News 24 Television
पार्टी नेतृत्व छोड्न प्रचण्डलाई दबाब, नारायणकाजी र जनार्दनले दिए ‘थ्रेट’

काठमाडौं । जेनजी आन्दोलनपछिका घटनाक्रमहरुबाट दलका शीर्ष नेत्तृत्वहरु अझै पनि त्रसित अवस्थामै देखिन्छन् । अधिकांस शीर्ष नेताहरु यो आन्दोलनपछि देश झन अन्यौलको अवस्थामा पुगेको दावी गर्दै जेपनि हुन सक्ने भन्दै अड्कलबाजीहरु गरिरहेका छन् । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले अत्यधिक चलखेल भइरहेको जिकिर गर्दै संविधान मास्ने र भ्रष्टाचारको अभियोगमा नेताहरुलाई जेल समेत हाल्न सक्ने त्रास व्यक्त गरेका छन् भने पार्टीभित्रैबाट बरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीका कमीकमजोरी देखाउँदै प्रचण्डलाई नेत्तृत्व छोड्न र आफुलाई कार्यवाहक अध्यक्ष दिन माग गरेका छन् । 

नेपाली राजनीतिका चतुर खेलाडी मानिने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला जेनजी आन्दोलनपछिका माहोलाई आफु अनुकुल बनाउन तत्पर देखिएका छन् । जेनजी आन्दोलन लगत्तै आफ्नो पार्टीको पनि यही माग र मुद्दा रहेको भन्दै उनले आफुलाई जेनजीका माग र मुद्दासँग आफुलाई समाहित गराउन खोजेका थिए । 

त्यसयता पनि उनले पटकपटक जेनजी पूस्ताको मन जित्ने प्रयास गरिरहेका छन् । एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवा पार्टी पुनर्गठनका विषयमा चुईक्क नबोलेका बेला प्रचण्डले सबै कमिटीहरु भंग गरेर पार्टी पुनर्गठन गरिने बताए ।

बिहिवारको केन्द्रीय समितिको बैठकमा प्रचण्डले राखेको पार्टी पुनर्गठन र नयाँ नेत्तृत्वबारे मंसिरमा विशेष महाधिवेशनको प्रस्तावमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माले अहसमति जनाए । झन श्रेष्ठले त प्रचण्डलाई अध्यक्षबाट राजीनामा दिएर आफुलाई कार्यवाहक अध्यक्ष तोक्न समेत माग गरेका छन् । उनले प्रचण्डलाई कार्यकारी नेत्तृत्वबाट विदा लिन समेत सुझाव दिएका छन् ।

त्यसैगरी उपमहासचिव शर्माले पनि पार्टीमा नयाँ पूस्तामा नेत्तृत्व हस्तान्तरण हुनु पर्ने बताएका छन् । सबै पदाधिकारीले राजीनामा दिएर निर्देशक समिति अन्तर्गत नयाँ पूस्तामा नेत्तृत्व हस्तान्तर हुनु पर्ने शर्माको माग छ । 

त्यस्तै पदाधिकारीले आगामी महाधिवेशनमा निर्वाचनको प्रक्रियामै सामेल नहुने निर्णय गर्नु हुनु पर्ने समेत उनको माग छ । अध्यक्ष प्रचण्डको विशेष महाधिवेशनको प्रस्तावमा नेताद्वय श्रेष्ठ र शर्माले असहमति जनाएपछि शुक्रवार बस्नेगरी बिहिवार पहिलो दिनको बैठक सकिएको छ ।

प्रचण्ड किन त्रसित ? 

जेनजी आन्दोलनपछि सुशिला कार्कीको नेत्तृत्वमा बनेको सरकारप्रति प्रचण्ड निकै भयवित देखिएका छन् । शीर्ष राजनीतिक नेत्तृत्वहरुको पासपोर्ट समेत रोक्का हुनेसम्मको खबर बाहिरिएपछि धेरै नेताहरु अहिले त्रसित अवस्थामा छन् । अस्वस्थ अवस्थामै रहेको देउवा र गुण्डुमा खुम्चिएका ओलीभन्दा केही बढि चहलपहल दिइरहेका प्रचण्ड अझ बढि त्रसित देखिन्छन् । देश अन्यौलको स्थितिमा गएको भन्दै उनले अनेक किशिमका चलखेलहरु भइरहेको दाबी गरेका छन् । 

केन्द्रीय समिति बैठकमा उनले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा अहिले संविधान मास्ने, नेताहरूलाई भ्रष्टाचार वा अन्य बहानामा जेल हालेर दलमाथि प्रतिबन्ध लगाउनेसम्म खतरा रहेको उल्लेख गरेका छन् । पार्टीमा चलिरहेको नेत्तृत्व बारेको बहसपछि प्रचण्ड दोसाँधको मनस्थितिमा देखिन्छन् । बाराम्बार पदमा बसिरहन कुनै लोभ छैन भन्दै आएका प्रचण्ड जिम्मेवारीबाट भाग्न नमिल्ने जस्ता दोहोरो अर्थ लाग्ने कुरा पनि दोहो¥याउन छोड्दैनन् ।

पार्टीका सबै कमिटि भंग गरेर आफनै संयोजकत्वमा विशेष महाधिवेशन गरेर पुनः आफै नेत्तृत्वमा आउने र आफुनिकट टीम पनि बनाउने गरी पार्टी पुनर्गठनको कार्ड प्रचण्डले फ्यालेको आशंका पनि दोस्रो र तेस्रो तहका नेताहरुले गरेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ०८:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update