नेपाली दर्शकलाई लागुपदार्थको लत र मानसिक स्वास्थ्यसम्बन्धी चुनौतीबारे सन्देश दिने हिन्दी फिल्म मिलियन भ्यूज आगामी १२ सेप्टेम्बर २०२५ मा नेपालमा रिलिज हुने भएको छ । आउटपुट मिडियाको प्रस्तुति रहेको यो फिल्मलाई भारतीय फिल्ममेकर अंशुल सिन्हाले निर्देशन गरेका हुन् । सिन्हाले नेपालका युवामाझ बढ्दो लागुऔषध दुरुपयोग, मानसिक स्वास्थ्य समस्या र डिजिटल स्क्रिनको लतजस्ता नयाँ चुनौतीहरूलाई फिल्ममार्फत प्रस्तुत गरेका छन् ।
नेपालको लागुऔषध नियन्त्रण विभागका तथ्यांकअनुसार १ लाख ३० हजारभन्दा बढी मानिस लागुऔषध प्रयोगकर्ता छन् । तीमध्ये करिब एक तिहाइ ३० वर्षभन्दा तलका युवाहरु हुन् । विश्व स्वास्थ्य संगठनका प्रतिवेदनले पनि मानसिक स्वास्थ्यसम्बन्धी समस्या धेरै भए सामाजिक संरचनाका कारण समयमै उपचार हुन नसकेको उल्लेख गरेको छ ।
फिल्ममा विभिन्न प्रकारको लतमा फसेका १८ जनाको कथा देखाइएको छ । जसमा उनीहरूको रिकभरी यात्रा र सहानुभूतिमूलक दृष्टिकोणलाई मुख्य पात्रमार्फत प्रस्तुत गरिएको छ ।
नेपालमा पनि यो कुलतले युवादेखि परिवार र युवाशक्ति सबैलाई असर गरिरहेको निर्देशक अंशुल सिन्हाले बताए । मिलियन भ्यूज केवल फिल्म मात्र नभएर संवाद, करुणा र सामूहिक उपचारको आह्वान पनि भएको निर्देशक सिन्हाको भनाइ छ ।
फिल्मको नेपाल प्रिमियरले परिवार, स्वास्थ्य विशेषज्ञ, शिक्षक तथा सरोकारवाला निकायबीच संवाद बढाउने र नयाँ पुस्तालाई स्वस्थ जीवनशैली रोज्न प्रेरित गर्ने लक्ष्य लिएको उनले विश्वास व्यक्त गरे ।
Teaser Link Below :