 
                                                                    दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–५ स्थित लटिनाथ मन्दिर जयपुरमा २०८२ को कार्तिक शुक्ल नवमीका दिन रात्रिकालीन जात्रा लागिरहेको छ । लेकम क्षेत्रकै मालिकार्जुन धामपछि ठूलो जात्रा लाग्ने जयपुरमा देशविदेशबाट भक्तजनहरु पूजा आराधनाका लागि जात्रामा सरिक हुने गर्दछन् ।
दार्चुलाको लेकम गाउँपालिका –५ स्थित लटिनाथ मन्दिर जयपुरमा रात्रिकालीन जात्रा लागिरहेको छ । जयपुर मन्दिर वरिपरिका गाउँटोल देखि भक्तजनहरु ठूलाठूला दमाहा बजाएर मन्दिर परिसरमा पुग्ने गर्दछन् । रातभरि रमाइलो गर्ने गरिन्छ ।
जात्रा सुरु हुनुपूर्व दिउँसोतिर भण्डारी घरबाट भराण देवताका गरगहना छात, गजुर, भला, कुणी, डोलीआदि लिएर मन्दिर परिक्रमा गरी दमाहा बजाउँदै जात्रा आरम्भ गरिन्छ। निर्धनीलाई धन र सन्तान नभएकालाई सन्तान वर दिने विश्वास रहेको जयपुर देवतालाई बरदानी देवका रुपमा भक्तजनहरुले मान्ने गर्दछन् भने, जात्राको लागि टाढाटाढाबाट आउने गर्दछन्।
यस्तै जयपुर मन्दिरमा पनि जात्रा सुरु भएको छ भने जयपुर का वरदानी अर्थात् लटिनाथ देवता (तलाईमाण्डु मार्मा,बन्तोली र जयपुर ) का धामी पुष्कर सिंह धामी ले जयपुर विजयपुर भएको उल्लेख गरेका छन्।
यस पटकको जात्रा व्यवस्थापनको लागि मन्दिर व्यवस्थापन समिति निकै सक्रिय रहेको र भक्तजनहरुले चढाएको भेटीको सदुपयोग गर्दै जात्रालाई भव्य सभ्य बनाउन लागि परेको मन्दिरका आधिकारिक व्यक्ति भण्डारी उमाकान्त विष्टको भनाइ छ ।
सुदूरपश्चिम तथा दार्चुलाकै ऐतिहासिक पर्यटकीय धार्मिक गन्तव्य लटिनाथ जयपुरको जात्रालाई सभ्य भव्य बनाउन जिल्लाको सुरक्षा समिति सक्रिय रहेको छ । लेकमको ऐतिहासिक धार्मिक स्थलमा जात्रा अवधिभर पालिकाले गर्नुपर्ने दायित्व पूरा गरेको लेकम गाउँपालिका अध्यक्ष राम दत्त जोशी बताउछन् ।
सुदूरपश्चिमको दार्चुला जिल्लाको लेकम क्षेत्र’मा प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीया देखि पूर्णिमासम्म विभिन्न शक्तिपीठ,मठ र मन्दिरहरुमा रात्रिकालीन जात्रा लाग्ने गर्दछ। जसमध्ये जयपुरको जात्रालाई महत्वका साथ लिइने गरिन्छ ।
ऐतिहासिक कथन अनुसार मालिकार्जुन देवताका ज्येष्ठ पुत्र लटिनाथ देवताको रैथान मार्मा गाउँपालिकाको तलाईमाण्डौमा रहे पनि छिपुलकेदारसंगको लडाइमा लटिनाथले मालिकार्जुनलाई महत्वपूर्ण सहयोग गरेकाले लेकम क्षेत्रमा यस देवताको महत्व बढी रहेको छ ।
सुदूरपश्चिम प्रदेश आफैंमा देवभूमि रहेको र हरेक गाउँ टोलमा विभिन्न संस्कृति रहेको भएपनि सम्बन्धित निकायले ध्यान दिन नसक्दा यस्ता ऐतिहासिक स्थलहरुमा राष्ट्रिय अन्तराष्ट्रिय हिन्दू धर्मावलम्बीहरुलाई निरन्तर आकर्षित गर्न भने सकिएको छैन ।
 
                                     
                                                                    
 
                                                 
                                                 
                                                 
                     
                     
                     
                     
                     
                    