News 24 Television
अकुपञ्चरमा विश्वास गर्नेहरुको भीड, अस्पतालमा थामिनसक्नु भीड 

काठमाडौं । सरकारी स्तरबाट अपेक्षित प्रवर्धन हुन नसके पनि निजी क्षेत्रबाट नेपालमा अकुपंचर उपचार पद्धति भित्रभित्रै बिस्तार हुँदै गएको छ । आम सर्वसाधारणले पनि अकुपन्चर थेरापीप्रति विश्वास गरिरहेका छन् । वैकल्पिक चिकित्सामा माइग्रेनको उपचारमा सबैभन्दा प्रभावकारी अकुपन्चर र अकुप्रेसर भएको अनुसन्धान पनि पुष्टि गरेको छ । 

अकुपन्चरले धेरै रोगको उपचार गर्न सकिन्छ तर यसमा पनि विशेष गरि माइग्रेन, नसा सम्बन्धी रोग, शरीरको  दुखाइ, एन्जाइटी, डिप्रेसन, लगायतका समस्यामा बढी प्रभावकारी छ । माइग्रेनमा टाउको दुख्ने भएपनि तर सबै टाउको दुखाइ माइग्रेन होइनन् । 

बिज्ञका अनुसार टाउकाको एकापट्टिको भाग दुख्नु, त्यो दुखाइ केही अन्तरालमा आउने, केही समयपछि आफैँ ठीक हुन्छ भने त्यसलाई माइग्रेन भनिन्छ । हाल नेपालमा माइग्रेनको उपचारमा बैकल्पिक चिकित्साको अकुपन्चर प्रति बिरामीको बिश्वास बढ्दै गएको छ । 

अकुपञ्चरमा विशेषज्ञता हासिल गर्ने नेपालको पहिलो चिकित्सक तथा ब्लु लोटस अस्पतालका मेडिकल डाइरेक्टर डा. सुरज कर्मचार्यका अनुसार अकुपन्चर प्रति पहिले मानिसहरुको बिश्वास थिएन । तर अहिले बिरामीको चाप थेग्नै नसकिने गरि बढेको उनी बताउँछन् । 

अकुपन्चर थेरापीबाट माइग्रेनको उपचार गराउँदा ९० प्रतिशत माइग्रेन ठीक हुने देखिएको छ । माइग्रेन किन हुन्छ भन्ने कुरा अहिलेसम्म पत्ता लागको छैन तर मस्तिष्क भित्रको रगतको सप्लाइमा समस्या आएपछि टाउको दुखाइ हुन्छ । माइग्रेन हुँदा टाउकोको एउटा भागमा घोचेजस्तो भएर दुख्छ । आँखा धमिलो हुँदै जान्छ र टाउको दुख्न शुरु हुन्छ । 

हाल नेपालमा माइग्रेनको उपचार बढी हुने अकुपन्चरबाटै हो । अकुपन्चर चिनियाँ परम्परागत चिकित्सा विधि हो । यसले शरीरमा हुने सकारात्मक र नकारात्मक तत्वलाई सन्तुलन गरेर दुखाई निको बनाउने काम गर्छ । यो विधि अपनाउँदा इन्डोरफिन हार्मोन रिलिज हुन्छ, जसले प्राकृतिक पेन किलरको काम गरेको अनुभव बिरामीले गर्छन् । अकुपन्चरबाट उपचार गर्दा अकु बिन्दुहरुमा स–साना मसिना विशेष प्रकारका बिशेषता भएका सियोहरुद्वारा विभिन्न विधि प्रयोग गरी जीवनीय शक्तिलाई सन्तुलन बनाउँछ । 

आकस्मिक उपचारमा आधुनिक उपचारको विकल्प नहोला तर माइग्रेन जस्ता दिर्घ रोगमा अकुपन्चर जस्ता बैकल्पिक चिकित्सा नै सहज, सुलभ र प्रभावकारी हुँदै आएका छन् । त्यसैले पनि यस्ता उपचार प्रणालीहरुको उचित प्रवद्र्धन गर्न आवश्यक छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ०७:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update