काठमाडौँ । नेपाली राजनीति यतिबेला निकै ठूलो आँधीपछिको अवस्थामा छ । गत वर्ष भदौं २३ र २४ नेपाली राजनीतिमा अपत्याशित आँधी आएको थियो । वर्षाैदेखि नेताहरुको उही शैलीको राजनीति, उही शैलीको अस्थिर शासन व्यवस्था, दल वा नेता निकट मालामाल हुने अवस्था । यही कारण युवा पूस्ताले गरेको विद्रोहको विष्फोटले एकै झड्कामा नेपालमा धेरै उथलपुथल ल्याइ दियो ।
राजतन्त्र उन्मुलनपछि आफैलाई नव राजवंशजस्तो ठान्ने गरेका केपी ओली, प्रचण्ड र शेरबहादुर देउवा जस्ता नेताहरु आफै संकटमा परे । यसमध्ये देउवा पार्टीभित्रैबाट विस्थापित भए । ओली जवरजस्त पार्टी नेतृत्वमै छन् भने प्रचण्ड अनेक टिकडम अपनाउँदै सानै समूहको भएपनि नेतृत्वमै छन् । तर यतिबेला यी तीनै जना नेताहरुको ग्रहदशा र मनोदशा ठीकसँग चलिरहेको छैन ।
राजनीतिक शक्तिको केन्द्रबाट यी तीनै नेताहरुको बहिगर्मन सोच्दै नसोचेको ढंगबाट एकैचोटी भयो । जुन कुरालाई अझै उनीहरुले आत्मसात गर्न सकिरहेका छैनन् । उनीहरुको हाउभाउ, बोली र बडि ल्यांग्वेजबाट बारम्बार यी कुराहरु झल्किन्छन् । अप्रत्याशित कुनै घटना भएन भने यी तीन नेताहरु करिब करिब राजनीति विश्रामको उत्तरार्धमा छन् । पुराना नेताहरुको प्रतिनिधित्व गर्दै संसदमा रहेका प्रचण्डको कुरा गरौँ ।
अहिले प्रचण्ड संसदमा रहेपनि उनको हैसियत संसदमा हर्क साम्पाङ र ज्ञानेन्द्र शाहीहरुकै बराबर जस्तै छ । प्रचण्डले संसदबाट आफ्ना अनुभव सुनाउने र कुण्ठा पोख्ने बाहेक ड्यासिङ प्रस्तुति दिन सकिरहेका छैनन् । संसदमा उनी छन् भनेर कसैले विशेष महत्व पनि दिदैन । त्यसैले पनि उनी अक्सर संसद भवन पुग्दैनन् । पुगि हालेपनि आफ्नै मनोदशा व्यक्त गर्छन् अनि निस्किन्छन् । पछिल्लो पटक पनि उनले आफुलाई भाउ नदिएकोमा संसदमा लामै कुण्ठा पोखे । प्रधानमन्त्री संसदमा आउनु हुन्छ, कसैको अनुहार नहेरी फुत्त जानु हुन्छ भन्दै उनले आफुलाई वास्ता नगरेकोमा चित्त दुखाए ।
प्रचण्डको मनोदशा बुझ्दा उनी निकै छटपटिएको देख्न सकिन्छ । लामो संघर्ष र हजारौलाई बली चढाए तर फेरि उही प्रचलित राजनीतिक प्रणालीमा उनी आए । तर राजनीति उनलाई सजिलो भएन । पहिलो पटक प्रधानमन्त्री भएको बेला सेनापतिसँगको टसलपछि पाएको सत्ता गुमाउँनु पर्दाँ उनको होसहवास उडेको थियो । तर त्यही घटनाले प्रचण्ड र उनको पार्टीको ओरालो यात्रा शुरु भयो ।
हरेक निर्वाचनपछि उनको पार्टी कमजोर भन्दै गयो । २०७९ को निर्वाचनपछि ३२ सिटमा खुम्चिएको पार्टीलाई उनले भरपुर उपयोग गर्न खोजे । त्यही ३२ सिटकै काँधमा चढेर उनी केही महिना प्रधानमन्त्री बने । तर सानो सानो विषयमै तासको घरझै गल्र्यामगुर्लुम हुने सत्ता गठबन्धनको मारमा परेका उनी प्रधानमन्त्रीबाट पदच्यूत भए ।
त्यसपछि पनि ३२ सिटलाई म्याजिक नंवर भन्दै माहोल बनाउने प्रयास उनले गरिरहे । तर भदौ २३ र २४ को जेनजी आन्दोलनले ३२ सिटे उनको फुर्तिलाई धुलोमा मिसाइ दियो । तर पनि प्रचण्डले आशा गर्न छोडेनन् । सत्तामा हुँदा ओली एकदमै बदनाम थिए । २०७९ को निर्वाचन अघि पनि ओलीले मनलाग्दी गर्दै आएका थिए । आफु अनुकुल नहुने बित्तिकै ओलीले संसद विघटन गर्ने जस्ता तानाशाही प्रवृत्तिहरु देखाइ रहे । त्यसैले पनि ओली असाध्यै बदनाम भइसकेका थिए ।
जेनजी आन्दोलनमा दर्जनौ युवा मारिएपछि ओली सार्वजनिक कार्यक्रमहरुमा समेत निस्कन नसक्ने अवस्थामा पुगे । यही मौकालाई क्यास गर्न सकिन्छ भन्ने प्रचण्डमा भ्रम थियो । त्यसैले फागुन २१ को निर्वाचन आउनु केही दिन अघि प्रचण्डले विभिन्न सुत्रहरुको हवाला दिदै आफ्नो पार्टी निर्वाचनपछि पहिलो पार्टी बन्ने दाबी समेत गरे ।
पटक पटक प्रधानमन्त्री बनेपनि प्रचण्डलाई अझै सत्ताको प्यास मेटिएको छैन । त्यसैले उनी कसरी हुन्छ शक्तिको केन्द्रमा आउन आतुर छन् । अनेक मौका खोजिरहेका छन् । केही समय उनले जेनजी आन्दोलनपछिको माहोल र रास्वपा सभापति रवि लामिछानेलाई साथ दिएजसो गरेर वातावरण आफु अनुकुल बनाउ समेत कोशिस नगरेका होइनन् । तर प्रचण्डको अवसर अनुसार बोली बदल्ने, समीकरण अनुसार मित्र बदल्ने र परिस्थिति अनुसार व्याख्या गर्ने जुन चरित्र स्थापित भइसकेको छ, त्यही नै अहिले प्रचण्डका लागि सबैभन्दा घातक बनेको छ ।
उनले जति नै पश्चाताप गरे पनि, जति नै माफी मागेपनि यी सबै बाघ आयो मेरो बाख्रा खायो भनेर गाउँले झुक्याउने कालुको जस्तै बनिसकेको छ । यीनै कुराहरुलाई सम्भवत एकान्तमा बसेर घोत्लिदा प्रचण्डलाई सारै पिरोल्छ होला, जुन बेचैनी अहिले उनका अभिव्यक्तिहरुबाट बाहिर फुत्किरहेको छ । जुन स्वभाविक पनि हो । शक्तिको केन्द्रमा बसिसकेको र रजस सुख भोगिसकेको मानिस एकैपटक शिखरबाट भूईमा पछारिनु पर्दा अक्सर जो कोहीमा हुने यस्तै हो । जुन अहिले प्रचण्डमा भइरहेको छ ।


