
काठमाडौं । देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख बनेको २ वर्ष भयो । तर, अहिले पनि उनीमा आफ्नो पूर्वपार्टी नेकपा एमाले कै धङ्धङगी हट्नै नसकेको भन्दै पुनः विरोधका आवाज बढीरहेका छन् ।
प्रतिपक्षी सांसदहरुमाथि विभेद गर्ने प्रवृति सभामुखमा हावी भएको भनि आलोचना बढ्न थालेका हुन् । के प्रतिपक्षी दलहरुले भने जस्तै सभामुख देवराज घिमिरे विभेदकारी भएकै हुन् त ? तथ्यगत अवस्थाले यसलाई पुष्टि गर्छ त ? संसदीय शासन प्रणालीमा सभामुखको खास भूमिका कस्तो हुनुपर्ने हो ? राज्य सञ्चालनमा व्यवस्थापिका जस्तो उच्च खम्बाको मुल नेतृत्वकर्ताको महत्व कतिसम्म र कस्तो हुन्छ ? अनि नेपालमा के देखिएको छ अवस्था ?
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिका माथि प्राय प्रश्न उठिनै रहेका हुन्छन् । प्रतिनिधिसभाको बुधबार बसेको बैठकका क्रममा उनले प्रतिपक्षी दलकी सांसदको माइक काटेको विषयलाई लिएर अहिले पुनः सभामुख घिमिरेको भूमिकामाथि विभेदकारी भन्दै आलोचना चुलिएको छ ।
प्रतिपक्षी सांसदले सभामुख घिमिरेलाई अझै पनि आफ्नो पूर्वपार्टी नेकपा एमालेको ह्याङओभर रहेकाले उनले एमालेका र सत्तापक्षका सांसदलाई प्रेम दर्शाउने तर प्रतिपक्षी सांसदले केहि बोल्न खोज्दा वा सरकारका काममाथि प्रश्न गर्न खोज्दा विभेदकारी व्यवहार देखाउदै रोक्न खोज्ने गरेका आरोप सतहमा नै छ ।
हुनत, सभामुख घिमिरे मात्रै होइन यस पहिलेका सभामुखहरुले पनि आफ्नो पूर्वपार्टीलाई विशेष संरक्षणयुक्त व्यवहार देखाउने गरेका आरोप छदैछन् । यद्दपि, सभामुख देवराज घिमिरेका सन्दर्भ प्राय बारम्बार यस्ता प्रश्न उठिरहेका छन् ।
सभामुख घिमिरेले संसदमा प्रतिपक्षी सांसदमाथि कहिले कस्तो–कस्तो व्यवहार देखाए त त्यसको फेहरिस्त प्रस्तुत गर्नुपहिले संसदीय व्यवस्थामा सभामुखको भूमिका कति महत्वपूर्ण हुन्छ ? कस्तो हुनुपर्छ ? के हुन् संसदीय मूल्यमान्यता ? राज्य सञ्चालनमा उच्चत्तम सन्तुलनता राख्नु पर्ने सभामुखले आफुलाई कसरी परिमार्जित गर्नु पर्ने हुन्छ ? यसबारे चर्चा गरौं ।
संसदीय शासन व्यवस्थामा सभामुखको मुख्य भूमिका
- संसदको अध्यक्षता गर्ने : संसद बैठकहरू सञ्चालन गर्ने, छलफल, बहस, मतदान आदिको प्रक्रिया व्यवस्थापन गर्ने
- संसदीय नियमको पालना गराउने : संसदमा कार्यविधि, नियमावली र परम्पराको पालना गराउन सभामुख जिम्मेवार हुनुपर्छ ।
