काठमाडौं । भदौ २३ को गोलीकाण्ड, बीबीसीले सार्वजनिक गरेको वृत्तचित्र, १९ युवाको मृत्यु र त्यसको राजनीतिक छायाँ । यी सबैको केन्द्रमा छन् नेकपा एमालेका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी ओली ।
हजारौं निहत्था प्रदर्शनकारीमाथि घातक हतियार प्रयोग गर्न आदेश दिइएको दाबीबीच, प्रधानमन्त्री पद गुमाएको केही महिनापछि अहिले उनी आफ्नै गृहनगर झापा–५ मा ‘डु एण्ड डाइ’ को स्थितिमा छन् । उनका लागि यो केबल चुनावी प्रतिष्पर्धा मात्रै होइन, उनको राजनीतिक भविष्य, नैतिक जिम्मेवारी र सार्वजनिक छविको निर्णायक परीष्क्षा पनि बनेको छ ।
भदौ २३, राजधानीको सडकमा उर्लिएको जनसागर ।
भ्रष्टाचार, व्यथिति र विसंगतिका विरुद्धमा चर्किएको जेन्जी आक्रोश ।
त्यही दिन प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भयो । मारिनेहरुमध्ये अधिकांश विद्यालय पोसाकमै प्रदर्शनमा गएका विद्यार्थीहरु थिए । भर्खरै अन्तर्राष्ट्रिय सञ्चारमाध्य बीबीसीले सार्वजनिक गरेको वृत्तचित्रका अनुसार मृतक अधिकांशको टाउको र छातिमा गोली प्रहार भएको थियो । बीबीसीको यो अनुसन्धानले प्रहरीको आन्तरिक कागजात उद्धृत गर्दै ‘पिटर १’ कल साइनबाट घातक बल प्रयोगको आदेश दिइएको उल्लेख ग¥यो ।
स्रोतका अनुसार त्यो कल साइन तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले प्रयोग गर्ने गरेका थिए । हुनत, खापुङले त्यो बिषयलाई नकारेका पनि छैनन् । बरु कानुनअनुसार र सुरक्षा समितिको स्वीकृतिपछि मात्रै आफूले बल प्रयोग गर्ने आदेश दिएको बताउँदै आएका छन् ।
घटनाको भोलिपल्टै भदौ २४ गते सरकार ढल्यो, तत्कालिन प्रधानमन्त्री केपी ओलीले पद गुमाए । तर, आन्दोलनको प्रतिध्वनि अझै थामिएको छैन । त्यो घटनाको राजनीतिक र नैतिक जिम्मेवारीको प्रश्नले ओलीलाई अहिलेसम्म पनि तर्साइ रहेको छ ।
झापा–५ : निर्णायक रणभूमि
जेन्जी आन्दोलनको पृष्ठभूमिमा फागुन २१ को निर्वाचन घोषणा भयो । देश निर्वाचनको सम्मुखमा आइपुगेको छ । सबै उम्मेदवारहरु अ–आफ्नो निर्वाचन क्षेत्रमा मतदाता फकाउन व्यस्त छन् ।
यसअघिका निर्वाचनमा आफ्नो क्षेत्रमा छोटो उपस्थिति जनाउने ओली यसपटक भने झापा–५ मै थुनिएका छन् । यसले पनि २०४८ सालदेखि अधिकांश निर्वाचन सहजै जित्दै आएका ओली यसपटक भने असाधारण दबाबमा रहेको प्रष्ट बुझ्न सकिन्छ । कारण राष्ट्रिय स्वतन्त्र पार्टीका बरिष्ठ नेता बालेन्द्र शाह । रास्वपाले उनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । ओलीसँग बालेनको प्रतिष्पर्धाले भापा मात्रै होइन सिंगो कोशी प्रदेशमा नै एमालेलाई चुनौती थपिएको छ ।
ओलीका सबल पक्ष
१. दृढ अडानको नेता
