
काठमाडौं । नेकपा एमाले भित्र पार्टी पुर्नगठनको आवाज बलियो बन्दै गएको छ । जेनजी आन्दोलनपछि नयाँ पुराना सबैजसो पार्टीमा पुनर्गठनको बहस तीब्र बनिरहँदा एमालेमा पनि यसको आवाज चुलिएको हो । पार्टीको नेतृत्वले नेतृत्व परिवर्तनको बहसलाई दबाउन खोजेपनि युवा पुस्ताका एमाले नेता तथा कार्यकर्ताहरु भने पार्टी पुर्नगठनलाई बटमलाईन नै बनाउने गरी अगाडि बढीरहेका छन् ।
जेनजी आन्दोलनका बेला प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाटै सेनामार्फत राजीनामा बुझाएर सेनाकै हेलिकप्टरमा चढेर एक हप्ता ब्यारेकमा सुरक्षित बसेका एमाले अध्यक्ष केपी ओलीले नेतृत्व छाड्ने अहिलेसम्म पनि कुनै छाँटकाँट देखाएका छैनन् ।
बरु आफु निकटका केही युवाहरुलाई अगाडि सारेर ‘केपी ओली आइ लभ यू’ बन्न लगाएका छन् । ओली अहिले बसेको भक्तपुरको गुण्डुमा महेश बस्नेत नेतृत्वको टोलीले ओलीका पक्षमा नारा लगाएका थिए । यसले ओलीले नेतृत्व छाड्न नखोजेको स्पष्ट सन्देश दिइरहेकै छ । तर पार्टी भित्र भने युवा पुस्ताका नेता तथा कार्यकर्ताहरुले पार्टी पुर्नगठनको मुद्धालाई बटम लाइन नै बनाएर अगाडी बढेका छन् ।
उनीहरु सामाजिक सञ्जालदेखि मिडियामा पार्टी पुर्नगठन गर्नुपर्नेमा खुल्ला रुपमै बहस छेँेडेका छन् । पछिल्लो समय ओलीका विश्वासपत्रा मानिएका एमाले सचिव योगेश भट्टराईले बिहिबार सामाजिक सञ्जालमा एक भिडियो सार्वजनिक गर्दै बदलिएको बिद्रोह पछिको अवस्थालाई मनन् गरी पार्टी पुर्नगठन गर्न सबैले साथ दिनु पर्ने बताए ।
एमालेमा योगेश भट्राईलाई तेस्रो पुस्ताका नेताका रुपमा लिइन्छ । खासगरी विगतमा ओलीको विकल्पमा आवाज उठाउने गरेका नेताहरु अहिले पुनः पार्टी पुनर्गठनको बहस तीब्र बनाएका छन् । ओलीको कारबाहीमा परेका नेता कार्यकर्ताहरु पनि पार्टी नेतृत्वको कारण यो अवस्था आइपुगेको बताइरहेका छन् । तर ओलीका खासखान नेताहरु भने उनको रक्षामै देखिएका छन् ।
महासचिव शंकर पोखरेलले त नेतृत्वको आलोचना नगर्न निर्देशन नै दिएका थिए । अध्यक्ष ओली र त्यसपछिका नेताहरुले नेतृत्व परिर्वतन र पार्टी पुर्नगठन नहुने सन्देश दिई रहेका बेला तल्लो कमिटिमा रहेका नेता तथा कार्यकर्ताहरुले भने नेतृत्व परिवर्तनको बहस चर्काे बनाइ रहेका छन् । एमाले युवा नेताहरु प्रकाश पौडेल, सुमन पुरी लगायतका उदयमान् एमाले युवा नेताहरु पनि पार्टी पुर्नगठन हुनु पर्ने पक्षमै छन् । उनीहरुले पनि पार्टी पुनर्गठनको बहसलाई तीब्र बनाएका छन् ।
पार्टीको माथिल्लो कमिटिमा रहेका नेताहरुले नेतृत्वको रक्षा भनिरहदाँ तल्लो कमिटि र युवा नेताहरु परिवर्तन भनिरहेका छन् । यसले आगामी दिनमा जसरी पनि एमालेमा नेतृत्व परिवर्तन र पार्टी पुर्नगठन हुने संकेत देखाई रहेको छ ।
जेनजी आन्दोलनबाट पाठ सिकेर अगाडि बढ्न सके एमालेसंगै मुलुकलाई समेत फाइदा पुग्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । तर नेताहरुको पुरानै हठ कायम राख्ने र पार्टी पुनर्गठन नगरिए आगामी निर्वाचनमा असर गर्ने निश्चित छ ।