
काठमाडौं । नेपाली कांग्रेसमा जेन–जी आन्दोलनपश्चात पार्टी सभापति शेरबहादुर देउवाले पद छाड्नुपर्ने आवाज तीव्ररुपमा उठाइएको छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले देउवाले पार्टी नेतृत्व छाड्नुपर्ने दाबी गरिरहेको बेला कांग्रेसमा विशेष महाधिवेशन र महाधिवेशन छिटो गर्नुपर्ने आवाज उठिरहेको छ । तर, देउवा दम्पत्ति नै उपचारमा रहेको बेला गगन–विश्वले चालेको राजनीतिक चालले उनीहरुलाई लाभ मिल्ला त ?
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र पत्नी डा. आरजु राणा देउवा जेनजी आन्दोलनको क्रममा आन्दोलनकारीको आक्रमणबाट गम्भीर घाइते भएकै समय अहिले कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस छेडिएको छ । देउवा दम्पत्तिको उपचार कुन अस्पतालमा भइरहेको भन्ने समेत औपचारिक जानकारी सार्वजनिक नगरिएको बेला जेनजी पुस्ताको माग भन्दै नेतृत्व छाड्नुपर्ने मागमा उत्रिएका छन्, गगन थापा र विश्वप्रकाश शर्मा ।
जेनजी पुस्ताले खोजेको नेतृत्व परिवर्तन के उमेरहदको हकमा लागू हुन्छ ? वा पद तथा सत्तामा लामो समय बसेको आधारमा ? यी विषय अनुत्तरित छन् । किनभने पूर्वप्रधानन्यायाधीश शुशीला कार्कीलाई जेनजी पुस्ताको प्रतिनिधि बनाएर सरकारमा पठाएपछि नै यो प्रश्नमा उनीहरुमाथि नै प्रतिप्रश्न गर्न थालिएको देखिन्छ । तर, राजनीतिक दलका शीर्ष नेताहरुले लामो समयदेखि सत्तामा चलाएको हालीमुहाली, भ्रष्टाचार रोक्न प्रभावकारी कदम चाल्न नसकेको विषय जस्ता तमाम विषयले प्रश्न उठेपनि यसलाई प्राविधिक विषय बनाउन खोज्दा समस्या निम्तिन पुगेको बताइन्छ ।
यस्तोमा अहिले तीन ठूला दलका शीर्ष नेताहरुमाथिको एउटै प्रश्न छ, नेतृत्व पुस्तानान्तरण गर । तर, उनीहरुले यो सहजै मान्लान ? प्रश्न र शंका छ । तर, कांग्रेसमा भने महाधिवेशनपश्चात देउवाले पार्टी नेतृत्व सम्हाल्न सक्ने स्थिति छैन् । जसकारण देउवा रिटायर्ड हुनेमा शंका छैन् । यस्तो अवस्थामा पनि अहिले कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा आवाज उठेको छ, विशेष महाधिवेशन गर्ने, महाधिवेशनलाई तत्काल गर्ने वा देरउवाले नेतृत्व हस्तान्तरण गर्नुपर्ने ।
यी विषयमा गगन–विश्वले प्रस्ताव नै राखेपनि उनीहरुको प्रस्ताव अल्पमतमा परेको छ । जुन विषयमा कांग्रेसले केन्द्रीय समितिबाट अर्को बैठकमा निर्णय लिन सक्नेछ । तर, देउवा दम्पत्ति उपचारमा रहेको बेला यो प्रस्ताव कति जायज ? उनीहरुसहितको बैठकमा राख्नुपर्ने प्रस्ताव किन पेश भयो ? यस्ता विषय समेत बहसमा तानिएका छन् ।
