News 24 Television
व्यापारी सधैं हुलको टार्गेटमा ! कनेक्शनको खास रहस्य के ?

काठमाडौं । भदौ २४ गते काठमाडौं र देशका अन्य क्षेत्रहरूमा भएको आन्दोलनले भ्रष्टाचारविरुद्धको जनआवाजको रूप लिएको भए पनि घुसपैठ र हिंसाले यसलाई नियन्त्रण बाहिर पु¥यायो । यसको परिणामस्वरूप संवेदनशील सरकारी संरचना, निजी व्यवसाय, लगानी, रोजगारी र मुलुकको अर्थतन्त्रमा ठुलो क्षति पुगेको छ । संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति तथा प्रधानमन्त्री कार्यालयजस्ता संरचनामात्र होइन, निजी व्यवसायीसँगै निजी कलेज र विद्यालय जस्ता प्रतिष्ठानहरू पनि प्रदर्शनकारीको आक्रोशको निशानामा परेका छन् । 

खासमा व्यवसायीहरु पनि यसरी आक्रोशको केन्द्रमा किन परिरहेका छन् त ? 

गएको भदौ २४ गते काठमाडौंसहित देशभर मच्चिएको आन्दोलनमा घुसपैठ भएपछि स्थिति नियन्त्रणबाहिर जाँदा मुलुकका प्रमुख सरकारी संरचना मात्र नभई निजी व्यवसायिक समूह र व्यक्तिगत सम्पत्तिहरूमा समेत व्यापक क्षति पुग्यो । 

संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, प्रधानमन्त्री निवास र राष्ट्रपति कार्यालय जस्तै संवेदनशील संरचनासँगै निजी उद्योग, व्यवसाय र घरसमेत आन्दोलनकारीको आक्रोशको निशानामा परे । नेपालका एक मात्र डलर अर्बपति विनोद चौधरीको निवास रविभवनमा लुटपाट मात्र भएन, चौधरी समूहअन्तर्गत सतुंगलस्थित फ्याक्ट्री, थापाथलीको सीजी मोटर्स शो–रुम तथा गाडीहरूमा समेत आगजनी र तोडफोड भयो । उनका भाइ वसन्त चौधरी र अरुण चौधरीका निवास तथा प्रतिष्ठान पनि सुरक्षित रहेनन् । 

त्यस्तै, थापाथलीको सुजुकी सोरुममा तोडफोड गरियो । प्रारम्भिक अनुमानअनुसार चौधरी परिवार र समूहसँग सम्बन्धित सम्पत्तिहरूमा अर्बौँ रुपैयाँ बराबरको क्षति पुगेको छ ।

आईएमई समूहसमेत आन्दोलनको प्रत्यक्ष असरमा प¥यो । काठमाडौंको चन्द्रागिरि केबलकार बेस स्टेसन, नवलपरासीस्थित मौलाकालिका केबलकार र ग्लोबल आईएमई बैंकका शाखाहरूमा आक्रमण हुँदा करोडौँ बराबरको संरचना नष्ट भयो । ग्लोबल आईएमई र केबलकार कम्पनीहरू शेयर बजारमा सूचीकृत भएकाले यसबाट सर्वसाधारण लगानीकर्ताले समेत घाटा बेहोर्नुपर्ने स्थिति सिर्जना भएको छ ।

भाटभटेनी सुपरस्टोर पनि प्रमुख निशानामा पर्न पुग्यो। एकै दिन १२ वटा स्टोर पूर्णरूपमा जले, ९ वटा तोडफोड र लुटपाटमा परे । २७ शाखामध्ये आधाभन्दा बढी प्रभावित भएपछि हजारौँ रोजगारीसमेत जोखिममा परेका छन् ।

व्यवसायिक तथा लगानी संरचनामात्र होइन, विदेशी लगानीका परियोजना र प्रतिष्ठानहरू पनि ध्वस्त भए । 

