News 24 Television
जेन–जी फेरि अर्को एक्सनमा ! ‘एक्सपोज झोले’ ले माहोल थर्कमान

काठमाडौं । नेपालको राजनीति फेरि सामाजिक सञ्जालको आँधीमा परेको छ । ‘नेपो बेबी’ अभियानले शक्तिशाली सरकार ढालेर सिंहदरबार हल्लाएको महिनादिन नबित्दै अब नयाँ व्यांग्यात्मक आन्दोलन ‘एक्सपोज झोले’ ले नेताका भक्त र आँखा चिम्लेर समर्थन गर्ने समर्थकलाई कठघेरामा उभ्याएको छ । 

युवापुस्ताले पार्टीको झोला बोकेर ठिकवेठिक जे मा पनि जयजयकार गर्नु आफ्नै भविष्य जलाउने काम हो भन्दै पुराना दललाई फेरि एकपटक चेतावनी दिएका छन् । 
 
‘नेपो बेबी’ अभियानको झड्का अझै थामिएको छैन, सामाजिक सञ्जाल फेरि नयाँ राजनीतिक व्यंग्यात्मक ट्रेन्डले तरंगित छ ‘एक्सपोज झोले’ । यसले नेपाली राजनीतिमा पुनः जेन–जी पुस्ताको असन्तोष र पुराना दलप्रति आक्रोश उजागर गरेको छ । 

गत महिनाको ‘नेपो बेबी’ अभियानले सिंहदरबारदेखि सडकसम्म कम्पन ल्याएर शक्तिशाली सरकार ढालिसकेको छ । त्यसैको निरन्तरता झैं देखिएको ‘झोले’ अभियानमा यसपटक नेतानजिकका कार्यकर्ता, व्यापारी र अवसरवादी समर्थकहरू निशानामा छन् ।

नेपो बेबीदेखि झोलेसम्म 

गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनलाई ‘नेपो बेबी’ ट्रेन्डले उत्प्रेरित गरेको   थियो । त्यस अभियानमा नेताका छोराछोरीलाई विशेषाधिकारप्राप्त, सुविधा पाएर शीर्ष पदमा पुगेका भन्दै आलोचना गरिएको थियो । 

सामाजिक सञ्जालमा सार्वजनिक विदेशी शिक्षा, महँगा गाडी, ब्रान्डेड जीवनशैलीका तस्बिरले युवाहरूलाई आक्रोशित बनाए । सडकमा उर्लिएको भीड हिंसात्मक बन्दा ७४ जनाले ज्यान गुमाए र निजी क्षेत्रमा मात्रै ८० अर्बभन्दा बढीको क्षति भयो । तर, त्यति ठूलो मूल्य चुकाए पनि पुराना दलले आत्मसुधारका संकेत नदिँदा निराशा अझै बाक्लियो ।

‘झोले’ : नेताका भक्तहरूविरुद्ध व्यंग्य

अब सुरु भएको ‘एक्सपोज झोले’ अभियानमा निशाना नेताका छोराछोरी मात्र होइनन्, नेतासँग झोला बोकेर हिँड्ने अन्धसमर्थक कार्यकर्ता र लाभप्राप्त व्यापारी पनि बनेका छन् ।

टिकटकमा ह्यासट्यागसहित पोस्ट गरिएका तस्बिर र भिडियोहरूमा शीर्ष नेतासँग फोटो खिचाएका कार्यकर्तालाई व्यंग्यात्मक क्याप्सनसहित सार्वजनिक गरिदै छ । विशेषगरी, एमाले अध्यक्ष केपी शर्मा ओलीले गुन्डुमा युवासँग संवाद गर्दा देखाएको व्यवहारपछि आएको प्रतिक्रिया नै ‘झोले’ ट्रेन्डको गतिशीलतामा प्रमुख कारण बनेको विश्लेषण गरिएको छ ।

दलहरू रक्षात्मक, युवा अडानमा

युवाहरू भन्छन् ‘अब पनि नेताको झोला बोकेर अन्धो समर्थन गर्नु भनेको आफ्नै भविष्य डामाडोल गर्नु हो ।’ उनीहरूको व्यंग्यबीचै केही पुराना दलका कार्यकर्ताले ‘झोले हुनुमा गर्व छ’ भन्दै प्रत्युत्तर दिएका छन् ।

एमालेले केही महिनाअघि ‘म झोले हो’ अभियान चलाएको थियो । तर जेन–जी पुस्ताले यसलाई “भ्रष्ट परम्पराको आत्मस्वीकृति” भनेर ठाडो अस्वीकार गरेको छ ।

पुस्तान्तरणको अपूर्ण सपना

जेन–जी आन्दोलनको मूल माग नेतृत्वमा पुस्तान्तरण थियो । तर दलहरूले अझै ठोस निर्णय लिएका छैनन् । दोस्रो र तेस्रो तहका नेताले शीर्ष नेतालाई विदा लिन आग्रह गरे पनि त्यो आग्रहले प्रभाव पार्ने सम्भावना अनिश्चित छ । 

‘नेपो बेबी’ र ‘एक्सपोज झोले’ दुवैले प्रमाणित गरिसकेका छन् सामाजिक सञ्जाल केवल मनोरञ्जनको माध्यम नभई राजनीतिक दबाब सिर्जनाको हतियार पनि हो । एक सामान्य ह्यासट्यागबाट सुरु भएको अभियानले सरकार ढाल्नसक्ने शक्ति बोकेको नेपाली समाजले प्रत्यक्ष अनुभव गरिसकेको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update