
काठमाडौँ । नेपालमा पछिल्लो जेन–जी आन्दोलनपछि प्रमुख पुराना राजनीतिक पार्टीहरूमा नेतृत्व परिवर्तन र रूपान्तरणको बहस जोडदार रुपमा उठेको छ । पछिल्लो समय विशेषगरी सामाजिक सञ्जाल र सडकबाट केही वर्षअघि नै (२०७९ सालको आमनिर्वाचनका बेला) ‘नो नट अगेन’ लहरका साथै र ‘स्वतन्त्र’ उम्मेदवारलाई भोल हाल्ने लहर चलेको थियो । यसले नै नेपालका प्रमुख पुराना दलहरूलाई आफ्नो अस्तित्व र सान्दर्भिकतामाथि गम्भीर समीक्षा घचघच्याएको थियो, तर पनि दलहरुले गम्भीर रुपमा लिएनन् । हालैको जेन–जी विद्रोह एवं वितण्डापछि भने दलहरुभित्र युवा पुस्ताले दबाब बढाएका छन् ।
नेपाली काँग्रेसमा यो बहस सबैभन्दा बढी मुखरित र आक्रामक रूपमा देखिएको छ, किनकि यहाँ केन्द्रीय नेतृत्वका लागि खुला प्रतिस्पर्धाको अभ्यास छ । महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा लगायतका दोस्रो पुस्ताका नेताहरूले पार्टीको नेतृत्व पुस्तान्तरण (सभापति शेरबहादुर देउवाबाट नयाँ पुस्तामा) को माग सार्वजनिक रूपमै जोडदार रूपमा उठाइरहेका छन् । गगन थापाले त प्रमुख तीन पार्टी काँग्रेस, एमाले, माओवादी केन्द्रबाट क्रमशः शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिदाइ गर्नुपर्ने अपिल गरेका छन् । यी तीन नेताबीच १० वर्षदेखि ‘म्युजिकल चेयर’ चलिरहेकाले नै देशमा अहिलेको अवस्था सिर्जना भएको दाबी गर्दै उनले तीनवटै नेताहरूले इफ, बट नभनी नेतृत्व छाड्न दबाब दिनुपर्छ भन्ने आग्रहसहित ती दलका सदस्यहरुमाझ अपिल गरेका छन् । भदौ २३–२४ अघिको र पछिको नेपालको अवस्था फरक रहेको भन्दै उनले बुढा नेताहरुलाई सम्मानपूर्वक बिदाइ गरेर संवादको नयाँ वातावरण प्रारम्भ गर्न अपिल गरेका छन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पनि हालका सबै राजनीतिक दलहरूमा पुनर्गठन र रूपान्तरण अनिवार्य रहेको धारणा व्यक्त गरेका छन् । जेनजी प्रदर्शनका क्रममा घाइते भएकी पत्नी रविलक्ष्मी चित्रकारको उपचारका लागि नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा रहेका खनालले प्रत्येक पार्टीमा वैचारिक, सङ्गठनात्मक र नीतिगत दिशामा नयाँ धरातलबाट उठाउन पुनर्गठन आवश्यक रहेको र यो युगको माग रहेको बताएका छन् ।
जेन–जी आन्दोलनबाटै सत्ताच्युत भएको नेकपा एमालेमा पनि भित्रभित्रै नेतृत्व परिवर्तन र रुपान्तरणको माग बलियो बनेको छ, यद्यपि अध्यक्ष केपी ओलीलाई खुला चुनौती दिन सकिरहेका छैनन् । ओलीले चाहिँ आफूले सकुन्जेल एमालेको नेतृत्व नछाड्ने बताइरहेका छन् । यसबारे आईतवार ओलीकै निवासमा शुरु भएको सचिवालय बैठकमा छलफल गरिने बताइएको थियो । बैठकले पार्टीको ११औं राष्ट्रिय महाधिवेशन मंसिर २५ देखि २९ सम्म चितवन वा काठमाडौँ उपत्यकामा नै आयोजना गर्ने निर्णय गरेको छ । महाधिवेशनमार्फत नै नयाँ नेतृत्व चयन, राजनीतिक प्रतिवेदन पारित र संगठनात्मक रणनीति निर्माणमा केन्द्रित हुने एमालेको तयारी छ ।
उता नेकपा माओवादी केन्द्रभित्र पनि नेतृत्व हस्तान्तरणको माग बलियो बनेपछि प्रचण्ड विशेष महाधिवेशन तय गरिसकेका छन् । उनले अध्यक्ष पद त्यागेर महाधिवेशन आयोजक समितिको संयोजकको रुपमा काम गरिरहेका छन् । यद्यपि आगामी महाधिवेशनबाट पुनः आफै अध्यक्षमा आउँछन् या अर्को पुस्तालाई अघि सार्छन्, यसबारे विभिन्न अनुमान भइरहेका छन् । तर पनि जेन–जी आन्दोलनको मर्म र युवा नेताहरुको भावनाअनुरुप विशेष महाधिवेशनमा जाने उनको निर्णयको भने प्रशंसा भइरहेछ । यससँगै राप्रपाको संस्थापन इतर (महामन्त्री डा. धवल शमशेर जबरा) पक्षले मंसिर १८ गतेभित्रै महाधिवेशनको मिति तोकिसक्न पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई अल्टिमेटम दिएका छन् । आइतबार जबरा पक्षधर नेताहरूको भेलापछि उनले महाधिवेशनको मिति तोक्नुपर्ने, कारबाहीमा परेकाहरूको कारबाही फुकुवा गर्नुपर्ने र पार्टीमा एकता कायम गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
जेन–जी आन्दोलनको मुख्य माग नै वृद्ध नेताहरूलाई बिदा गर्ने र मुलुकलाई सक्षम युवा नेतृत्व तथा सुशासन दिलाउने थियो । बुढा नेता एउटै शैलीमा देश चलाएको, व्यक्तिवादी वा पारिवारिक पकड राखेको, पुराना, परम्परागत र असान्दर्भिक कार्यशैली त्याग्न नसकेको सवाल उनीहरुले उठाए । कि त समयसापेक्ष नेतृत्व परिवर्तन र वैचारिक रूपान्तरण गर, होइन भने मतदाताले वैकल्पिक (स्वतन्त्र) शक्तिलाई रोज्न सुरु गरिसकेका छन् भन्ने सन्देश पछिल्लो आन्दोलनले दिएको छ ।