करिब ८ अर्ब रुपैयाँको लगानीमा बनेको नक्सालस्थित पाँचतारे होटल हिल्टन आगलागीमा परी पूर्णरूपमा नष्ट भयो । गत वर्ष मात्रै सञ्चालनमा आएको यो होटल ध्वंसावशेषमा परिणत भएको छ । 

त्यस्तै, एनसेलमा भएको आगजनी र लुटपाटबाट करिब १ अर्बभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ । टाटा मोटर्स, हुन्डाई, सुजुकी, महिन्द्रा जस्ता विदेशी ब्रान्डका सोरुमहरूमा पनि तोडफोड भयो । 

देशभरका औद्योगिक सहरहरू  विराटनगर, वीरगञ्ज, इटहरी, पोखरा, धनगढी, दाङ, सुर्खेत मा रहेका उद्योग–व्यवसायहरू पनि आन्दोलनकारीको आक्रमणबाट अछुतो रहेनन् ।

किन भाटभटेनी, चौधरी र अन्य व्यापारीहरू निशानामा ?

भाटभटेनी प्रायः हरेक आन्दोलन वा विद्रोहमा निशानामा पर्नु अब सामान्य जस्तै भएको छ । संस्थापक मिनबहादुर गुरुङ उपभोक्तालाई सहज सेवा दिनेदेखि हजारौँ रोजगारी सिर्जना गर्नेसम्मका कारण चर्चित भए पनि ललिता निवास प्रकरण, आत्मदाह गरेका प्रेम आचार्यको परिवारले दर्ता गरेको जाहेरी र एमालेलाई दिएको ठूलो जग्गा दान जस्ता विषयहरूले उनलाई विवादास्पद बनाएका छन् । एमालेसँग नजिक भएका कारण पनि उनी निशानामा परेको अनुमान गर्न सकिन्छ ।

विनोद चौधरी व्यवसायिक र राजनीतिक जीवन दुवैमा विवादित नाम हुन् । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा विवाददेखि कर छली र नेपाल उद्योग वाणिज्य महासंघलाई विभाजन गर्ने प्रयाससम्म उनको नाम जोडिएको छ । विदेशमा अवैध लगानी, कानुन उल्लंघन गरी कम्पनी खोलिएको कुरा उनले आफैँ आत्मकथामा उल्लेख गरेका छन् । तर सत्ताको संरक्षणका कारण बारम्बार कारबाहीबाट उम्किँदै आएका चौधरीविरुद्ध आक्रोशित भीडले आक्रमण गरेको देखिन्छ ।

करिब ८ अर्ब रुपैयाँको लगानीमा निर्माण गरिएको नक्सालस्थित पाँचतारे होटल हिल्टन भीषण आगलागीमा परी पूर्णरुपमा ध्वस्त भएको छ । शंकर समूहले निर्माण गरेको यो होटल करिब पाँच वर्ष लामो अवधिपछि गत वर्षदेखि औपचारिक सञ्चालनमा आएको थियो । 

होटल हिल्टन विक्री भएको र त्यो होटल पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुपुत्र जयवीर देउवाले खरिद गरेको भन्ने विषयमा देखाएका थिए । 

यद्यपि, त्यो समाचारको प्रमुख लगानीकर्ताले तत्काल खण्डन गरेका थिए । जुन आरोपमा प्रमाणहरू बाहिर नआए पनि अधिक प्रचारका कारण आन्दोलनको क्रममा निशानामा परेको देखिन्छ । 

राजनीतिक सम्बन्धका कारण व्यापारिक घरानामा आक्रमण

सिम्रिक एयरका सञ्चालक क्याप्टेन रामेश्वर थापा एमाले अध्यक्ष केपी शर्मा ओलीका निकट मानिन्छन् । पछिल्लो एमाले–कांग्रेस गठबन्धनको सरकार बनाउन रामेश्वर थापाको महत्वपूर्ण भूमिका रहेको भन्दै प्रचारसमेत भएको थियो । आन्दोलनकै दिन ‘एमाले नेताहरू सिम्रिक हेलिकप्टरमार्फत भागे’ भन्ने हल्लासँगै सिम्रिक एयरलाइन्समा आगजनी भयो । 

