News 24 Television
कांग्रेसले भन्योः पेस्तोल तेर्साएको घटनाबारे जवाफ देउ

काठमाडौं । प्रतिनिधिसभाको भदौ २५ गतेको बैठकमा सत्तारुढ दल रास्वपा संसद अमरेश कुमार सिंहले सरकारप्रति गम्भीर र संवेदनशिल आरोप लगाएका थिए । 

विपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरिरहेकाबेला सत्तारुढ दलकै सांसदले सरकारले गुण्डाराज चलाएको बताएका थिए । मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारसँग जवाफ माग गरेको छ । 

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले भदौ २५ गतेको प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै सरकारमाथि संगीन आरोप लगाएका थिए । संसदमै रेकर्ड भएको उनको अभिब्यक्तिमा सरकारले गुण्डा शासन चलाइरहेको स्पष्ट गरेको थियो । 

उनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशकलाई मध्यरातमा ज्वागलमा बोलाएर कन्चटमा पेस्तोल तेस्र्याइएको आरोप लगाएका थिए । 

त्यो सँगै उनले सिंहदरबारबार सरकार चल्नुपर्नेमा प्रधानमन्त्रीको मुख्य सल्लाहकार कुमार ब्यञ्जनकारको घरबाट सत्ता चलाइरहेको समेत दाबी गरेका थिए । 

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक निर्मल ढकाल छन् । तर रास्वपा सांसद सिंहको दाबी अनुसार ढकालअघिका डिजी गजेन्द्र ठाकुरलाई मध्यरातमा ज्वागल बोलाएर राति १ बजे कन्चटमा पेस्तोल तेसाई २ घण्टाभित्र रेडकर्नर नोटिस जारी गर्न प्रधानमन्त्रीले निर्देशन दिएका हुन् । 

ठाकुरकै पालामा नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवा दम्पत्तीविरुद्ध रेड नोटिसका लागि इन्टरपोलमा पत्राचार गरिएको थियो । तर पर्याप्त आधार नभएको भन्दै इन्टरपोलले रेड नोटिस जार्न अस्वीकार गरेको थियो । सांसद सिंहको अभिब्यक्तिका सन्दर्भमा प्रमुख प्रतिपक्षी दल कांग्रसले सरकारसँग जवाफ माग गरेको छ । 

मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद चन्द्रमोहन यादवले सरकारले मध्यराती पेस्तोल भिराएर सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई रेडकर्नर नोटिस जारी गराउन लगाइएको विषयमा सरकारसँग जवाफ माग गरेका हुन् । 

विपक्षी दलहरुले सरकारको काम कारबाहीको आलोचना गरिरहेकाबेला सत्तारुढ दलकै सांसदले सदनमा सरकारविरुद्ध संगीन आरोप लगाएपछि त्यसबारे जवाफ माग गरिएको हो । 

विपक्षी दलका सांसदहरुले सरकार र सत्तारुढ दलका सांसदहरुको अभिव्यक्ति लोकतान्त्रिक मूल्यमान्यताविपरित रहेको भन्दै आलोचना गर्दै आएका छन् । 

आईसीयूमा गरिएको अन्तर्वाताबारे पनि उठ्यो संसदमा प्रश्न 

छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिइएको विषय पनि सदनमा उठेको छ ।

सत्तारुढ दल रास्वपाकै सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिइएको विषयमा प्रतिनिधि सभा बैठकमा प्रश्न उठाएकी हुन् । सैनिक अस्पतालको आईसीयूभित्र अन्तर्वार्ता लिइएको घटनाले मानवीय संवेदनशीलताको प्रश्न उठाएको उनको भनाई छ । 

भोटेकोशी बाढीपछि नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा थुनिएका फोरम्यान सन्तोष साह र सुपरभाइजर कवीर महर्जनलाई गत भदौ १९ गते उद्धार गरिएको थियो । 

उद्धारपछि काठमाडौंको छाउनीस्थित बीरेन्द्र सैनिक अस्पतालमा आइसीयू कक्षमा उपचार भइरहेकै अवस्थामा लिइएको अन्तर्वार्ता यूट्युबमा सार्वजनिक भएको थियो । 

प्रकाशित मिति: बुधबार, भदौ ३१, २०८३  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update