News 24 Television
वर्तमान सरकारले चुनाव गराउँछ भन्नु भ्रम मात्रै हो : शंकर पोखरेल

काठमाडौँ । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारले चुनाव गराउन चाहन्छ भन्ने कुरा भ्रम मात्रै भएको बताएका छन् ।

बिहीवार भक्तपुरको गुण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले चुनावको वातावरण बताउनका लागि कुनै पहलकदमी नलिएको जिकिर गरे । सरकारले चुनाव गराउनका लागि राजनीतिक दलसँग कुनै परामर्श नगरेको गुनासो गर्दै पोखरेलले वर्तमान सरकार राजनीतिक दलहरुको परामर्श अनुसार नबनेको भन्दै आपत्ति समेत जनाए ।

महासचिव पोखरेलले भने, ‘यो सरकार चुनाव गराउन चाहन्छ भन्नेकुरा पनि भ्रम मात्रै हो । किनकी सरकारले चुनावको वातावरण कुरामा कुनै प्रकारको पहलकदमी लिएको अनुभुति न नागरिकले गरेका छन् न नेपालका राजनीतिक दलहरुले गरेका छन् । न नेपालका सुरक्षा अंगले नै सरकार शान्ति सुरक्षाको सन्दर्भमा जिम्मेवार र प्रतिवद्ध छ भन्ने कुराको अनुभुति गर्न सकेका छन् । अर्कोतिर म तपाईहरुलाई सुनाउन चाहन्छु २४ गतेको घटना पछि जब हाम्रो अध्यक्षले राजीनामा दिनुभयो । त्यसपछि निकासका सन्दर्भका बारेमा प्रमुख राजनीतिक दलहरु सबैले चाहे नेकपा एमालेको कुरा गरौँ, चाहे नेपाली काँग्रेसका कुरा गर्नुस् । चाहे माओवादी केन्द्रको कुरा गर्नुस् । तीन वटै प्रमुख पार्टीहरुले के भने भन्दा संविधान भित्रैबाट आन्दोलनकारीको मागलाई सम्बोधन गर्नेगरी प्रक्रिया अघि बढाउनु पर्दछ । त्यसका लागि सहयोगी बन्न हामी तयार छौं । तर त्यो हाम्रो सदाशयतालाई उपेक्षा गर्ने काम भयो ।’

उनले संविधान भित्रैबाट सरकार गठनका लागि प्रक्रिया अघि बढाउन प्रमुख राजनीतिक दलहरुले गरेको आग्रहलाई उपेक्षा गर्ने काम सैह्य नहुने चेतावनी समेत दिए । 

प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update