काठमाडौँ । दक्षिण एशियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले काठमाडौँको दरबार हाई स्कुलबाट सामुदायिक आपत्कालीन तयारी सुदृढ गर्ने उद्देश्यका साथ शिक्षक तथा विद्यार्थीहरूलाई सिपीआर (CPR) र चोकिंग प्राथमिक उपचार तालिम प्रदान गर्दै आकस्मिक सामुदायिक रेस्पोन्स टूलकिट (Community Emergency Response Toolkit: CERT) को उद्घाटन गरेको छ। सार्वजनिक विद्यालयमा पहिलोपटक आयोजना गरिएको हातले मात्र दिइने सिपीआर र चोकिंग तालिमले नेपालका समुदायहरूमा आपत्कालीन तयारी सुदृढ गर्ने दिशामा महत्त्वपूर्ण आधार स्थापित गर्ने लक्ष्य लिएको छ।
-1763638044.jpeg)
हाप्सा नेपालले 'सडक साथी' नामक संस्थाको प्राविधिक सहयोगमा विकास गरेको 'CERT' मोबाइल एप औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो एपले नेपाली भाषामा घाँटीमा वस्तु अड्किएको (चोकिंग), रक्तस्राव नियन्त्रण, जलन, फ्र्याक्चर समायोजन, कार्डियाक एरेस्ट लगायतका आपतकालीन अवस्थामा गरिने प्राथमिक उपचार र चोटपटकको हेरचाहका सरल तथा व्यावहारिक भिडियोहरू उपलब्ध गराउनेछ। ग्लोबल हेल्थ मिडिया प्रोजेक्टले निर्माण गरेका यसका सामग्रीहरूलाई हाप्सा नेपालका संस्थापक डा. रामु खरेल लगायत अन्तर्राष्ट्रिय आपतकालीन चिकित्सकहरूको विशेषज्ञतामा नेपालको ग्रामीण तथा शहरी दुवै सन्दर्भमा उपयोगी हुनेगरी अनुवाद र अनुकूलन गरिएको छ।
एप उद्घाटनपछि ५० जना शिक्षक र विद्यार्थीहरूले व्यावहारिक सिपीआर र चोकिंग प्राथमिक उपचार सत्रमा सहभागिता जनाएका थिए। हाप्साका प्रतिनिधिहरूका अनुसार कार्डियाक एरेस्ट वा चोकिंगको क्षणमा छिटो गरिने उचित रेस्पोन्स जीवनरक्षक हुनसक्छ र अब यो कार्यक्रम प्रहरी तथा अन्य अग्रस्थानका प्रतिक्रियादाताहरूसँगै विद्यालयहरूमा पनि विस्तार गरिनेछ।
-1763638044.jpeg)
हाप्सा नेपालले हालसम्म ६५० भन्दा बढी सशस्त्र प्रहरीलाई तालिम दिइसकेको र शिक्षा मन्त्रालयसँग मिलेर सिपीआर र चोकिंग उपचार तालिमलाई सरकारी विद्यालयको राष्ट्रिय पाठ्यक्रममा समावेश गर्ने दिशामा कार्य गरिरहेको संस्थापक डा. खरेलले जानकारी दिए।

