News 24 Television
पुराना दललाई संविधान जोगाउने चिन्ता

काठमाडौं । जेनजी प्रदर्शनपछि गुमनाम रहेका पुराना राजनीतिक दलहरुले आफ्नो राजनीतिक सक्रियता बढाउन थालेका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र तथा अन्य साना राजनीतिक दलहरुले पनि पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण गर्दै अग्रगामी बाटोतर्फ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । 

भदौ २३ गतेको जेनजीले आयोजना गरेको प्रदर्शनका क्रममा भएको प्रहरीको बर्बर दमन र उक्त घटनापछि दोस्रो दिनको प्रदर्शनमा भएको राज्यका तीन वटै निकायमाथि भएको आगजनी र तोडफोडको घटनापछि गुमनाम रहेका प्रमुख राजनीतिक दलहरुले आफ्नो उपस्थिति बढाउन थालेका छन् । जेनजी प्रदर्शनपछि अशान्त बनेको मुलुकको अवस्था नेपाली सेनाले सम्हालेपछि राजनीतिक दलहरुले विज्ञप्तिबाजी गर्नुका साथै युवा विद्यार्थीहरुलाई सडकमा उतारेका छन् । 

जेनजीको माग अनुसार नयाँ सरकार गठन र आगामी प्रक्रियाबारेमा छलफल शुरु हुँदै गर्दा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र तथा अन्य राजनीतिक घटकहरुले मुलुकले प्राप्त गरेको उपलब्धीको रक्षा र युवाको भावनालाई समेट्ने गरी अग्रगामी दिशामा अघि बढ्ने प्रतिवद्धता जनाएका छन् । 

एमालेले ग¥यो संविधानसम्मत रुपमा राजनीतिक निकासको खोजी

नेकपा एमालेले संविधानसम्मत रुपमा लोकतान्त्रिक विधिबाट नै राजनीतिक निकासको खोजी गर्नुपर्ने बताएको छ । एमाले महासचिव शंकर पोखरेलले विहीबार विज्ञप्ती जारी गर्दै संविधानका मर्म अनुरूप सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् । सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई संवोधन गरिनुपर्नेमा एमालेको जोड छ । 

आजको विषम् परिस्थितिमा संघीय संसद, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरूले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेल्न एमालेले आग्रह गरेको छ । साथै एमालेले स्थिति सामान्य भएपछि पार्टीको बैठक बसेर पार्टीको भूमिको आत्मसमीक्षासहित समग्र स्थितिको समीक्षा गर्ने जनाएको छ । 

राष्ट्र, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको रक्षाका लागि पार्टी दृढतापूर्वक उभिने पनि एमाले महासचिव पोखरेलले जनाएका छन् । तीन वटै संवैधानिक निकाय तथा मिडिया हाउसदेखि निजी सम्मपति सखाप पार्ने कार्यले मुलुकलाई दशकौं पछाडि धकेल्ने घटनाक्रमप्रति सिंगो राष्ट्र नै स्तब्ध भएको भन्दै एमालेले नागरिकको जिउधन र सार्वजनिक तथा निजी सम्पतिको संरक्षण गर्न नेपाली सेनालगायत सुरक्षा निकायको ध्यानाकर्षण गराएको छ । 

माओवादीद्वारा उच्चस्तरीय न्यायिक छानबिनको माग 

नेकपा माओवादी केन्द्रले जेनजी आन्दोलनमा भएको बर्बर दमन तथा लुटपाट र आगजनीको घटनाहरुको उच्चस्तरीय न्यायिक छानबिन गर्न माग गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले, विहीबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल प्रतिवन्ध तथा भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताले सुरु गरेको आन्दोलन सही रहेको तर त्यसमाथी सरकारले पहिलो दिनमै बर्बर दमन र नरसम्हार मच्चाएको आरोप लगाएका छन् ।  

तुलनात्मक रुपमा नेपालको संविधान उत्कृष्ट रहेको भन्दै अहिलेको संक्रमणकालिन अवस्थाको निकास समेत संविधानसम्मत तरिकाले हुनुपर्नेमा माओवादीले जोड दिएको छ । संविधान र व्यवस्थापिका संसदको शून्यतामा खोजिने राजनीतिक निकासले अन्ततः प्रतिगमनलाई नै फाइदा पु¥याउने माओवादीको ठहर छ । 

संविधान कार्यान्वयनमा देखिएका चुनौतीहरुको गम्भीर समिक्षासहित समावेशी लोकतन्त्रको रक्षा गर्दै प्रत्यक्ष कार्यकारी रहने राजनीतिक प्रणालीका पक्षमा संविधान संशोधन गर्न सके मात्रै हामी समुन्नत लोकतन्त्रको विकास गर्न सक्छौं। यो पक्षलाई अत्यन्तै संवेदनशील र गम्भीररुपमा लिएर आन्दोलनकारी पक्षले आफ्नो भावी रणनीति विकास गर्ने विश्वास लिएका छौं।– प्रचण्डले भनेका छन् । माओवादी केन्द्रले जेनजीको माग, राष्ट्रपतिको पहल र नेपाली सेनाको भूमिकाको सराहना गरको छ । 
 
यस्तै, मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले पनि जेनजीलाई आग्रगामी दिशाको पक्षमा उभिन सुझाएको छ । अग्रगामी, यथास्थितिवादी र पश्चगामी अहिलेको तीन सम्भावना रहेको भन्दै अग्रगामी बाटोबाटै अघि बढ्ने आन्दोलनकारी र नेपाली सेनाबीच भएको वार्तामा अग्रगामी दिशाको पक्षमा अघि बढ्न सुझाएको हो । 

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वैधानिक प्रक्रियामार्फत नै अघि बढ्नुपर्नेमा जोड दिएकी छन् । देशमा उत्पन्न वर्तमान राजनीतिक संकट समाधानका लागि राष्ट्रपति रामचन्द्र पौडेल र प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको समन्वयमा वैधानिक प्रक्रियामार्फत नयाँ मन्त्रिपरिषद गठन गर्नुपर्ने उनको सुझाव छ । 

सल्बलाउँदै तीन दलका कार्यकर्ता 

पुराना राजनीतिक दलका नेताहरुको घर खोजी खोजी आगजनी तोडफोड र कुटपीटको घटनापछि सुरक्षाका कारण गुमनाम बनेका कांग्रेस, एमाले र माओवादीका कार्यकर्ताहरु सामाजिक सञ्जालका साथै सडकमा समेत आउन थालेका छन् । 

सेनाको कफ्र्यूका बाबजुद विहीबार नेपाली कांग्रेस युवा कार्यकर्ताहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । संविधानको प्रति बोकेर सानो संख्यामा उनीहरु सडकमा उत्रिएका थिए । 

जेनजी र सेनाबीच वार्ता चलिरहँदा संविधान नै नरहने र मुलुक पश्चगमनतर्फ धकेलिने खतरा देखिएपछि पुराना दलहरुले सक्रियता बढाएका हुन् । फरक फरक धारणाका साथ दर्जनौं जेनजीले आआफ्नै भूमिका र मुलुकको भावी नेतृत्वको खोजी गरेपछि झनै अन्यौलता सिर्जना गरेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २७, २०८२  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update