र्तगत २०÷२० सिट कायम रहेका थिए भने ब्याचलर अफ फार्मेसी कार्यक्रम अन्र्तगत ३० सिटकै संरचनामा निरन्तर सञ्चालन भैरहेको छ । हाल ३ सय भन्दा बढी विद्यार्थीलाई अध्ययन गराइरहेको छ ।
मकवानपुरको मात्रै नभएर देशका विभिन्न जिल्लाबाट चिकित्सा शिक्षा अध्ययन गर्न आउने यस प्रतिष्ठानले यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाउन स्वीकृति पाएको हो । आयोगले स्वीकृती प्रदान गरेसँगैे प्रतिष्ठान प्रदेशकै स्वास्थ्य शिक्षा र अनुसन्धानको स्थानको रूपमा स्थापित हुने बताइएको छ ।
स्नातक तहका यी कार्यक्रमहरूसँगै, प्रतिष्ठानले स्नातकोत्तर तहमा पनि नयाँ उपलब्धि हासिल गरेको छ । यसै शैक्षिक वर्षदेखि एमडी को ७ वटा विषयमा अध्ययन सुरु हुने भएको छ, जसका लागि ८ सिट स्वीकृति प्रदान गरिएको छ । स्त्री तथा प्रसूति विभागमा २ सिट, फिजिसियन, जनरल सर्जरी, बालरोग, हाडजोर्नी तथा नशारोग , फेमिली फिजिसियन र एनेस्थेसियोलोजीमा १÷१ सिट रहेको छ ।
प्रदेश गौरवको रुपमा रहेको यस प्रतिष्ठानले उत्पादन गरेको जनशक्तिले स्वास्थ्य सेवा प्रदान गर्न धरै समय नलाग्ने प्रदेशको स्वास्थ्य मन्त्रालयको दाबी छ ।
स्थानीय तहहरुमा बनेका आधारभूत अस्पतालहरुमा स्वास्थ्य क्षेत्रका जनशक्ति उपलब्ध गराउने उदेश्यले यस प्रतिष्ठानमा एमबीबीएस अध्ययन सुरुवात गर्न लागिएको प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा बताउँछन् ।
हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटै सञ्चालनमा छ । प्रतिष्ठान मातहतबाट सञ्चालनमा आएपछि हेटौंडा अस्पतालमा समेत स्वास्थ्य सुविधाको पहुँचमा बृद्धि भएको छ ।
कुनै समय रिफर अस्पतालको नामले चिनिने हेटौंडा अस्पताल अहिले मकवानपुरको मात्रै होइन, छिकेकी जिल्लाहरुका बिरामीको लागि समेत भरोसाको केन्द्र बनिरहेको छ ।