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल लगानी गरेको चन्द्रागिरि र मौलाकालिका केबलकारमा पनि आगजनी भयो । पाथीभरामा निर्माणाधीन केबलकारको विवाद, धार्मिक स्थलको अपमान गरेको आरोप र ‘नो केबलकार’ आन्दोलनकारीको असन्तुष्टि यसका प्रमुख कारण ठहरिए । टिकटकमार्फत चर्चित अंशु वर्माको चिया बगान, एमालेसँग निकटता देखाएको भन्दै आगजनीमा प¥यो । पत्रकार सन्तोष देउजाको घरमा पनि राजनीतिक अभिव्यक्तिका कारण आक्रमण भयो ।

आन्दोलनको राप : निजी स्कुल र कलेजहरूमा आगजनी 

आन्दोलनको राप निजी शैक्षिक संस्थामा पनि परेको छ । उपत्यकाका महँगा भनिएका कलेज र राजनीतिक नेताहरूको लगानीमा सञ्चालित स्कुलहरूमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरेका छन् । 

ललितपुरको सातदोबाटोस्थित खुमलटारमा रहेको युलेन्स स्कूलमा आगजनी भएपछि विद्यालयको भौतिक संरचना र भित्र रहेका गाडीहरू पूर्ण रूपमा नष्ट भएका छन् । यस विद्यालयमा आरजु राणा देउवाको लगानी रहेको भनिएको छ । प्रदर्शनकारीहरूले महँगो शुल्क लिएको भन्दै आक्रोश व्यक्त गरेका थिए । 

जोरपाटीस्थित नामी इन्टरनेश्नल स्कुलमा पनि प्रदर्शनकारीहरूले आगजनी र तोडफोड गरेका छन् । यो स्कुलमा पनि आरजु राणाको लगानी रहेको भन्ने गरिन्छ । प्रदर्शनकारीहरूले स्कुलको उच्च शुल्कको कारण आक्रोश व्यक्त गरेको देखिन्छ । काठमाडौंको मध्यबानेश्वरमा रहेको ग्लोबल इन्टरनेश्नल कलेजमा नेतहरूको छोराछोरी पढ्ने कलेज भन्दै प्रदर्शनकारीहरूले आगजनी गरे । 
आगलागीले विज्ञान र व्यवस्थापनका दुबै भवन जलेका छन् । त्यस्तै, कालोपुलस्थित जेभिएर इन्टरनेश्नल कलेजमा पनि प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । यस कलेजका दुई भवनमा क्षति पुगेको छ ।

राजनीतिक, आर्थिक र सामाजिक स्थायित्वमा ठूलो धक्का

समाजमा राजनीतिक, व्यवसायिक र निजी क्षेत्रबीचको जटिल सम्बन्ध र सत्ता–पूँजीको संवेदनशील जालोले गर्दा नागरिक आन्दोलनले अप्रत्याशित रूपमा आर्थिक र सामाजिक संरचनामा ठूलो असर पार्न सक्ने देखाएको छ । निजी लगानी, रोजगारी र राष्ट्रिय अर्थतन्त्रमा क्षति मात्र नभई राजनीतिक प्रभाव र शक्ति सन्तुलन पनि संकटमा परेको छ ।

विशेषगरी निजी शैक्षिक संस्था र कलेजहरूमा भएको तोडफोडले शिक्षा क्षेत्रमा दीर्घकालीन असर पार्ने खतरा उत्पन्न गरेको छ । आगजनी र तोडफोड भएका विद्यालयमा विद्यार्थीहरू, अभिभावक र शिक्षकसमेत प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । भ्रष्टाचारविरुद्धको संघर्षले सामाजिक न्यायको आवाज उठाउँदा पनि हिंसा, घुसपैठ र अराजकता समावेश भयो भने यसले आर्थिक, शैक्षिक, राजनीतिक र सामाजिक संरचनामा दीर्घकालीन नोक्सानी पु¥याउन सक्ने मुख्य पाठ सिकाएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  ०९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update