
काठमाडौँ । नेकपा एमालेले भाद्र २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले असोज १२ गते पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतको राहदानी रोक्काका लागि सिफारिस गरेको समाचारप्रति हाम्रो गम्भीर आपत्ति जनाएको छ ।
गुण्डुमा आईतवार बसेको पार्टीको केन्द्रिय सचिवालय बैठकले आपत्ति जनाएको हो । 'यसअघि नै गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गरेर र दशैँको मौका पारेर गरिएको यस राजनीतिक प्रतिशोधयुक्त कदमप्रति केन्द्रिय सचिवालय गंभीर आपत्ति प्रकट गर्दछ । यस्ता प्रतिशोधपूर्ण निर्णयले आयोगको विश्वसनीयतामा समेत गम्भीर प्रश्न खडा गरेको छ,' बैठकपछि सञ्चारकर्मीहरुसँग पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले भने।
गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा सङ्लग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै कुनै कारबाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाई गरेको निर्देशनप्रति पनि पार्टीको गम्भीर ध्यानाकर्षण भएको उनले बताए । यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानूनसम्मत क्षेत्राधिकारमाथि मात्रै हस्तक्षेप नगरेको र यसले अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको उनले बताए । पार्टीले यसप्रति गम्भीर आपत्ति प्रकट गर्दै नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न ध्यानाकर्षण गराएको छ ।
ज्ञवालीले थप भने, ‘हालै गृह मन्त्रालयले भदौ २४ को विध्वंशकारी घटनामा सङ्लग्न दोषीहरुलाई पनि जाँचबुझ आयोगको क्षेत्राधिकार भित्र पर्ने भन्दै कुनै कार्बाही अगाडि नबढाउनु भनेर नेपाल प्रहरीलाईल गरेको निर्देशनप्रति पार्टीको गंभीर ध्यानाकर्षण भएको छ । यस निर्देशनले अपराध अनुसन्धान गर्ने नेपाली प्रहरीको कानूनसम्मत क्षेत्राधिकार माथि मात्रै हस्तक्षेप गरेको छैन, यसले अपराधीहरुको मनोबल बढाउने र उन्मुक्ति दिने आपत्तिजनक मनशाय समेत बोकेको छ । पार्टी यसप्रति गंभीर आपत्ति प्रकट गर्दछ र नेपाल प्रहरीलाई निर्वाध काम गर्ने वातावरण सुनिश्चित गर्न गंभीर ध्यानाकर्षण गर्दछ ।'
पछिल्लो घटनाक्रमबारे छलफल गरी आवश्यक निर्णय गर्न केन्द्रीय कमिटीको दशौँ बैठक यही असोज २७–२९ गते काठमाडौंँमा बस्ने र त्यसअघि केन्द्रीय सचिवालयको अर्को बैठक असोज १९–२० मा काठमाडौँमा बस्ने उनले जानकारी दिए ।