
काठमाडौं । एक पटक पार्टी नेतृत्वमा पुगेका नेताहरुले अहिलेसम्म पनि दोस्रो पुस्तामा नेतृत्व हस्तान्तरण छाँटै देखाएनन् । पुराना राजनीतिक दल होस् वा नयाँ सबैको प्रवृत्ति उस्तै छ ।
अझ मुलुकमै सम्भावना नरहेको भन्दै युवा पुस्ताले भाष्य खडा गरेको समेत उनीहरुले आरोप लगाउँदै आएका थिए । त्यसैको आक्रोशको विस्फोट जेनजी आन्दोलनमा विष्फोट भयो । यहि विद्रोहले अहिले नेपाली राजनीतिमै नयाँ कोर्षको बहस सिर्जना गरिदिएको छ ।
२०४६ सालको प्रजातन्त्र पुनस्र्थापनापछि सत्तामा उदाएका राजनीतिक दलका नेताहरु अहिले सम्म पनि सत्ताकै पेरिफेरीमा रहे । प्रजातन्त्रको दुहाई दिने दलहरु मात्र होइन, ५२ सालमा सशस्त्र युद्ध छेडेर शान्ति प्रक्रिया हुँदै संसदीय राजनीतिमा उदाएको माओवादीमा समेत उस्तै प्रवृत्ति देखियो ।
पार्टी नेतृत्वदेखि लाभको पद लिएका तिनै नेताहरु निरन्तर जरा गाडेर बसे । मुलुकको समृद्धिको सपना बाँड्ने तर नागरिकको समस्याप्रति वेवास्ता गरिँदै आयो । राजनीतिक दलका निष्ठावान नेता कार्यकर्ताको वेवास्ता गर्ने तर नेताका छोराछोरी बिलासितामा रमाउने प्रवृत्ति झन्झन् मौलाउँदै गयो ।
मुुलुकमा भ्रष्टाचार, कालोबजारी, बेरोजगारीको समस्याहरु बिकराल बन्दै गयो । आम नागरिकमा राजनीतिक दलहरुप्रति वितृष्ण बढ्दै गइरहेका बेला नेताहरुले युवाहरुलाई उपेक्षित गर्ने काम गरिरहेका थिए । विदेशिन विवश युवाहरुले गलत भाष्य सिर्जना गरेको जस्ता गम्भीर आरोप नेताहरुले लगाइरहे ।
नागरिकको आक्रोश उत्कर्षमा पुगिरहेका बेला जेनजी युवाहरुले मुलुकको सुशासनको आवाज उठाउँदै सडकमा उत्रिदा सरकार दमनमा उत्रियो । परिणाम स्वरुप युवाहरुले ३६ घण्टामै सत्ता पल्टाइदिए । नेताहरु लखेटिनु पर्यो । जेनजी विद्रोहपछि अहिले मुलुकमा अन्तरिम सरकार बनेको छ । जसले आगामी ६ महिनाभित्र नयाँ निर्वाचन गर्ने जिम्मेवारी पाएको छ ।
जेनजी विद्रोहपछि फेरिएको राजनीतिक कोर्ष
जेनजी विद्रोहले दुई ठूला राजनीतिक दल सम्मिलित सत्ता मात्रै ढालेन । प्रतिनिधिसभाकै विघटन गरिदियो । पहिलो पटक संविधानसभाबाट बनेको संविधानसमेत संकटको डिलमा रहेको अवस्थामा दलहरुलाई लिकमा हिडाएर संविधानको रक्षा गर्नुपर्ने अवस्था छ ।
योसँगसँगै जेनजी विद्रोहले राजनीतिक कोर्ष नै बदलिदिएको छ । राजनीतिक दलहरुलाई सच्चिएर अगाडि बढ्ने अवसर समेत जेनजी विद्रोहले दिएको छ । त्यसैले नयाँ पुराना सबैजसो राजनीतिक दलहरुमा पार्टी पुनर्गठनको बहस चर्किएको छ ।
जेनजीको मर्मलाई आत्मसाथ गरेर पार्टी पुनर्गठन गर्नुपर्ने दबाब बढे पनि शीर्ष नेतृत्व तह अझै पनि आफ्नै हठमा छन् । पार्टी भित्रको नैतिक जिम्मेवारी लिँदै नेतृत्वबाट अलग हुने छाँट कसैले देखाएका छैनन् ।
बाबुराम भट्टराई सबैभन्दा जिम्मेवार
बदलिएको राजनीतिक कोर्षसँगै माओवादी केन्द्र विशेष महाधिवेशनमा जाने प्रस्तावसहित छलफलमा छ । नेपाली कांग्रेसभित्र पनि विशेष महाधिवेशनको बहस चलि नै रहेको छ । नेकपा एमाले राजनीतिक समीक्षामै छ । तर पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष बाबुराम भट्टराई भने नयाँ पुस्तालाई नेतृत्व दिने घोषणा गर्दै पार्टी अध्यक्ष छाडिसकेका छन् । भट्टराईले अझ पुराना सबै राजनीतिक दलहरु भ्रष्टीकृत भइसकेको भन्दै उनीहरुलाई टाउको उठाउनै दिन नहुने तर्क गरेका छन् ।
नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को अध्यक्ष पदबाट बुधबार राजीनामा दिएका भट्टराईले बिहीवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै युवाहरुको माग सम्बोधन गर्ने गरी काम गर्न अन्तरिम सरकारलाई आग्रह गरेका छन् ।
सुरक्षा निकायमाथि पनि प्रश्न
जेनजी विद्रोहका क्रममा भदौ २४ गते भएको आगजनी र तोडफोडमा सुरक्षा निकाय जिम्मेवार बन्न नसकेको आरोप सबै तिर छ । संसददेखि सिंहदरबार र अदालतसमेत खरानी बन्दासमेत नेपाली सेनाले सुरक्षा नदिएको प्रश्न पनि उडिरहेको छ । पूर्व प्रधानन्त्री भट्टराईले पनि सुरक्षामाथि गम्भीर आशंका ब्यक्त गरेका छन् ।
असंगठित जेनजी युवाहरुको विद्रोहले मुलुकको राजनीतिक कोर्ष नै बदलिदिएको छ । मुलुकको नेतृत्व लिनको लागि नभै राजनीतिक दलहरुलाई नै सच्चिन भनी युवाहरुले दिएको झापडबाट पनि दलहरुले पाठ नसिक्ने हो भने नागरिकले नयाँ पुराना राजनीतिक दलहरुलाई नागरिकले कहिल्यै माफि दिने छैनन् ।