
काठमाडौं । प्रधानमन्त्री केपी ओली यतिबेला चीन भ्रमणमा रहेका छन् । सांघाई सहयोग संगठन (एससिओ) शिखर सम्मलेनका लागि चीनमा रहेका प्रधानमन्त्री केपी ओलीले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता समेत गरिसकेका छन् ।
चिनियाँ राष्ट्रपतिसँगको भेटलाई कूटनीतिक मुभका रुपमा हेरिएको छ । यद्दपि, ओलीको चीन भ्रमण र शिखर सम्मेलनका विषयदेखि सैन्य परेडको सहभागीताका विषयमा अनेक शंका र प्रश्न उठाएको छ ।
प्रधानमन्त्री केपी ओली हाल चीनको भ्रमणमा रहेका छन् । उनी शनिबारदेखि चीनमा भेटघाट कार्यक्रममा व्यस्त देखिन्छन् । चीन पुगेकै दिन प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसंग दुई पक्षीय भेटवार्ता गरिसकेका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ५ दिनको भ्रमणमा चीन पुगेका ओलीले सीसँग गरेको वार्तालाई कूटनीतिक महत्वका हिसाबले महत्वपूर्ण मानिएको छ । चीन पुगेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग थियानजिन अतिथिगृहमा सीसंग भेटवार्ता गरेका हुन् ।
शनिबारको भेटपछि ओलीले गत वर्षको भेट भएको स्मरण समेत गरेका छन् । गत वर्षको पल सम्झदै ओलीले भनेका छन् ‘राष्ट्रपति सीलाई लगातार दोस्रो वर्ष भेट्न पाएकोमा र फलदायी द्विपक्षीय वार्ता गर्न पाएकोमा खुसी छु ।
विभिन्न विषयहरूमा भएको प्रगतिबारे समीक्षा ग¥यौं र द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने सहमति जनायौं ।’ साथै, सीमा विवादको विषयमा पनि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसंग असन्तुष्टी पोखेको बताइएको छ । ओलीले सीसंग सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालका भएको स्पष्ट रहेको र यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ विश्वास रहेको बताएको परराष्ट्र सचिव अमृतबहादुर राईले जनाएका छन् ।
ओलीले सीसंग गरेको भेट र उनको चीनमा हुने कार्यतालिकाको चर्चा चलिरहेको बेला नेपालको प्रतिनिधित्व, अन्तराष्ट्रिय मञ्चमा आफ्ना विषय राख्नेदेखि नेपालको स्वार्थलाई केन्द्रमा राखेर पेश हुने विषय प्राथमिकतामा रहने बताइन्छ । तर, केहि विषयले भने नेपालको सहभागीतामा विवाद सिर्जना गरिदिएको छ ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम रहेको बताइएको छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंगको साइड लाइन भेटवार्ता होला ? यो विषय भने चासोमा छ ।
को सँग भेट्नेछन् ओलीले ?
प्रधानमन्त्री ओलीले चीन भ्रमणको बेला चिनियाँ राष्ट्रपति सी जिनपिङसंग भेटिसकेका छन भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि भेट्ने पक्का भएको छ । यस्तै ओलीले भियतनाम, लाओस, माल्दिब्सलगायत विभिन्न देशका राष्ट्र तथा सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ ।
जसमा प्रधानमन्त्रीले संसद्लाई दिएको जानकारी अनुसार रुसी महासङ्घका राष्ट्रपति भ्लादिमिर पुटिन, माल्दिभ्सका राष्ट्रपति डा. मोहमद मिज्जु, कम्बोडियाका प्रधानमन्त्री डा. सोमदेक मोहा बोरभोर तिपाहदे हुन महानेटसँग द्विपक्षीय भेटको कार्यक्रम छ ।
लाओसका प्रधानमन्त्री सोनेसाई सिपानडोन तथा भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेटवार्ता तय भइसकेको बताइएको छ, भने उत्तर कोरियाका राष्ट्रपति किम जोङ अन पनि यो कार्यक्रममा सहभागी हुनेछन् । तर, ओलीले उनलाई भेट्ने नभेट्ने वियषमा भने कुनै विषय खुलाइएको छैन् ।
भिक्ट्री परेड र विवाद
प्रधानमन्त्री केपी ओलीले चीनले आगामी सेप्टेम्बर ३ मा बेइजिङको तियानमेनस्क्वायरमा आयोजना हुने सैन्य परेडमा समेत सहभागीता जनाउनेछन् । चीनले जापानविरुद्ध युद्ध जितेको ८० औं वर्षगाठ भव्यताका साथ मनाउदैछ ।
जापानी साम्राज्यवादको अन्त्य भएको दिनको स्मरणमा चीनले यसलाई विशेष कार्यक्रमको रुपमा मनाउने गर्छ । जसमा ओलीले चिजनियाँ राष्ट्रपति सी जिनपिङको मैत्रीपूर्ण निमन्त्रणा स्वीकार गर्दै जापानविरुद्ध चीनको विजय भएको दिनमा आयोजित यो विशेष समारोहमा नेपालबाट दोस्रो पटक प्रधानमन्त्री स्तरको सहभागिता जनाउदैछन् ।
७० वर्षअघि तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यले माओको निमन्त्रणामा यो परेडमा सहभागिता जनाएका थिए । यद्यपी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी नहुने ठानिएको यो परेडमा नेपालको सहभागीतालाई लिएर अनेक प्रश्न र विवाद उब्जिएका छन् ।
जापान नेपालको ठूलो सहयोगी मुलुक समेत भएकाले नेपालले यस्ता कुरामा ध्यान दिनुपर्ने आवाज परराष्ट्र मामलाका जानकारहरुले बताइरहेका छन् । तर, नेपालको सहभागीताको प्रभाव र भूराजनीतिक प्रभावमा प्रधानमन्त्री ओलीले लिने रणनीति कस्तो हुन्छ भन्ने विषयले पनि यसमा अर्थ राख्नेछ । यो परेडमा नेपालसहित २६ बढि देशका प्रमुखहरु सहभागी हुने चीनले जनाएको छ ।
भारत र नेपाल विवादको प्रसंग
भारत चीनले केहिदिन पहिले मात्रै नेपाली भूबाग कालापानी क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि उपयोग गर्ने सम्झौता गरेका छन् । यो विषयमा नेपालमा ठूलो विरोध चलिरहेको छ भने चीनले समेत नेपाललाई नसोधि भारतसँग सम्झौता गरेको विषयमा प्रश्न उठिरहेको छ । यस्तोमा ओलीले चिनियाँ राष्ट्रपति सीसंग नेपाल–भारत सीमा विवादको विषयमा कुरा उठाएको भन्ने जानकारी परराष्ट्रसचिवले दिएको बताइएको छ । उसोतः यतिबेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने जापान भ्रमणमा छन् ।
जापानमा रेल चढेर कुटनीतिक भ्रमण गरिरहेका मोदीले चीनमा आफ्नो सहभागीता र सैन्य परेडमा जापानले सोच्न सक्ने विषयलाई केन्द्रमा राख्दै आपसी सहयोगदेखि अन्य विषयमा समेत कुरा राखेका छन् । उसोतः मोदी जापानबाटै चीन पुग्नेछन् । जापानबाटै चीन पुग्ने मोदीले सम्मेलनको क्रममा नेपालका प्रधानमन्त्री ओलीसंग भेट होला ? भेटमा लिपुलेक विवादको विषयमा कुरा उठ्ला ? यस्ता विषयमा नेपाली जनताले नजिकबाट हेरिरहेका छन् ।