News 24 Television
तुरुन्तै नछोड्ने मुडमा देउवा, कार्यबाहकको जिम्मा पूर्णबहादुर खड्कालाई

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा दम्पती जेनजी आन्दोलनपछि मंगलबार पहिलो पटक सार्वजनिक भए । भदौ २४ गते आन्दानलको क्रममा देउवा दम्पति जेनजीको आक्रमणमा परि घाइते भएका थिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्जजनिक भएका देउवाले  देउवाले केन्द्रीय कार्य समिति बैठकसमक्ष भावुक र सन्देशमुलक सम्बोधन गरे ।

पार्टीको आगामी १५ औं महाधिवेशनपछि आफूले चाहेर पनि पार्टी सभापति बन्न नमिल्ने देउवाले स्पष्ट गरे । यद्यपि तत्कालका लागि कार्यवाहक सभापतिको जिम्मेवारी भने पूर्णबहादुर खड्कालाई सुम्पिएको घोषणा गरे ।

भदौँ २४ गते जेनजीको भौतिक आक्रमणमा परेका नेपाली कांग्रेसभा सभापति शेरबहादुर देउवा ३४ दिनपछि मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा देखिए । 

पत्नी आरजु राणालाई साथमा लिएर पार्टी केन्द्रीय कार्यसमिति बैठकमा पुगेका देउवामा कुनै कुनै नैराश्यता थिएन । नियमित गेट भन्दा दोस्रो गेटको प्रयोग गरेर पार्टी कार्यालय पुगेका देउवालाई उपसभापति पुर्णबहादुर खड्काले बैठक कक्षसम्म पु¥याएका थिए । जहाँ कांग्रेसका नेताहरु देउवाको पर्खाइमा थिए । 

एक महिना भन्दा बढि समय सार्वजनिक रुपमा देखा नपरेका देउवा पार्टी बैठकमा पुग्दा आम चासो स्वभाविक थियो । तर त्यो भन्दा महत्वपुर्ण पक्षका रुपमा देउवाको सम्बोधनलाई लिइएको थियो । 

कांग्रेस महामन्त्रीद्घय गगन थापा र विश्वप्रकाश शर्मा देउवाको सम्बोधन चासो पुर्व सुनिरहे । जेनजी आन्दोलनले पाका नेतालाई राजनीतिक रुपमा विश्राम लिन सबक सिकाएको विषय कांग्रेस इतर पक्ष चर्को रुपमा उठाइरहेका थिए ।

त्यसैले उनीहरु देउवाले पार्टी जीवनबाट विश्राम लिएको सुन्न आतुर देखिन्थे । तर देउवाले आगामी १५ औं महाधिवेशनबाट आफू सभापति हुन नमिल्ने बैधानिक ब्यवस्था नै रहेको स्पष्ट गरे । साथै, उनले उपसभापति पुर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिएको घोषणा गरे । 

१५ औं महाधिवेशनबाट अर्को सभापति बन्नेमा कुनै द्विविधा नभएको देउवाले स्पष्ट गरे पनि महाधिवेशन कहिले गर्ने उल्लेख गरेनन् । 

पार्टी विधानतः कांग्रेसको १५ औँ महाधिवेसन आगामी मंसिरमा भइसक्नुपर्ने हो । तर जेनजी आन्दोलनपछि कांग्रेसमा यतिबेला विशेषगरी नेतृत्व परिवर्तन र विशेष महाधिवेसनका विषय गर्माएका छन् । संस्थापन इतर पक्ष महाधिवेसन प्रतिनिधिको ५२ प्रतिशत हस्ताक्षर सहित विशेष महाधिवेसनमा जोड दिइरहेको छ । कांग्रेसमा विशेष महाधिवेसन आह्वान गर्न ४० प्रतिशत हस्ताक्षर आवश्यक पर्छ । 

कांग्रेसमा विशेष महाधिवेसन की नियमित महाधिवेसन भन्ने विषय बहसमा छ । विकसित राजनीतिक घटनाक्रम अनुसार युवा पंक्ति अर्थात् तेस्रो तहका नेताहरुले तत्काल देउवाको विश्राम चाहेपनि नियमित महाधिवेसनको सम्मुखमा विशेष महाधिवेसनको मुद्धा आवश्यक नरहेको बताइरहेका छन् । 

विशेष महाधिवेसनबाटै नेतृत्व परिवर्तनमा इतर पक्षको जोड भएपनि सभापति देउवा अनिच्छुक देखिएका छन् । देउवा माथिको भौतिक आक्रमण लगायतका विषय देखाउँदै संस्थापन पक्षका नेताहरु नियमित महाधिवेसनकै पक्षमा उभिएका छन् ।

सभापति देउवाले विधान अनुसार आगामी महाधिवेसनबाटै पार्टी राजनीतिबाट विश्राम लिने घोषणा गरेका छन् । तर महाधिवेशन कहिले गर्ने निश्चित भइसकेको छैन ।

देउवाले भावी सभापतिमा कसलाई अघि सार्छन् यकिन छैन । तर पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका कारण देउवाले भावी सभापतिमा उनैलाई अघि सार्ने सम्भावना देखिएको छ । यता, इतर पक्षका नेता शेखर कोइराला र गगन थापाले सभापतिको उम्मेदवार बन्ने दाबी गरिरहेका छन् ।

 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  ०८:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update