News 24 Television
देखिएन रास्वपाको फरक पहिचान, रवि पनि पुरानै नेताको लयमा !

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गठनको प्रमुख उदेश्य सुशासन स्थापना र भ्रष्टाचार नियन्त्रण नै थियो । रवि लामिछाने नेतृत्वको रास्वपाले मुलुकको बेथिति, विसंङ्गती र भ्रष्टाचारलाई नै निर्मुलन गर्ने उदेश्य राखेर पार्टी दर्ता गरेको दावी गर्दै आएका छन् । त्यस्तै रास्वपाको प्रमुख राजनीतिक एजेण्ड पुराना दल र तिनका नेतृत्व विस्थापित गर्नु नै थियो । तर पार्टी गठनपछिका गतिविधि र रविको चरित्रले भने यसको ठिक विपरित नतिजा देखाइरहेको छ । रास्वपा स्थापना भएको करिब ३ वर्षमा पूर्ण परीक्षण भइसकेको कतिपयले दावी पनि गर्न थालिसकेका छन् । र, रास्वपाको खास पहिचान र उदेश्य पनि अन्य दलहरु भन्दा फरक नभएको नै निश्कर्ष निकाल्न थालेको देखिन्छ । 

रास्वपाप्रति विकर्षण किन ? 

– सहकारी ठगी प्रकरणमा रवि मुछिनु 
– पुराना दलहरुसँगै गठबन्धन गरिनु
– पार्टी महाधिवेशनमा विलम्ब 
– नेतृत्वमा व्यक्तिवाद हावी हुनु 
– रविको जेल ब्रेक प्रकरण 
– रविको विकल्प नखोजिनु ।

पार्टी नयाँ, शैली पुरानै 

रास्वपा नयाँ दल भएपनि यसले सुरुका दिनदेखि नै अन्य दलहरुकोजस्तै विवाद र उल्झन झेल्दै आएको छ । यसको कारण पनि बाह्य नभइ आन्तरिक नै हो । सभापति रवि लामिछानेले सुरुका दिन देखि नै नागरिकता तथा राहधानी प्रकरणमा केही त्रुटी गरेको पाइयो । पछि सहकारी ठगी प्रकरणजस्ता रविको बोझिलो विषयहरुले पनि सिंगो रास्वपालाई नै थिलथिलो बनायो । यो प्रकरणमा रास्वपाका नेताहरुले नै रविको दोषको भारी आफूहरुले नै बोक्नुपर्ने ? 

सुशासनका नारा बोकेर राजनीतिमा आएका हामी नै ठगी प्रकरणको दोष झेल्नुपर्ने ? जस्ता जास्ता प्रश्नहरु आजभोली उठाउन थालेका छन् । यस्तैमा रास्वपाको महाधिवेशन अझै अनिश्चित छ । पार्टीमा जतिसुकै बहस र छलफल भएपनि रविकै निर्णय र निर्देशन नै निर्णायक बन्ने गरेका छन् । यस्तैमा भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनका क्रममा रविले जेल ब्रेक गरेपछि रास्वपाप्रति आम नागरिक तथा कार्यकर्तालेसमेत नकारात्मक धारणा बनाइरहेका छन् । उता रास्वपाले नै पनि जेन–जी आन्दोलनमा तुलनात्मक रुपमा रास्वपा नेता कार्यकर्ता सामेल भएको भनेर दावी गरेपछि रविप्रति अझ नकारात्मक धारणा बन्ने परिस्थिति बनेको छ । 

यी परिस्थितिपछि पूर्व शिक्षामन्त्रीसमेत रहेकी नेतृ सुमना श्रेष्ठले पार्टी नै परित्याग गरिसकेकी छन् । भने अन्य नेताहरुले पनि पार्टी छाड्ने संकेत गरेका छन् । 

यस्तैमा अर्की नेतृ तोसिमा कार्कीले पनि पार्टी पुनरगठन गर्नुपर्ने भनेर खुलमखुल्ला अभिव्यक्ति नै दिइसकेकी छन् । यसरी रविकै कारण पार्टीमा नेताहरु चरम असन्तुष्टि व्यक्ति गरिरहँदा अन्य नेताहरुले भने रविको विकल्प खोज्न नहुने भनेर सामूहिक अडान लिएका छन् । मंगलबार मात्रै विभिन्न प्रदेश सभापतिहरु भेला भएर तत्कालै पार्टीमा रविको विकल्प खोज्न नुहने भन्दै खुला अभिव्यक्ति दिएका थिए । 

रवि सम्बन्धमा आएको नेताहरुको यो अभिव्यक्तिले रास्वपाको नेतृत्व परिवर्तनको मागलाई छाँयामा पारेको छ । जसले रास्वपामा पनि अन्य दलहरु झै नेतृत्व परिवर्तनको बहस चर्कै रुपमा उठेपनि अन्तिममा निर्णायक छलफल हुन नसकेको दृष्टान्त दोहोरिएको छ । यही कारण पनि रास्वपालाई पुरानै दलको शैलीमा लान खोजिएको प्रष्ट छ । 

जसरी वर्षौँदेखि काँग्रेस, एमाले तथा माओवादीमा शेरबहादुर देउवा, केपी ओली र प्रचण्डजस्ता नेताहरु नेतृत्वमा रहँदै आएका छन् । र, उनीहरु जेन–जी आन्दोलनपछि नैतिक रुपमा पतन नै भएपनि नेतृत्व छाड्ने छाँटकाँट देखाइरहेका छैनन् । रास्वपामा पनि रविले विभिन्न नैतिक प्रश्न खेप्दा र नेता कार्यकर्ताहरुले पार्टी पुनरगठनको माग राख्दा पनि बेवास्ता गरिरहेका छन् । यी कारणले पनि रविले रास्वपालाई अन्य दलहरुभन्दा कुनै नयाँ पहिचान दिलाउन सकेको देखिँदैन । 
 

प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  २०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update