- सांसदहरूको अधिकारको संरक्षण गर्ने : सत्ता पक्ष होस् या प्रतिपक्ष, सबै सांसदलाई समान बोल्ने अवसर दिने मुल जिम्मेवारी सभामुखको हो ।
- कार्यसूची तय गर्नेमा भूमिका : संसदमा कुन विधेयक कहिले पेस गर्ने ? कुन मुद्दा प्राथमिकतामा राख्ने भनेर कार्यसूची निर्माणमा सभामुखको भूमिका प्रष्ट र निष्पक्ष हुनुपर्छ ।
- विधायिका र कार्यपालिका बीचको सन्तुलन कायम गर्ने : सरकार (कार्यपालिका) र संसद (विधायिका) बीच तालमेल कायम राख्न सभामुखले निर्णायक भूमिका खेल्नुपर्छ ।
सभामुख र निष्पक्षताको सवाल
सभामुखमा हुनैपर्ने सबैभन्दा महत्वपूर्ण गुण हो– निष्पक्षता ।
- सभामुख जहिलेपनि आफु पहिले सदस्य रहेको पार्टीभन्दा माथि उठ्नु पर्छ । सभामुखले आफ्नो पार्टीको स्वार्थभन्दा माथि उठेर निर्णय लिनु पर्छ । एकपटक सभामुख बनेपछि उ सबैको प्रतिनिधि बन्न सक्नुपर्छ ।
- समय बाँडफाँटमा निष्पक्षता ः सांसदहरूलाई बोल्ने, प्रस्ताव राख्ने अवसर दिनुपर्दा सबैलाई बराबरी व्यवहार गर्नु पर्छ ।
- विवादमा मध्यस्थकर्ताको भूमिका ः सत्ता पक्ष र प्रतिपक्षबीचको विवाद समाधान गर्दा सभामुख पार्टी एजेन्ट होइन, एक न्यायपूर्ण मध्यस्थकर्ता हुनुपर्छ ।
सभामुखको भूमिका : सत्तासँगको सन्तुलनता कसरी मिलाउनु पर्ने हो ?
- कार्यसूचीमा सन्तुलन : सरकारका विधेयक मात्रै होइन, प्रतिपक्षका प्रश्न, प्रस्ताव, ध्यानाकर्षणहरूलाई पनि समान महत्व दिनु पर्छ ।
- भाषण र बहसको समय बाँडफाँटमा निष्पक्षता : सबै दललाई आफ्नो मत राख्न उचित समय दिनु— बहसमा एकपक्षीय समय बाँडफाँटले संसदको विश्वास गुम्छ ।
- संविधान र नियमावलीको पालना गराउँदै सन्तुलन राख्ने : कुनै निर्णय गर्दा दलगत चासोभन्दा बढी संविधान, कानून र संसदीय परम्परालाई आधार बनाउनुपर्छ ।
- दबाब र प्रभावमा नपर्ने : सत्ता पक्षको दबाब, पार्टी नेतृत्वको दबाब वा व्यक्तिगत हितले निर्णय प्रभावित हुनु हुँदैन ।
सभामुख संसदको मूल्य, मर्यादा र निष्पक्षताको मूर्तरूप हुन् । संसदीय लोकतन्त्र बलियो बनाउन सभामुखले सबै राजनीतिक शक्तिसँग समन्वय गर्दै निष्पक्ष, जिम्मेवार र संवैधानिक आचरण गर्नुपर्छ । यदि सभामुख दलगत स्वार्थमा अल्झिए भने, त्यसले संसदीय प्रक्रियामा गम्भीर क्षति पुग्छ र लोकतान्त्रिक संस्थाहरू कमजोर हुन्छन् ।
अब सवाल आउछ के प्रतिनिधिसभाका सभामुखको भूमिका निष्पक्ष छ त ?
