
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार नेपालीको प्रतिनिधि नभएको आरोप लगाएका छन् ।
नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीवार गुण्डुमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै उनले सो जिकिर गरे । वर्तमान सरकार कसैले नछानेको हुनाले यसले नेपालीको प्रतिनिधित्व गर्न नसक्ने ओलीको तर्क थियो । उनले सरकारले आफूलाई काठमाडौं भ्याली छोड्न नपाउने भनेर तमासा देखाएको भन्दै आपत्ति जनाए ।
उनले भने, 'यो सरकार नेपालीको प्रतिनिधि होइन, अन्त कतैको भए थाहा छैन । कसैले छानेको सरकार होइन यो । उहाँहरु एउटा खास उद्देश्यले काम गरिरहनुभएको छ । मेरो पासपोर्ट रोक्का गर्ने ? अर्को तमासा के गर्नु भयो भने काठमाडौं भ्याली, यो डाँडो काटेर बाहिर जान नपाउने । केपी ओली यो डाँडोसम्म जान पाउँछ, पल्ला पटी हेर्न पाईने किन नपाइने । त्यो पनि थाहा छैन । पानीढलको सीमाना वा । यो तमासा नभए, सडक तमासा नभए के हो यो ? सुशीला कार्कीको डरले केपी ओली भाग्छ ? के सोच्या छ ?'
अध्यक्ष ओलीले गृह मन्त्री ओमप्रकाश अर्याललाई सम्हालिएर अघि बढ्न सचेत गराउँदै भने, 'अहिलेको गृह मन्त्रीको त मैले नाम पनि सुनेको थिइन । गृहमन्त्री बाबुलाई धेरै नउत्यालिन, नचम्किन, सम्हालिन सल्लाह दिन चाहन्छु ।'
ओलीले संसद पुनःस्थापनाको माग गरेर अघि बढ्नुको विकल्प नरहेको पनि बताएका छन् । मुलुकलाई सही बाटोमा फर्काउनका लागि विघटन गरिएको संसद तत्काल फिर्ता गर्ने माग अघि बढाउने उनले बताए । अध्यक्ष ओलीले सो मागमा नेपाली काँग्रेस लगायतका सबै दलहरु अगाडि बढ्ने विश्वास समेत व्यक्त गरेका छन् । उनले सो मागलाई अघि नबढाए मुलुक बर्बाद हुने चेतावनी समेत दिए ।
'असंवैधानिक र अलोकतान्त्रिक कदमहरु, क्रियाकलापहरुलाई स्वीकारेर अगाडि बढ्न खोज्यौं भने देश बर्बाद हुन्छ,' ओलीले भने । उनले सो मागलाई अघि बढाउनका लागि समयमै दृढतापूर्वक अघि नबढे पछि पछुताएर बस्नुपर्ने अवस्था आउने चेतावनी दिए ।