News 24 Television
भदौ २३-२४ को घटना सुनियोजित र योजनाबद्ध हो, निष्पक्ष छानविन होस् : देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले भदौ २३ र २४ गतेको घटना सुनियोजित र योजनाबद्ध रहेको बताएका छन् । 

मंगलवार पार्टी केन्द्रिय समितीको बैठकलाई केन्द्रिय कार्यालय सानेपामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यसको पुष्टि घटनापछि आइरहेका तथ्यहरुले प्रमाणित गरिरहेको बताए । उनले जेन-जीले देशमा सुशासन र भ्रष्टाचारमुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गर्नुपर्ने बताए ।

जेन-जीको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नुपर्ने बताउँदै देउवाले यसको यथाशिघ्र थप अध्ययन अनुसन्धान गरिनुपर्ने बताए । यो अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने भन्दै उनले देशमा सबै महत्वपूर्ण अंगहरुको मनोबल गिरेको अवस्था बताए । 

देउवाले भने, ‘ जेन—जीले देशमा सुशासन र भ्रष्टाचार मुक्त वातावरण सुनिश्चित हुनुपर्छ, अभिव्यक्ति स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने जायज मागलाई सम्बोधन गरिनुपर्छ भन्ने मेरो धारणा छ । उहाँहरुको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नुपर्छ। यस विषयमा पनि यो बैठकमा छलफल हुने नै छ । तर यो अकल्पनीय एवं अमानवीय र त्रासदिपूर्णरुपमा भएको घटना आकस्मिक वा स्वतःस्फूर्त भन्दा पनि सुनियोजित र योजनावद्ध नै थियो भन्नेकुरा घटना पछि बाहिर आईरहेका तथ्यहरुले पुष्ठि गर्न थालेका छन् । यसको यथाशिघ्र थप अध्ययन अनुसन्धान गरिनु पर्दछ। यो अनुसन्धान कसैलाई तत्कालिक नाफा घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ। देशमा सबै महत्वपूर्ण अंगहरुको मनोबल गिरेको अवस्था छ । यस अवस्थामा हामीले देशका सबै अंग वा निकायको मनोबल उच्च राख्ने काम गर्नुपर्दछ र अदालत, सुरक्षा निकाय लगायत सबै निकायलाई उच्च मनोबल साथ काम गर्न आह्वान पनि गर्नुपर्दछ ।’

सभापति देउवाले देशका सबै अंग वा निकायको मनोबल उच्च राख्ने काम गनुपर्ने र अदालत, सुरक्षा निकाय लगायत सबै निकायलाई उच्च मनोबल साथ काम गर्न आह्वान गरे ।  साथै भदौ २३ र २४ गते जेन जी आन्दोलनको क्रममा भएका घटनाहरुको सत्य तथ्य छानविन गर्न माग गरे । नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र नागरिकको निजी सम्पतिमाथि तोडफोड लुटपाट र आगजनी गर्नेमाथि छानविन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन उनकाे माग छ । 

 

 

प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update