
काठमाडौं । रुसको राजधानी मस्कोमा सन् २०२५ नोभेम्बर २४ मा डायमण्ड बटरफ्लाई ओपन यूरेशियन फिल्म अवार्ड आयोजना गरिने भएको छ । विश्वलाई सिनेमाको वास्तविक मिशन सम्झाउनका लागि अवार्ड आयोजना गर्न लागिएको मस्कोको भनाई छ । अवार्ड कार्यक्रममा मूल्य, संस्कृति र सार्वभौमिक सारलाई सम्बोधन गर्दै व्यावसायिक सफलतालाई केन्द्रमा राखिने छ । यो अवार्ड कुनैपनि देशका संस्कृति, इतिहास र परम्पराहरू जोगाउने र आध्यात्मिक मार्गनिर्देशन प्रदान गर्ने चलचित्रहरूको लागि स्थापना गरिएको हो ।
ओपन यूरेशियन फिल्म अवार्ड परम्परागत मूल्यहरूको रक्षा गर्न र आफ्नो राष्ट्रिय संस्कृतिको सम्मान गर्न प्रयास गर्ने मुकुलका लागि आयोजना गर्न लागिएको हो । यो फिल्म अवार्डलाई यसको मापन र महत्वका कारण “अस्कर” अवार्डसँग समेत तुलना गर्न थालिएको छ । यो अवार्डलाई विश्व चलचित्र उद्योगका सबैभन्दा उच्चत्तम पहलहरू मध्येको एक मानिएको छ ।
यो अवार्ड कार्यक्रम यूरेशियन एकेडेमी अफ सिनेमाटोग्राफिक आट्र्सको पहिलो र प्रमुख आयोजना हो, जसले विश्वभरका चलचित्रकर्मीहरूलाई एकत्रित गर्दै सिर्जनात्मकता, सांस्कृतिक संवाद र राष्ट्रिय फिल्म पहलहरूलाई समर्थन गर्ने नयाँ प्लेटफर्म खोल्ने विश्वास गरिएको छ ।
“यस्तो एकेडेमी स्थापना गर्ने विचारले पेशागत समुदायमा ठूलो चासो जगाएको छ। यूरेशियन फिल्म एकेडेमीले केवल राष्ट्रिय फिल्म उद्योग र बजारको विकासलाई प्रोत्साहन मात्र होइन, ठूलो शैक्षिक कार्यक्रम, मास्टरक्लास, विद्यार्थी विनिमय र संयुक्त परियोजनाहरू आयोजना गर्नेछ, जसले युवा फिल्म निर्माताहरु एकअर्कालाई चिन्ने र बुझ्ने अवसर पाउनेछन् ।”, यूरेशियन फिल्म एकेडेमी र नयाँ अन्तर्राष्ट्रिय फिल्म अवार्डको परियोजनालाई समर्थन गर्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले भनेका छन् ।
“सामान्य रूपमा यूरेशियन फिल्म एकेडेमीले चलचित्रको महत्व र हरेक देशका हरेक व्यक्तिको जीवनमा त्यसको प्रभावलाई संरक्षण गर्नेछ।”, फिल्म अवार्डका स्रष्टा निकिता मिखाल्कोभले भने ।
यूरेशियन एकेडेमी अफ सिनेमाटोग्राफिक आट्र्स र डायमण्ड बटरफ्लाई ओपन यूरेशियन फिल्म अवार्ड रूसी संघको संस्कृति मन्त्रालय र रूसी सांस्कृतिक कोषद्वारा स्थापना गरिएको हो । फिल्म अवार्डको आयोजना रूसी सांस्कृतिक कोषले गर्नेछ । यी परियोजनाहरू सन् २०२५ अप्रिल २२ मा मस्कोस्थित निकिता मिखाल्कोभको वर्कशप १२ मञ्चमा सार्वजनिक गरिएको थियो ।
हालसम्म २० भन्दा बढी देशहरूले एकेडेमीमा सहभागी हुन आवेदन दिएका छन्, र कुल ३० वटा चलचित्रहरू दर्ता भएका छन्। सहभागी देशहरूको पूर्णसूची र नामांकन घोषणा सन् २०२५ अक्टोबरमा गरिनेछ ।
विजेतालाई नगद पुरस्कार दिइनेछ । “सर्वश्रेष्ठ चलचित्र विजेताले १ मिलियन अमेरिकी डलर प्राप्त गर्नेछन् । अन्य विजेताहरूले २ लाख ५० हजार अमेरिकी डलर पाउनेछन् । साथै, सबै विजेताहरूलाई अवार्डको प्रतीक “डायमण्ड बटरफ्लाई” प्रदान गरिनेछ ।