
काठमाडौं । आधुनिक उपचार पद्धतिका ठूला–ठूला अस्पतालमा गएर पनि निको नभएका धेरै रोगी अन्ततः आयुर्वेदिक अस्पतालतर्फ आकर्षित हुँदै गएका छन् । पायल्स, ढाड दुखाइ, ग्यास्ट्रिक, दमखोकी जस्ता रोगमा आयुर्वेदिक उपचार खोज्नेहरूको संख्या बढ्दो छ । तर विशेषज्ञहरूको भनाइ छ उपचार पद्धति छान्दा प्रचार वा भ्रमपूर्ण विज्ञापनको भरमा होइन, रोग र अवस्थाअनुसार सही विकल्प रोज्नुपर्छ ।
आयुर्वेद हजारौँ वर्ष पुरानो परम्परागत चिकित्सा पद्धति हो । यो अनुभव, अभ्यास र अवलोकनमा आधारित छ । नेपाल र भारतमा अझै पनि करिब ८० प्रतिशत मानिस आयुर्वेदिक उपचारप्रति विश्वास गर्ने गरेका छन् । तर निरन्तर अनुसन्धान र खोजको कमीले गर्दा यो पद्धति समयसापेक्ष विकासमा पछि पर्दै गइरहेको छ ।
यहि तुलनामा एलोप्याथिक चिकित्सा भने पछिल्ला केही शताब्दीमै तीव्र विकास भएको आधुनिक चिकित्सा प्रणाली हो । अनुसन्धान र प्रमाणमा आधारित भएकाले आकस्मिक अवस्था वा आपत्कालीन उपचार लगायत अधिकांस उपचारमा यसको प्रयोग अनिवार्य गरिएको छ ।
यद्यपि, नसर्ने रोगहरू बढिरहेको अहिलेको अवस्थामा जीवनशैलीसँगै जोडिएको आयुर्वेदिक उपचार धेरै प्रभावकारी भएको चिकित्सकहरूको भनाइ छ । आयुर्वेदिक औषधि र जीवनशैली मिलाएर उपचार गर्दा धेरै रोगहरू निको हुन्छन् । तर भ्रममा परेर वा विज्ञापनको भरमा होइन रजिस्ट्रर आयुर्वेदिक चिकित्सक र स्वास्थ्यकर्मी हो होइन बुझेर मात्र उपचार सेवा लिनु पर्ने चिकित्सकहरु बताउँछन् ।
यद्यपी यी सबै विशेषताहरुका बावजुद पनि आकस्मिक अवस्थामा एलोप्याथिक उपचारको विकल्प छैन । तर जीवनशैलीसँग सम्बन्धित रोगमा आयुर्वेदले दीगो र साइड इफेक्ट कम हुने उपचार दिन्छ । त्यसैले बिरामीले आफ्नो रोगको सही पहिचान गरेर मात्र कुन उपचार विधि रोज्दा दीर्घकालीन लाभ सम्भव हुन्छ, त्यही नै छनोट गर्नु पर्छ ।
यी ५ कारणले आयुर्वेद अरुभन्दा फरक र उपयुक्त छ :
१. आयुर्वेदले केवल रोगका लक्षण मात्र हटाउने होइन, रोगको मूल कारण पत्ता लगाएर त्यसलाई निवारण गर्नेमा जोड दिन्छ ।
२. आयुर्वेदमा जडीबुटी, आहार, जीवनशैली, योग र ध्यान प्रयोग गरिने भएकाले शरीरलाई प्राकृतिक तरिकाले सन्तुलित राख्छ ।
३. अधिकांश आयुर्वेदिक औषधिहरू प्राकृतिक हुने भएकाले आधुनिक औषधिको तुलनामा साइड इफेक्ट न्यून हुन्छ ।
४. आयुर्वेदले शारिरीक तथा मानशिक स्वास्थ्यलाई एकसाथ स्वस्थ राख्छ ।
५.आयुर्वेदिक जीवनशैली र उपचारले रोग प्रतिरोधात्मक शक्ति बढाउने हुँदा भविष्यसम्मै रोगबाट बचाउन सक्छ ।