
काठमाडौं । नेकपा एकिकृत समाजवादी र नेकपा माओवादी केन्द्र तत्कालै पार्टी एकता गर्ने तयारीमा छन् । कात्तिक महिना भित्रै पार्टी एकता हुने दाबी नेताहरुको छ ।
पार्टी एकताका लागि दुवै दलको वार्ता टोली सक्रिय छ । आगामी निर्वाचनमा सहभागी हुन कात्तिक महिना भित्रै निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने अनिर्वाय व्यवस्था भएका कारण त्यसअघि नै माओवादी लगायतका दल संग एकता गरेर अगाडी बढ्ने दाबी नेकपा एसका वार्ता टोली संयोजक बेदुराम भुसालको छ । तर केही नेताहरुले भने माओवादीसँग पार्टी एकता गर्न हतारो गर्न नहुने पक्षमा छन् ।
जेनजी आन्दोलनपछि राजनीतिक दलहरुमा पुर्नगठन र नेतृत्व परिर्वतनको कुरा जोड्तोडले उठिरहेको छ । यो आवाज ठुलादेखि साना सबै राजनीतिक दलहरु भित्र छ । विघटित संसदको अंङ्कगणीतका हिसाबले नेकपा एकिकृत समाजवादीलाई सानो दलको रुपमा लिइन्छ । नेकपा एसमा पनि अहिले नेतृत्व परिवर्तन र पार्टी पुर्नगठनको आवाज उठि नै रहेको छ । तर नेतृत्व परिवर्तन र पार्टी पुर्नगठन भन्दा पनि पार्टी एकताको आवाज यो पार्टीमा चर्काे स्वरमा उठेको छ । केही दिन अगाडी बसेको पार्टी सचिवालय बैठकले बरिष्ठ नेता बेदुराम भुषालको संयोजकत्वमा वार्ता टोलि गठन गरेको थियो ।
वार्ता टोलिमा बरिष्ठ नेता प्रमेश हमाल र उपाध्यक्ष प्रकाश ज्वाला सदस्य छन् । उनीहरुले पार्टी एकताबारे माओवादी सहितका दलहरुसंग छलफल जारी राखेका छन् । संयोजक भुषालका अनुसार आफुहरुको माओवादी केन्द्रसंग सैद्धान्तिक र बैचारीक हिसाबले एकरुपता भएको र कतिपय कुराहरुमा विगतमा भन्दा फरक ढंगले जानेगरी सहमति भएको छ ।
माओवादलाई मार्गदर्शक सिद्धान्त नमानी, माक्सवाद र लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने, पार्टीको नाम माओवादी नराख्ने, नेकपा राख्ने र माओवादीको ठाउँमा अरु शब्द राख्ने विषयमा सहमति जुटिसकेको छ । अबको लक्ष्य बैज्ञानीक समाजवाद हुने बिषयमा पनि सहमती भइसकेको भुषालको भनाइ छ । सैद्धान्तिक र बैचारीक कुराहरु मिलेपनि संगठनामाात्क संरचना र नेतृत्वको कुरामा छलफल भैरहेको र अब चाँडै नै टुङ्गो लगाउने दाबी भुषालको छ ।
फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन मिति तय भएको र त्यसकालागि कात्तिक ३० गते भित्र निर्वाचन आयोगले दल दर्ता गर्ने अन्तिम मिति तोकेकाले अगामी निर्वाचनमा नै एकै दल भएर जानेगरी पार्टी एकता गर्ने तयारीमा समाजवादी छ ।
माओवादी केन्द्रसँग मात्र नभई निर्वाचन अगाडी नै विचार मिल्ने अरु वामपन्थी दलहरु संग पनि वृहत पार्टी एकता गरेर अगाडी बढ्ने तयारी समाजवादीको छ । त्यसका लागि अन्यदलहरु संगको पनि छलफललाई तिव्रता दिईएको वार्ता टोलिका सदस्य समेत रहेका पार्टी उपाध्यक्ष प्रकाश ज्वाला बताउँछन् ।
पार्टी एकताको कुरामा सकरात्मक भए पनि हतारमा पार्टी एकता गर्न नहुने आवाज पनि नेकपा एस भित्र छ । पार्टी एकता गर्दा हतारमा नभई बिचार, सिद्धान्त, नेतृत्वको बिषयमा घनिभुत छलफल हुनुपर्ने आफुहरुको भनाई रहेको पार्टीको उपाध्यक्ष रहेकी जयन्तीदेवी राई बताउँछिन् । पार्टी भित्रका सबै नेताहरुलाई सम्मान हुने गरी पार्टी एकता गर्नु पर्ने अन्यथा विगतकै घटनाहरु हुन सक्ने भय उनीहरुको छ ।
नेकपा एसमा माधव नेपाल सहितका नेताहरुले माओवादी संग पार्टी एकतालाई प्राथामिकता दिइरहदाँ पार्टीको नेपालपछिको बरियतामा रहेका झलनाथ खनाल र महासचिव घनश्याम भुषाल समूहले भने पार्टी मजबुत बनाउने कुरालाई प्राथमीकता दिनुपर्ने बताई रहेका छन् ।
खासगरी खनाल र भुसाल समूह आहुती, विप्लव सहितका साना कम्युनिष्ट पार्टीसंग पार्टी एकता गरी नयाँ पार्टी निर्माणको अभियानमा भित्रभित्रै लागिरहेका छन् । रामकुमारी झाँक्रीसहितका कतिपय नेताहरु त एमालेमै फर्किनुपर्ने पक्षमा छन् ।
कतिपयले एमालेमा आगामी दिनमा ओलीको नेतृत्व नहुने भएकाले एमालेसँग नै एकता अघि बढाउनुपर्ने लाइनमा छन् । गत शनिबार रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी ओलीसंग गुण्डुमै पुगेर भेटवार्ता गरेको थिइन् ।
एमाले सचिवालय बैठकमा समेत नेकपा समाजवादीमा रहेका र एमालेमा नै फर्कीन चाहानेहरुलाई कसरी ब्यवस्थापन गर्ने भन्ने बिषयमा केही छलफल समेत भएको थियो । पछिल्लो राजनीतिक अवस्थालाई हेर्दा एकीकृत समाजवादी, माओवादी केन्द्र, एमाले लगायतका कम्युनिष्ट पार्टीहरु को कता एकतामा हुन्छ, यकिन छैन तर आगामी निर्वाचनअघि नै कम्युनिस्ट पार्टीहरु ध्रुवीकरणको दिशामा अघि बढ्ने चाँही निश्चित छ ।