
काठमाडौँ । नेकपा एमालेले अन्तरिम सरकार निर्वाचन गराउने बाटोमा नभइ मुलुकलाई अनावश्यक तिक्तता, तनाव र मुठभेडतिर लैजान उद्यत रहेको निष्कर्ष निकालेको छ । शुक्रवार गुण्डुमा बसेको पार्टीको सचिवालय बैठकमा बोल्दै पार्टीका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले यस्तो बताएका हुन् ।
ज्ञवालीले यस अवस्थाको अविलम्व अन्त्य गरी सिंगो देशलाई एक ठाउँमा उभ्याउने वातावरण निर्माण हुनुपर्ने बताए । पार्टीले छिटै महाधिवेशन गरेर महाधिवेशनको माध्यमबाट अहिले उठेका सबै प्रश्नको जवाफ दिने बताए । पार्टीलाई नयाँ ढंगले अघि बढाउन छिटै महाधिवेशन गर्नेबारे छलफल भएको जानकारी दिए ।
मुलुकलाई विभाजित भएको मनिस्थितिलाई जोडेर राष्ट्रिय एकता कायम गर्नेगरी सबै राजनीतिक दलहरुसँग मिलेर एकसाथ अघि बढ्नुपर्ने भए पनि वर्तमान सरकारले त्यसो नगरेको उनले बताए । सरकार दलहरुलाई साथ लिने नभएर निषेधको बाटोमा गएको बताउँदै ज्ञवालीले सरकारमा रहेका मानिसहरु र सरकार बनायौँ भन्नेहरु हिंसाको भाषा बोलिरहेको र राजनीतिक नेताहरुमाथि भौतिक आक्रमणको धम्की आइरहेको बताए ।
प्रहरीलाई कुटीकुटी हत्या गर्ने र प्रहरीका हतियार लुट्नेहरुलाई गृहमन्त्रीको दबाबमा सहजै छोडिदिने र शान्तिपूर्ण ढंगले गतिविधि गर्ने राजनीतिक पार्टीहरुलाई रोक लगाएकोप्रति एमाले गम्भीर रहेको उनले बताए । नेताहरुलाई स्थानहद तोक्ने कुरा पनि गलत भएको उनले बताए ।
बैठक शनिवार बिहान ११ बजेबाट पुनः शुरु हुने जानकारी समेत ज्ञवालीले दिए । शुक्रबारकाे बैठकमा जेन-जी आन्दोलनको पृष्ठभूमि, अन्तर्य र परिणामबारे सघन छलफल गरेको बताउँदै उनले भदौ २३ गते जेन-जी युवाहरुले राखेका आवाजहरु स्वभाविक रहेको बताए । तर शान्तिपूर्ण आन्दोलनभित्र घुसपैठ गराएपछि दुःखद घटना भएको बताए ।