
काठमाडौँ । दीपावली पर्वको संघारमा पर्वत कुश्मास्थित बान्द्रेबिडीचौरमा नेपालको चर्चित ब्याण्ड 'दी एक्स' ले आफ्नो लाइभ प्रस्तुति दिएको हो ।
पर्वत कुश्माका केही स्थानीय सचेत युवाहरूको संस्था 'शिवालय युवा विकास मञ्च'ले चाडबाडको छेकोमा उनीहरूको भव्य लाइभ कन्सर्ट आयोजना गरेको हो । युवाहरु माझ निकै चर्चित रहेको 'दी एक्सको कुश्मामा पहिलो प्रस्तुति हो । ब्याण्डले कुश्मामा दर्जन बढी आफ्ना हिटगीतहरू श्रोता दर्शकका बीच प्रस्तुत गरेको थियो । प्रस्तुति हेर्न बागलुङ, बेनी, पोखरादेखि एक्सका श्रोता दर्शक, प्रसंसकहरूको बाक्लो उपस्थित थियो ।
सन १९९३ मा काठमाण्डौ मैतिदेविका स्थानीय युवाहरूको साङ्गीतिक मोहकै कारण यस व्याण्डको स्थापनना भएको थियो । हाड रक गीतहरू गाउँदै आफ्नो संगीत यात्रा प्रारम्भ गरेको व्याण्डले धुँवा एल्बमबाट आफ्नो परिचय विस्तार गरेको थियो । पप, पंक, स्फ्ट व्लुज, लोक रक हुँदै विविध समसामयीक र प्रयोगशील गीत संगीतहरू पस्कदै आएको ब्याण्डका हालसम्म सात एल्बम प्रकाशित छन । धुँवा, माझीदाई, फर्केर हेर्दा, भडास, सीमाना उनीहरूका प्रकाशित चर्चित कृतिहरू हुन । व्यान्डले अहिले ३३ वर्षको आफ्नो गौरव र किर्तिमानी यात्रा पार गरिसकेको छ ।
'एउटा चिठिको साहारले, ठाडो जाने उकालो, चियाबारीमा, फर्केर हेर्दा, लुक्न देउ, सीमाना लगायतका प्राय आफ्ना हिट गीतहरू उसले कार्यक्रममा प्रस्तुत गरेको थियो । प्राय गीतहरूले 'वान्स मोर' पाइरहे । करिव डेढ घण्टाको प्रस्तुतिमा एक्सले दर्जनबढी गीतहरू प्रस्तुत गरेर दर्शकलाई नचाइ रह्यो । व्याण्डमा शिव मुखिया भोकल, सुरेन श्रेष्ठ ड्रम र सजल राजभण्डारीले गीतारमा चामत्कारिक प्रस्तुति दिएका थिए ।
स्थानीय कला, संस्कृति, सामाजिक विकास र मनोरञ्जनलाई प्रवद्र्धन गर्ने उद्देश्यले कन्सर्ट आयोजना गरिएको मञ्चका अध्यक्ष संविधान गिरीले जानकारी दिए । उनले भने ' कुश्मा अब सानो सहर रहेन । यहाँ नलेखिएका अनेकौं विषय छन, नबोलिएका, नदेखिएका कला संस्कृति छन । पर्यटनको सम्भावना उस्तै छ । हामी निकट भविष्यमा सबै विषय क्षेत्र, प्रतिभा क्षमता अट्ने कार्यक्रम र प्रस्तुति लिएर आउने छौं । सबै सँगै यात्रा गरौं भन्ने संदेश संस्थाले लिएको छ ।
कार्यक्रमको आयोजक संस्थाले 'बान्द्रेवेणी चौर संरक्षण' को संकल्पका साथ कार्यक्रम आयोजना गरेको हो । कार्यक्रमको पहिलो चरणमा स्थानीय रिदम ब्याण्ड लगाएत नेपाल आइडलका विजेता गंगा सोनाम, डान्सर र गायक दिपेन्द्र सोनाम र अन्य प्रतिभाको समेत प्रस्तुती रहेको थियो ।
ससुल्क टिकटमा आयोजना गरिएको कार्यक्रम मार्फत संकलित रकम सामाजिक तथा सामुदायिक विकासका विभिन्न क्षेत्रमा पूर्ण पारदर्शी भएर खर्च गरिने आयोजकले जनाएको छ ।