
काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको नेतृत्व को ? जवाफ अनुत्तरित छ । तर, जेन–जी लिडर भन्दै पानी र मेडिकल टिम लिएर गएको दाबी गर्ने हामी नेपाल नामक एनजीओले लिएको स्थानमा प्रश्नहरु उठ्न थालेका छन् । अनौठो पोशाक र बहुरंगी स्वभावसहित राष्ट्रपतिदेखि सेनासँग वार्तामा बस्नेले जेन–जी आन्दोलन हाइज्याक गरेको आरोप लागिरहेको छ, भने के जेन–जी आन्दोलनमाथि यसरी नै छेडखानी भएको हो ?
आइतबार सिंहदरबार जान भन्दै एकहुल घाइतेहरुले धर्ना दिए । सिंहदरबार गेटमै धर्ना दिएका उनीहरुले जेनजी आन्दोलनको क्रममा गोली खाएको दाबी मात्रै गरेनन्, बैशाखी टेकेरै आक्रोश पोखे । दलका नेतादेखि एनजीओ चलाउनेहरुले जेनजी आन्दोलन हाइज्याक गरेको भन्दै आक्रोश पोखे ।
जेनजी आन्दोनमा सहभागी हुने हामी, गोली खाने हामी, नेता हुँ भन्दै जाने अर्कै ? सिंहदरबारमा गृहमन्त्री भेट्न पुगेका केहि युवा युवतिले भनिरहेका छन् । उनीहरुले गृहमन्त्रीलाई पनि भेटेको भन्दै जेनजी आन्दोलन हाइज्याक गरिएको दाबी गरिरहेका छन् ।
गत भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा घाइते भएकाहरुले आईतवार सिंहदरबारमा गहमन्त्री ओमप्रकाश अर्याललाई भेटेरै आन्दोलन हाइज्याक गर्न खोजिएको भन्दै ध्यानाकर्षण गराए । आन्दोलनका घाइतेहरुले आन्दोलनका शहीद र घाइतेहरुको अपमान हुने किसिमका गतिविधिहरु सह्य नहुने चेतावनी पनि दिए ।
जेनजीका विभिन्न समूहरुले वर्तमान परिस्थितिमा सरकार समक्ष आ–आफ्नै माग राखिरहेका छन् । जसमा राजनीतिक दलमा आवद्ध युवाहरुले समेत जेनजी आन्दोलनको लाभ उठाउन लागेको भन्दै अर्को समूह आक्रोशित भएको छ । वास्तविक जेनजी पुस्ता आफूहरु रहेको भन्दै आन्दोलनबाट प्राप्त उपलब्धिमा रजाइँ गर्न नपाइने उनीहरुको चेतावनी छ । यस्तो आक्रोशको भुङ्ग्ग्रोमा परेका छन्, हामी नेपाल नामको एनजीओका अध्यक्ष सुदन गुरुङ ।
झनक्क रिसाउने, धम्की दिन पछि नपर्ने र राष्ट्रपतिलाई पनि बाजे सम्बोधन गर्ने सुदन गुरुङ सामाजिक सञ्जालमा प्रष्टीकरण दिन उपस्थित हुन्छन्, आफूबाहेकलाई चेतावनी दिन्छन् । तर, जेनजी आन्दोलनको क्रममा उनले आफू आन्दोलनकारी नभई मेडिकल र पानीको सहयोग गर्न पुगेको भन्दै एक अनलाइन मिडियालाई दिएको अभिव्यक्तिले पनि उनीमाथिका प्रश्नहरु व्याप्त छन् ।
पानी र मेडिकल टिम लगेको दाबी गर्ने सुदन गुरुङले २४ गते नेताहरुका घर, निजी सम्पत्ति र राज्यका सार्वजनिक संरचनामा आगो लाग्न थालेपछि भने जेनजी आन्दोलनको अपनत्व लिन शुरु गरे ।
आन्दोलन निष्कर्षतर्फ जाने स्थितिमा त उनले यसको श्रेय लिइसकेका थिए । नेपाली सेनादेखि राष्ट्रपतिसंगको वार्तामा झुल्किन थालिसकेका थिए ।
यसरी एक्कासी अघि बढेका सुदनलाई भारतीय सञ्चार माध्यमले भने आन्दोलनको नेताको रुपमा व्याख्या गर्न थालिसकेका थिए । त्यसपछि हामी नेपालले लिने सहयोगदेखि सरकार निर्माणमा दलाई लामाले दिएको शुभकामनाले पनि यो विषयमा अनेक विवाद सिर्जना खुलस्त गरिसकेको छ ।
गगनसँगको रोचक भेट