देउवाले नेतृत्व छाड्नुपर्ने माग राखेका गगन–विश्वको प्रस्ताव अल्पमतमा परेपछि देउवा पक्षका नेताहरुले पनि विभिन्न तर्क राखिरहेका छन् । तर, कांग्रेस नेता तथा पूर्वमन्त्री रमेश रिजालले कार्यसम्पादन समिति बैठकले गरेका निर्णयका आधारमा पार्टीलाई अघि बढाउने भन्दै गगन–विश्वको प्रस्तावलाई मात खुवाइदिएका छन् ।
कांग्रेसमा नेतृत्व चयनको विषयमा चलिरहेको बहसमा कांग्रेस नेता डा. शेखर कोइरालाले पनि विराटनगर पुगेर नेतृत्वको विषयमा केन्द्रीय समिति बैठकले निर्णय गर्ने बताएका छन् । कोइरालाले यस्तो भन्नुको अर्थ हो, देउवाले प्राप्त गरेको वैधता केन्द्रिय समिति र पार्टी विधानले दिएको हदम्यादसम्म तलमाथि गर्न पाइन्न । तर, निर्णय गर्ने र नेतृत्वबाट बाहिरिएर कांग्रेसलाई थप अघि बढाउन चाहेमा बाटो खुला छ । तर, के देउवाले यस्तो गर्लान ? धेरैलाई विश्वास भने लागेको देखिन्न ।
जेनजी पुस्ताको माग र देउवा
देउवाले नेपालको लोकतन्त्रका लागि लामो समय संघर्ष गरेका छन् । उनले जेल जीवन समेत भोगेपनि सत्ताप्राप्तिमा उनले पाएको लाभ पनि कम छैन् । २०४९ देखि सत्ताको रापतापमा रमेका देउवाले अहिलेसम्म पनि मुख्य भूमिका निर्वाह गरिरहनु राजनीतिक रुपमा पनि प्रश्नको विषय हो ।
निश्चित समयपछि नेतृत्वले ठाउँ खाली गर्ने र नयाँलाई अवसर दिनुपर्नेमा यस्तो हुन नसक्दा प्रश्नहरु स्वभाविक बनेका छन् । तर, जेनजी पुस्ताले भनेजस्तो कांग्रेस निर्माण हुनेमा भने शंका पर्याप्त देखिन्छन् । निर्वाचन प्रणालीबाट नेतृत्व चयन हुने भएकाले सत्ता र शक्तिको वरिपरी रहनेहरुले नै निर्णायक काम गर्नेछन् । अझं, आगामी ६ महिनापछि निर्वाचनको समय तोकिएपछि कांग्रेसले महाधिवेशन तत्काल गर्ने सम्भावना कम छ । गरिहाले पनि चुनावका लागि टिकट पक्का गरेर लाइन प्रष्ट पार्ने काम सकिएपछि मात्रै हुने स्थितिका कारण पनि देउवाको पार्टी सत्ता लम्बिनेमा शंका छैन् ।
गगन–विश्व अल्पमतमा
गगन थापा र विश्वप्रकाश शर्माले देउवालाई मार्गप्रशस्त गर्न भनेपनि देउवाले पहिले नै यसको जवाफ दिइसकेको स्थिति छ । देउवाले पार्टी नेतृत्व सहजै छाड्न किन पनि सक्दैनन भने उनी निकटका नेताहरुको व्यवस्थापन र ती नेताहरुले देउवालाई आफू स्थापित हुने स्थितिसम्म देउवालाई बोक्ने स्थिति छ ।
गगन–विश्वले आफूले नेतृत्व लिने औपचारिक घोषणा नै गरिरहेको बेला यो पुस्तामा नेतृत्व सहज आउने गरि देउवालाई पार्टी नेतृत्व छाड्न दिन डा. शेखर कोइराला नै राजी नहुने स्थिति बन्ने सम्भावना छ । देउवा पक्षमा नेतृत्वको होडबाजी चल्ने र गगन–विश्वको दबाब बढिरहने स्थिति चलेमा कांग्रेसको राजनीति तरल बन्नेछ भने देउवाको सत्ता लम्बिनेछ । यता, गगन–विश्वका यस्ता प्रस्ताव अल्पमतमा परिरहनेछन् ।