News 24 Television
ओलीले एमाले अध्यक्ष छाड्लान् : कसरी परे नेताहरुको घेराबन्दीमा ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले तत्काल नेतृत्व छाड्ने संकेत गरिरहेका छैनन् । संकटमा आफूलाई साथ दिन ओलीले अपिल गरिरहेका छन् । तर, पार्टीमा अब ओलीले नै विकल्प दिनुपर्ने मत बलियो बन्न थालेको छ, भने पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिनुपर्ने आवाज समेत उठाउन थालिएको छ । 

नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्दा गर्दै प्रधानमन्त्रीबाट राजीनामा दिनुप¥यो । जेनजी आन्दोलनका कारण ओलीले  सत्तामात्रै गुमाएनन्, उनले पार्टी नेतृत्व समेत गुमाउने खतरा बढिरहेको छ । पार्टी सचिवालय बैठकमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अध्यक्षपदबाट ओलीको राजीनामा नै मागिन् । 

शाक्यले राजीनामा मागेपछि यो विषय चर्चामा छ भने ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता नदिन लिएको अडान पनि विस्तारै खुकुलो बन्दै गएको छ । नेताहरुले भण्डारीलाई वेलकम गर्नुपर्ने आवाज राख्न थालेका छन् । 

जसमा सचिवालय सदस्य प्रदीप ज्ञवाली, गुरु बराल र शंकर पोखरेलबाहेकले भण्डारीलाई सदस्यता दिनुपर्ने मत राखे । यसअघि एकस्वरले भण्डारीको सदस्यता रोक्न सहयोग गरेका विष्णु पौडेल लगायतका नेताहरु अहिले भने दिउ न त भन्न थालेका छन् । 

यसले के संकेत गरिरहेको छ भने ओलीको शक्ति खुम्चिदै गएको छ । ओलीमाथि नेताहरुले आवाज उठाउने हिम्मत गर्न थालेका छन् । यि आवाजहरु र नेतृत्वबारे उठेका प्रश्नमा केन्द्रीय समिति हुँदै महाधिवेशनले नै टुंगो लगाउने छ ।

नेताहरुले ओलीको उछितो काढ्ने गरि अभिव्यक्ति दिने आँट नगरेपनि ओलीले लिने निर्णयमा विस्तारै फरक मत भने राख्न थालेका छन् ।

एकछत्र एमालेको नेतृत्वमा आफूलाई उभ्याएका ओलीले केहिदिन पहिले मात्रै जिल्ला अध्यक्षहरुलाई सम्बोधन गर्नेबेलामा नै आफूले सक्नेबेलासम्म नेतृत्व नछाड्ने भनिसकेका छन् । तर, पार्टीमा ओलीलाई नेतृत्व छाड्न दबाब दिने नेताहरुको संख्या बढ्न थालेको छ । यसले पनि एमालेमा अबको केन्द्रीय समिति बैठक र महाधिवेशनले नयाँ विषय र बहस छेड्ने स्थिति बन्न थालेको छ । 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update