
काठमाडौं । वार्षिक करोडौँ आम्दानी हुन सक्ने देशकै ठूलो जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले न नाफा कमाउन सकेको छ न उत्पादन बढाउन । उत्पादनका लागि आवश्यक साधन स्रोत, जनशक्ति र बजेट अभाव छ । गत चैत्र १५ गतेको राजावादीको आन्दोलनका क्रममा आगलागी भएर क्षति भएको भौतिक संरचना पुननिर्माणको लागि समेत कम्पनीलाई बजेट आवश्यक रहेको छ ।
विश्व बजारमा नेपालको जडीबुटीजन्य उत्पादनको माग बढ्दै जाँदा समेत देशभरमा दशकौँदेखि स्थापित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीहरू यथास्थितिमै छन् । सरकारी स्वामित्वको उत्पादन कम्पनी समेत अभावमा चलिरहेको छ ।
४ दशकको अन्तरालमा कोरोना संक्रमणको समयमा मात्रै नाफा कमाएको थियो जडीबुटी उत्पादन तथा प्रसोधन लिमिटेडले । अहिले त झन् गत चैतमा राजबादी आन्दोलनले भवन र संरचना नै जलेको कारण फाइदा कमाउने कुरै भएन । त्यो बेला १ महिना कम्पनीको काम नै ठप्प भएको थियो ।
अहिले बिस्तारै बौरिंदै गएको त छ तर अझै पनि उत्पादनहरुको बिक्री बितरण बढेको छैन । सबै सरकारी कार्यलयहरुमा प्रयोग गरिने सेनिटाइजर मात्र भएपनि सरकारी स्वामित्वकै कम्पनीले उत्पादन गरेको प्रयोग गरिदिने हो भने सरकारी कम्पनीलाई राहत हुने थियो । तर निजि कम्पनीकै चपेटामा सरकारी कम्पनी छ ।
आफ्नै देशको जडीबुटी प्रयोग गरेर उत्पादन गरेको हर्ब केयर सामग्रीहरुको बिक्री बितरण नबढेको भन्दै नेपालीहरुले नै नेपालमा बनेको प्रोडक्टलाई बिश्वास गर्न आवश्यक रहेको कम्पनीका निमित्त निर्देशक उषा रिजाल बताउँछिन् ।
कम्पनीको लोकप्रिय उत्पादन सन्चो पनि हिजोआज भारतीय कम्पनीको चपेटामा छ । संन्चोको बिक्री पहिले जस्तो नहुँदा संन्चो आफै बिसन्चो अवस्थामा छ । जडिबुटी उत्पादन तथा प्रशोधन लिमिटेडबाट उत्पादन भएका हर्बल तथा हेल्थ केयर प्रोडक्टहरु नेपालकै जडिबुटीबाट बनेका, ल्याब टेस्टेड र गुणस्तरीय मापदण्ड पुरागरी उत्पादन भएका छन् ।
त्यस कारण यी उत्पादनको गुणस्तरमा कुनै प्रश्न छैन । त्यसो त जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीले उत्पादन गरेको हर्बल सामाग्रीहरु बिदेश निर्यात पनि हुँदै आएको छ । विभिन्न सुगन्धित तेल, लेमनग्रास, सिट्रोनेला, पामारोजा, मेन्था, क्यामोमाईल, फ्रेन्चवेशील मेन्था पिपरेटा, संन्चो, जटाकेस तेल जस्ता उत्पादनहरु युरोपियन मुलुकहरुसम्म पुगेको छ । विश्व बजारमा जडिबुटीजन्य तेल तथा वस्तुको माग अत्यधिक छ । कम्पनीलाई सुगन्धित तेल तथा जडिबुटीजन्य सामग्रीको उत्पादनमा दक्षिण एसियाकै प्रमुखको रूपमा स्थापित गर्न सकिन सम्भावनाहरु पनि नभएको होइन ।
नेपालमा दुई हजार प्रकारका औषधिजन्य तथा सुगन्धित वनस्पति पाइन्छन् । वनस्पति विभागले हालसम्म ८१९ प्रकारका वनस्पति प्रमाणित गरेको छ । हाल ३०० वनस्पति व्यापारिक रूपमा प्रयोग भइरहेको छ । यसमध्ये जडीबुटी कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको छ । तर अझै पनि आवश्यक अनुरुप जडिबुटी उत्पादन भैरहेको छैन ।
देशका विभिन्न स्थानमा जडिबुटी खेती संकलन तथा उत्पादन प्रशोधन र बजारीकरणको काम गर्ने र त्यसैबाट कमाइ भएको रकमले कर्मचारीलाई तलब खुवाउने गरिएपनि तर अहिले कर्मचारीलाई तलब समेत खुवाउन सकेको छैन । सरकारले देशको गौरब बोकेका यस्ता केन्द्रमा लगानी गरि बिस्तार गर्न आवश्यक छ ।