काठमाडौँ । नेकपा एमालेका युवा नेता महेश बर्तौलाले अहिले सबै तहमा भय र अनिश्चय सिर्जना भएको बताएका छन् ।
उनले आम नागरिक र राज्यका कर्मचारीहरूले पनि त्रास महसुस गरिरहेको धारणा राखे। उनले सरकारको चरित्र र कार्यप्रणालीले नागरिकको भय हटाउन नसकेको उल्लेख गरे। राजनीतिक अभियन्ताहरूले स्वतन्त्र रूपमा सत्यको वकालत गर्नुपर्ने बेला डर मान्नुपर्ने परिस्थिति बनेको उनको दाबी छ। उनले दण्डहीनता फैलन नदिई विधिको शासन कायम हुनुपर्नेमा जोड दिए।
उनले भनेका छन्, ‘आम मानिसभित्र राज्यका विभिन्न जिम्मेवारीमा रहेका व्यक्तिहरु पनि एउटा त्रासमा, भयमा, डरमा भएको जस्तो हामीले महशुस गरिरहेका छौँ । समग्र राजनितिक अभियान्ताहरु, कार्यकर्ताहरु, नेता वा शुभचिन्तकहरु पनि आफ्ना विचारहरुलाई स्वतःस्फुर्त ढंगबाट सत्यका बारेमा सत्यको वकालत गर्नको लागी पनि कता कता डर मान्नुपर्ने, भय मान्नुपर्ने, त्यो परिस्थिति सिर्जना भइरहेको छ । यसले के देखाउँछ भन्दा सरकारको चरित्रबाट, सरकारको क्रियाकलापबाट नागरिकहरुमा, आम जनताहरुमा डर र भयबाट उहाँहरु मुक्त हुन सकिरहेको छैन । त्यसकारणले गर्दा मेरो आग्रह के हो भने यो चिजबाट मुलुकमा दण्डहीनता मौलाउन सकिँदैन, मुलुक विधिको शासनमार्फत अगाडी जान्छ । परिभाषित जिम्मेवारी जो जे हो, राज्यका अंगहरुले सोही बमोजिम आफ्ना कामहरु गर्न सक्छन्, गर्न पाउँछन्, गर्ने गर्दछन् र गर्न उसले सहज ढंगबाट, निष्पक्ष, स्वतन्त्र ढंगबाट गर्न पाउछन् भन्ने कुराको आश्वासन सरकारमार्फत हुन जरुरी छ । तर घटना क्रमले त्यो देखिरहेको छैन ।’
बर्तौलाले अनाधिकृत व्यक्तिहरूले राज्य संयन्त्रमा प्रवेश गरेर निर्देशन जारी गर्नु लोकतान्त्रिक शासनका लागि अस्वीकार्य रहेको बताए। 'हामी नेपाल' संस्थाका सुधन गुरुङजस्ता व्यक्तिले सरकारी संयन्त्रलाई निर्देशन दिएको घटनालाई उनले निन्दा गरे। उनले ६०-७० वर्षको बलिदानीबाट बनेको संविधान च्यात्ने कि जोगाउने भन्ने द्विविधा आउन दिनु दुर्भाग्यपूर्ण रहेको बताए। उनले यस्तो अराजकता रोक्न सम्बन्धित मन्त्रालय र नेतृत्व नै मुख्य दोषी रहेको औँल्याए।
उनका अनुसार, नेपालको समग्र राजनीतिक कोर्स निर्णायक सङ्कटको बिन्दुमा पुगेको छ। वैधानिक सरकारबाट देश अन्तरिम सरकारको अवस्थामा पुगेको र यो गठन प्रक्रिया असंवैधानिक भएको उनले दाबी गरे। जेन-जी आन्दोलनले निजी लगानीमाथि हमला गरेकाले नेपाल ठूलो आर्थिक सङ्कटमा फस्न सक्ने र अन्तर्राष्ट्रिय विश्वस्नीयता गुमाउने खतरा बढेको उनको आकलन छ। यद्यपि, उनले बाढीपहिरोको समयमा सरकारले देखाएको तत्परताको भने प्रशंसा गरे।
उनले प्रतिशोधको संस्कृति नभई समन्वय र संवादबाट समाधान खोज्नुपर्नेमा जोड दिए।