परिदृष्य र प्रतिपक्षीका आरोप
- सभामुख देवराज घिमिरेले सदनमा प्रतिपक्षी आवाज थुन्ने प्रयास जारी राखे
- अभिव्यक्ति स्वतन्त्रता र प्रतिपक्षी आवाज सुन्ने संसदीय संस्कृति कमजोर पारिरहेका छन् ।
- सभामुख सरकारको कठपुतली बने
- प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिको खण्डन गर्न खोज्दा माओवादी सांसद छिरिङ ल्हामु लामा (तामाङ) को माइक काटिदिए
- गएको साउन ३१ गते को बैठकमा माओवादी केन्द्रका सांसद अमनलाल मोदीलाई आकस्मिक समयमा सरकारको आलोचना गर्दा रोके
- उत्तराखण्ड बाढीमा नेपाली नागरिक परेको भन्दै सरकारसँग जवाफ मागेका मोदीले बाँकी रहेको आफ्नो समयमा सरकारको आलोचना गर्दा सभामुखले आकस्मिक समयमा आकस्मिकमै रहेर बोल्नुस् भनि रोके
- गएको वैशाख ३१ गतेको बैठकमा नेमकिपाका प्रेम सुवाललाई पनि रोक्न खोजियो ।
- भूमिसम्बन्धी विधेयकमा विरोधको सूचना प्रस्तुत गरिरहँदा सभामुख घिमिरेले रोकेपछि सुवालले सभामुखलाई सरकारको प्रवक्ता नबन्न चेतावनी दिनुप¥यो ।
- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले पनि पटक–पटक सभामुखको तटस्थ र सबैको साझापनमाथि प्रश्न उठाएका छन् ।
- गएको असार ३० गतेको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले चेतावनी नै दिए । संसद्का दुई महत्वपूर्ण दलले लामो समयदेखि विरोध जनाइराख्दा जबर्जस्त संसद चलाउने प्रयास भइराखेको प्रति सभामुखमाथि लिङ्देनले आक्रोश पोखेका थिए ।
- राप्रपा प्रमुख सचेतक ज्ञानबहादुर शाहीले नीति, नियम र नियमावलीविपरीत गएर सभामुखले दादागिरी शैलीमा सदन चलाएको टिप्पणी गरे ।
- गएको फागुन ११ गतेको बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले भारतको ओडिसामा नेपाली छात्राको मृत्यु प्रकरण र न्याय माग्दा नेपाली विद्यार्थीमाथि भएको अमानवीय व्यवहारका सन्दर्भमा बोल्न खोज्दा सभामुख घिमिरेले समय दिएनन् । श्रेष्ठले आफुले बोल्ने विषयवस्तुबारे अग्रिम जानकारी गराउँदै समय मागेपनि उनले समय दिएनन् ।
- गएको माग माघ २८ गतेको बैठकमा रास्वपाकी सोविता गौतम, राप्रपाका ध्रुव प्रधान र नेमकिपाका प्रेम सुवाललाई पनि बोल्न समय दिएनन् ।
- सरकारले ल्याएको चालू आर्थिक वर्षको बजेटमाथिको छलफल संसद्को चौथो र पाँचौँ दलको विरोधबिच चलाएको भन्दै सत्तापक्षकै सांसदहरूले पनि सभामुखको कार्यशैलीमाथि आपत्ति जनाउनु पर्ने अवस्था देखियो ।
सत्तापक्ष र एमालेप्रति विशेष उदारता !
सभामुख घिमिरेले सत्तापक्षका त्यसमा पनि एमालेका सांसदहरूप्रति विशेष उदारता देखाइरहेको आरोप सतहमै छन् ।
आरोप पुष्टिका आधार,
- सत्तापक्षले जुनसुकै विषयमा बोल्दा पनि सभामुखले समय दिने
- भिजिट भिसामार्फत मानव तस्करीमा दिनहुँ अवरोध गरिरहेको रास्वपाको आलोचना गर्नसमेत सभामुखले सत्तापक्षका सांसदलाई आकस्मिक समय प्रदान
- रास्वपाको आलोचना गर्दा सत्तारूढ दलका मुख्य सचेतक र सचेतकले असंसदीय शब्दसमेत प्रयोग गरेको प्रति रास्वपाले प्रश्न उठाएपनि सभामुख चुपचाप
- असार १ गतेको बैठकमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले आकस्मिक समयमा रवि लामिछानेलाई सभापति पदमा राखिरहने रास्वपाले नैतिकता सिकाउन नमिल्ने जिकिर गरेका थिए । साथै, सत्तापक्षकै सांसद नागिना यादवले निरूपण भइसकेको नागरिकता र पासपोर्ट प्रकरणसमेत उप्काएर काण्डैकाण्डले गन्हाएको नेतृत्वमा बस्ने सांसदहरूले नैतिकता सिकाउने भनेर असंसदीय शब्द प्रयोग गरेकी थिइन् । तर, यि अपशब्दलाई सभामुखले सामान्यिकरण गरे ।
यसरी हेर्दा सभामुख देवराज घिमिरेको भूमिकाले सरकार सत्तापक्षको, सदन प्रतिपक्षीको भन्ने संंसदीय मान्यतालाई गिज्याईरहेको देखिन्छ भन्ने आलोचनाहरु संसदीय मामलाका जानकारहरुले गरिरहेका छन् ।