काठमाडौँ । गायक डा. प्रकाश पौडेलको रमाइलो जनराको गीत ‘बुढाबुढी’को म्युजिक भिडियो सार्वजनिक भएको छ । कुनै समयको बहुचर्चित गीत ‘नाइ मलाई त्यही केटी चाहिन्छ’ बोलको गीतका सर्जक गायक पौडेलले नेपाली संगीत क्षेत्रमा लागेको २५ वर्ष पूरा भएको अवसरमा शुक्रबार नयाँ गीत बजारमा ल्याएका हुन् ।
गीतमा शब्द र स्वर स्वयं प्रकाश पौडेलको रहेको छ भने अन्य प्रतिभाशाली कलाकारहरूले संगीत सिर्जनामा साथ दिएका छन् । जसमा दीपराज नेयोङहाङले सङ्गीत भरेका छन् भने सुरज श्रेष्ठले एरेन्ज गरेका छन् ।
वरिष्ठ सञ्चारकर्मी एवं निर्देशक सुव्रत आचार्यले निर्देशन गरेको आकर्षक म्युजिक भिडियोमा साक्षी लम्साल, कमल सिंह र स्वयं प्रकाश पौडेल फिचर्ड छन् ।
उत्सव दाहालले छायाङ्कन गरेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका छन् । यो गीतको रिलिजले पौडेलको २५ वर्षे लामो र सफल सांगीतिक करियरलाई भव्यताका साथ मनाएको छ ।
