
- एलिसा अर्याल
काठमाडौँ । देशैभरीबाट सहकारीपीडितहरु काठमाडौंमा आएर आफ्नो बचत फिर्ता नपाएको गुनासो केन्द्र सरकारलाई सुनाइरहेका छन् । लघुवित्त पीडितहरु पनि सरकारसँग न्याय माग्न भन्दै पैदल हिडेर सोमवार काठमाडौं आइपुगेका छन् । वैंक तथा वित्तीय संस्थाहरुविरुद्ध कुनै न कुनै समूहले पनि जेहाद छेंडिरहेको छ । उद्योग वाणिज्य महासंघ नै यसअघि वैंकहरुको ब्याजदरविरुद्ध सडकमा उत्रिएको थियो । यहिबीच विभिन्न बैंकहरु पनि धराशायी बन्न पुगेको कुरा चर्चामा आएको छ । त्यसमध्येको एक हो, एनआईसी एशिया बैंक । तर उसले मिडियाहरुले अफवाह फैलाएको भन्दै खण्डन गर्दै आएको छ । वास्तविकता के हो ?
केही दिनयता राष्ट्रिय दैनिक पत्रपत्रिकादेखि अनलाइन मिडियाहरुमा देख्न सकिन्छ, ठूल्ठूला अक्षरमा ‘म एक जिम्मेवार नागरिक हुँ’ भनी लेखिएको एनआईसी एसिया बैंकको विज्ञापन । देश बनाउने जिम्मेवारीसमेत बोकेको उल्लेख गर्दै बैंकका सेवाग्राहीसँग याचना गरिएको छ–हल्लाको पछाडी नलाग्न अपिल गरिएको छ । तर ब्याज वृद्धि, ऋण लगानी, निक्षेप संकलन उपकरण र धितो लिलामीमा एनआइसी एसिया बैंकले अव्यवसायिक गतिविधि देखाउँदा बैंक थप संकटमा फसेको भने निश्चित हो । एनआइसी एसिया बैंकबाट बचतकर्ताले आफ्नो निक्षेप रकम निकाल्ने क्रम बढेको छ । बैंक डुब्न लागेको विषय चर्चामा रहेका बेला बचतकर्ता आत्तिएर आफ्नो पैसा निकाल्न थालेका छन् । निक्षेपकर्ताले आफ्नो रकम असुरक्षित महशुस गरिरहेका छन् । यद्यपी नेपाल राष्ट्र बैंकले बजारको हल्लालाई गलत भनेको छ । तर कर्जा प्रवाह गर्दा नियम उल्लङ्घन गरेको विषयमा भने राष्ट्र बैंकले अनुसन्धान गरिरहेको छ ।
विगतमा पनि सरकारले सहकारी डुब्दैन भन्दै गर्दा पनि सहकारीमा रकम फसेको अनुभव बोकेका सर्वसाधारणले राष्ट्र बैंकको भनाइप्रति विश्वास गर्न सकिरहेका छैनन् । कर्जा प्रवाहमा गरेको उलङ्घनले राष्ट्रबैंकको अनुसन्धानमा तानिएको एनआईसी एशिया छिट्टै डुब्दैछ भनी ब्यवसायी दुर्गा प्रसाईँले सार्वजनिक अभिब्यक्ति दिएपछि सनसनी फैलिएको हो । राष्ट्र बैंकको इन्सपेक्सन, बैंकका डेपुटी सीइओको राजीनामा, बैंकको शाखा बन्द गर्न दिएको निवेदन र खराब कर्जाका विषयहरू सतहमा आउँदा सर्वसाधारणमा त्रास बढेको छ ।
किन आत्तिए निक्षेपकर्ता ?
– बैंकले राष्ट्र बैंकको नियम नमानेको ।
– राष्ट्र बैंकले कारबाही गर्ने भएपछि बैंकको डेपुटी सीईओले राजीनामा दिएको ।
– राष्ट्र बैंकमा गलत विवरण पेस गरेको ।
– कर्जा प्रवाह गर्दा नियम उल्लङ्घन गरेको ।
यी सबैं विषय बाहिरिएपछि निक्षेपकर्ताले एनआईसी एसिया बैंकबाट पैसा निकाल्नु नै उचित विकल्प मानेका छन् । अझ बैंकले आफ्ना शाखाहरु बन्द गर्न राष्ट्र बैंकमा निवेदन दिएपछि बैंकमाथिको विश्वास धरमराएको हो । हालै सार्वजनिक एक तथ्यांक अनुसार एनआइसी एशिया बैंकबाट एक महिनामै १४ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । समग्र वाणिज्य बैंकको निक्षेप १२ अर्ब रुपैयाँले बढ्दा एनआइसी एशिया बैंकको भने निक्षेप उल्लेख्य रुपमा घटेको छ । नेपाल बैंकर्स संघले उपलब्ध गराएको निक्षेप विवरणअनुसार एनआईसी एसियाको पुसमा ३ खर्ब ८१ अर्ब ४० करोड रुपैयाँ थियो । तर, माघमा भने ३ खर्ब ६७ अर्ब ६८ करोडमा खुम्चिएको छ । वाणिज्य बैंक क्षेत्रको निक्षेप करिब १२ अर्ब रुपैयाँले बढ्दा एनआईसीको भने घटेको हो । बैंकहरुको माघमा ५४ खर्ब २९ अर्ब ६९ करोड रुपैयाँ निक्षेप थियो । तर, माघमा ५४ खर्ब ४१ अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।
एनआईसी एसियालाई किन छ विश्वासको संकट ?
–ओभर भ्यालुएसन गरेर ग्राहकलाई कर्जा दिने र कर्जाको किस्ता बुझाउन केही ढिला भएपछि धितो लिलामीको नाममा जफत गर्ने गरेकाले ।
–बैंक तथा वित्तीय संस्थामध्ये एनआईसी एसिया बैंकले ऋणको घरजग्गा कब्जा गरेपछि सबैभन्दा बढी मुद्दा खेपिरहनु परेकाले ।
–किस्ता तिर्न ढिलो भएका ऋणीको घरमा सुरक्षागार्ड राखेर मानसिक यातना र सामाजिक बेइज्जती गरेकाले ।
–बैंकका कर्मचारीकै मिलेमतोमा नक्कली धनीपूर्जा बनाएर ऋण दिएको प्रमाणित भएकाले ।
–ऋणीले ब्याज तिरिरहेको बेला उसको सम्पत्ति लिलामी गर्ने गरी बैंकले आफ्नो नाममा बनाएकाले ।
–ऋण स्वीकृत गरेको ब्यक्तिको रकम आफैँ निकालेर अपचलन गरेकाले ।
यी सबै गलत अभ्यासका कारणले पनि बैंक थप संकटउन्मुख बन्दैछ । भविष्यमा बैंकको पनि सहकारीको हालतमा नपुगून् भनेर सर्वसाधारण बैंकमा निक्षेप निकाल्न आतुर छन् । हुनतः बैंकले कर्जा असुली तथा सम्पत्तिको गुणस्तर सम्बन्धमा एनआईसी एशिया बैंक अत्यन्त उत्कृष्ट भएको भन्दै निक्षेपकर्ताहरू आश्वासन त दिन खोजेको छ । तर, सर्वसाधारण नागरिकले क्यापिटल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स र नेपाल बिकास बैंक डुबेको बिर्सिएका छैनन् ।