असोज ३ गते संविधान दिवस । संविधान दिवसमा सरकारले टुडिखेलमा संविधान दिवस मनायो भने राष्ट्रपति कार्यालयमा पनि दिवस मनाउने कार्यक्रम आयोजना गरियो । यसमा एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख देवराज घिमिरेबाहेकका शीर्षस्थहरुको उपस्थिति थियो ।
जसमा सुटकोटमा झुल्किएका थिए, उनै गुरुङ । गुरुङले त्यहाँ कांग्रेस महामन्त्री गगन थापासंग समेत भेटवार्ता गरे । गगनसंगको भेटबारे सामाजिक सञ्जालबाटै प्रष्टीकरण पनि दिए ।
गुरुङले चाल्ने कदमहरु तत्कालको तत्काल तयार हुने र स्थितिमा आउने बदलावमा पनि संगसंगै जाने स्थितिका छन् । गुरुङले जेनजीको प्रतिनिधित्व गर्ने दाबी गरिरहेको बेला अर्को समूह वास्तविक जेनजी भन्दै आन्दोलनका घाउ, चोटपटक लिएर आउन थालेपछि यसले प्रश्न र शकाहरु भने उब्जाएको छ । वास्तविक जेनजी को हो ? यो प्रश्नको जवाफ खोजिएला ? चासो बढेको छ ।
जेनजी आन्दोलन र घुसपैठ
जेनजी युवाहरुले आफ्नो आन्दोलनमा घुसपैठ भएको आरोप लगाउने गरेका छन् । प्रहरीले चलाएको निर्मम गोलीलाई तत्कालीन प्रधानमन्त्री केपी ओलीले मिसलिड गर्न खोजेजस्तै जेनजी पुस्ताले पनि राज्यबाट यो अपेक्षा नगरिएको दाबी गरिरहेका छन् । तर, यसमा प्रश्न र शंकाहरु भने अनेक देखएका छन् ।
बालेन फ्याक्टर
आन्दोलनको माहोल तताउन काम गरेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ’बालेन’ शुशीला कार्कीलाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि फेरि अलप भएका छन् ।
जेनजी आन्दोलनमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जलीसमेत दिन नभ्याएका बालेनले जेनजी पुस्ताले नै अघि सार्दा समेत प्रधानमन्त्री बन्न तयार भएनन् । बरु आफ्नो प्रतिनिधिको रुपमा गृह र कानूनमन्त्रालयको जिम्मेवारीमा महानगरका कानूनी सल्लाहकार ओमप्रकाश अर्याललाई पठाए ।
आन्दोलन गर्न उक्साएपनि त्यसपछि अलग भएका बालेनको भूमिका जेनजी पुस्ताले नै खोजेपनि उनी एकाएक सम्पर्कबिहीन किन बने ? प्रोक्सी जेनजी खडा कतै बालेनले नै गरेका त होइनन? आफू ब्याक हटेर हामी नेपालजस्ता एनजीओलाई अघि सारिएको त होइन ? प्रश्नहरु असरल्क बनेपनि बालेन राजाकै शैलीमा लुप्त बन्न पुगेका छन् ।
सातो लिने जेन–जी आन्दोलन
जेनजी पुस्ताले गरेको आन्दोलनले राजनीतिक दल र नेताहरुको सातो लिएको छ । दलले दम्भ र अहंकार पालेपनि उनीहरु केहि न केहि नगरि सहजै निर्वाचनमा जाने स्थिति भने देखिन्न । विस्तारै दलहरुले आफूलाई केहि फरक भएको देखाउन पनि सक्रियता थप बढाउनेछन् ।
कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्माले गर्न खोजिरहेको विद्रोह होस वा एमाले उषाकिरण तिम्सिनाले गर्न खोजिरहेको नेतृत्वविरुद्धको विद्रोह नै किन नहोस, दलभित्रका प्रश्नहरु जब्बर बन्न थालेका छन् । साना दल राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टीदेखि अन्यमा समेत प्रश्न र विद्रोह शुरु भइसकेको छ ।
नेतृत्वले गर्ने मनमौजीमा प्रश्न गर्न थालिएका छन् । यता, माओवादी केन्द्रभित्र परेको ठूलो दबाबपछि विशेष महाधिवेशनको म्याण्डेट नै पारित गरिएको छ । यसर्थ जेनजी आन्दोलनले दलहरुमा विस्तारै शुद्धिकरणको बहसमात्रै छेडेको छैन, सुशासनको हुंकार पनि जगाइदिएको छ ।