जेन्जी आन्दोलनलाई षड्यन्त्र पूर्ण भएको दाबी गर्दै आएका ओली आफ्नो अडानबाट टसमस भएका छैनन् । चौतर्फि दबाबका बाबजुत पनि उनको यो अडानले कार्यकर्ता पंक्तिमा सकारात्मक उर्जा थप्नेछ ।
२. राष्ट्रवादी छवि
२०७२ को भारतीय नाकाबन्दीको समयमा उनले लिएको अडानले उनलाई राष्ट्रवादी नेताको उचाइ दियो । भारतको कडा विरोध, चीनसँग पारवहन सम्झौता, नयाँ नक्सा—यी सबैले उनको ब्रान्ड निर्माण गरेको थियो ।
३. ठूलो सपना देख्ने नेताको परिचय
४ पटक प्रधानमन्त्री बन्दा उनले के कस्ता काम गरे त्यो जनताले मूल्यांकन गर्ने कुरा हो । तर, पूर्वाधार विकासका क्षेत्रमा उनले देखाएको अग्रसरताले उनलाई सकारात्मक नतिना दिएको छ ।
४. अनुभवी नेता
पञ्चायतकालमा १४ वर्ष जेल जीवन, बहुदलीय व्यवस्थापछि परराष्ट्र र गृह मन्त्रालयको जिम्मेवारी, ४ पटक प्रधानमन्त्री, उनको अनुभव र आत्मविश्वास नै सबैभन्दा ठूलो हतियार हो ।
संकटका बिन्दुहरू
१. जेन्जी युवाहरुको हत्या गरेको ट्याग
भदौ २३ र २४ गतेको विभत्स हत्याकाण्डको प्रश्न, बीबीसीको अनुसन्धानात्मक बृत्तचित्रमा पनि तत्कालिन सरकार र प्रहरी प्रमुखलाई नै मुख्य जिम्मेवार देखाइएको छ । छानबिन आयोगको प्रतिवेदन सार्वजनिक भएको छैन । युवापुस्तामा आक्रोश व्याप्त छ ।
२. आफ्नै नेतालाई डर
एकताका एमालेका प्रत्येक पोस्टरमा ओलीको तस्बिर अनिवार्य जस्तै थियो । २०७४ र ७९ को निर्वाचनमा पनि ओलीकै अनुहार चुनावी अभियानको केन्द्र थियो । तर यो एमालेका ब्यानर, पेस्टर र प्रचार सामग्रीमा ओलीको फोटो हत्तपत्त देखिँदैन । कतिपय एमाले उम्मेदवारहरुलाई त ओलीको नाम र तस्बिरले मत घटाउन सक्छ भन्ने डर छ ।
३. पार्टीभित्रको असन्तोष
२०७४ मा दुई तिहाई बहुमतसहित बनेको नेकपा फुट्नु, पार्टीका बरिष्ठ नेताहरुले पार्टी छाड्नु, योग्य र सक्षम व्यक्तिले टिकट नपाउनु जस्ता घटनाले पार्टीभित्रै पनि उनको नेतृत्वशैलीमाथि प्रश्न उठ्ने गरेको छ । यद्यपी, त्यो बाहिर खासै देखिँदैन तर, आन्तरिक रुपमा असन्तोष व्याप्त छ ।
४. रास्वपा र बालेन फ्याक्टर
युवापुस्ताको प्रतीक मानिएका बालेन शाहको उपस्थिति ओलीका लागि सबैभन्दा ठूलो चुनौती बनेको छ । त्यसैले पनि उनि सकभर आफ्नो निर्वाचन क्षेत्र छाडेर अन्त हिडेका छैनन् ।
५. राजनीतिक अर्थ
यतिसबै भइसक्दा पनि ओली अझै सुध्रिने बाटोमा छैनन् । बरु उल्टै अर्को एकपटक प्रधानमन्त्री बन्ने दौडमा छन् । अब प्रश्न एउटै छ के अनुभवले असन्तुष्ट मतदाताको आवाज थुन्न सक्छ ?
झापा–५ मा घरदैलो गर्दै गरेका ओलीका लागि यो चुनाव केवल जित र हारको खेल मात्रै होइन । राजनीतिक जीवनमा डुब्न लागेको घाम जस्तै बनेका ओलीका लागि आफ्नो छवि, जिम्मेवारी र एमालेको भविष्यको जनमत संग्रह जस्तै बनेको छ । अब हेर्न बाँकी छ इतिहास दोहोरिन्छ कि फेरिन्छ ?
