News 24 Television
एक्लिदै देउवा, साथ दिन्छु भन्नेले नै छोडे !

काठमाडौं । गत वर्ष जेनजी आन्दोलनबाट सत्ताबाट उछिट्टिएको नेपाली कांग्रेसको विवाद अझै मत्थर भएको छैन । जेनजी आन्दोलनपछि विशेष महाधिवेशन गरि गगन थापाले नेतृत्व हत्याएपछि चुलिएको विवाद झनै उत्कर्षमा छ । संस्थापन पक्षले असोज १६ गतेदेखि १९ गतेसम्म १५ औं महाधिवेशनको तयारी गर्दै गर्दा इतर पक्ष समानान्तर महाधिवेशन गर्ने तरखरमा छ । 

गत वर्ष भदौ २३ को युवा पुस्ताको आन्दोलनपछि विशेष महाधिवेशन आयोजना गरि पार्टी कब्जा गरेका गगन थापा समूह नियमित महाधिवेशनमा फर्किएको छ । आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५ औं महाधिवेशन आयोजना गरि पार्टीलाई पुरानै लयमा फर्काउने प्रयास गरेको हो । 

संस्थापन पक्षको महाधिवेशन तालिका अन्तर्गत असोज ३ र ४ गते वडा अधिवेशन गर्दैछ । असोज ७ गते गाउँ तथा नगरपालिका अधिवेशन, असोज १० गते क्षेत्रीय अधिवेशन गरि असोज १६ गतेदेखि महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरि महाधिवेशन प्रक्रिया शुरु गरिसकेको छ । उक्त महाधिवेशन प्रक्रिया स्थगित गर्न इतर पक्षले दबाब दिइरहँदा संस्थापन पक्षले अस्वीकार गर्दै आएको छ । 

समानान्तर महाधिवेशनतर्फ देउवा

यता, पूर्व सभापति शेरबहादुर देउवा समूह भने महाधिवेशनको समानान्तर तालिका सार्वजनिक गरि आफ्नै तालमा अघि बढेको छ । विशेष महाधिवेशनलाई अवैधानिक मान्दै आएको इतर पक्षका अन्य विभिन्न गुटहरुलाई साथमा लिएर अघि बढ्ने प्रयास संस्थापन पक्षले गरिरहँदा देउवा पक्ष भने आफ्नै ढर्रामा छ । 

विशेष महाधिवेशनपछि गगनको नेतृत्व अस्वीकार गर्दै दुई दुई पटक सर्वोच्च अदालतको ढोका ढक्ढकाएका पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको समूह पनि पछिल्लो समय संस्थापन पक्षसँग सहमति नजिक पुगेको छ ।

यस्तै, शेखर कोइराला समूह पार्टीलाई मिलाएरै लैजाने पक्षमा रहेको छ । त्यसैले सबै पक्षलाई समेट्ने गरि संवादबाट अघि बढ्न सभापति गगन थापालाई शेखरले आग्रह गर्दै आएका छन् । तर देउवा भने डा. सशांक कोइरालालाई अघि सारेर सामानान्तर महाधिवेशन गरि पार्टी फुटाउने योजनामा देखिन्छन् । तर देउवा र गगनबीच संवाद गराएर दुई जनाबीचको दुरी घटाउन आफू लागिपरेको डा. सशांकको भनाई छ । 

देउवा समूहले संस्थापन पक्षको महाधिवेशन तालिकालाई प्रभावित गर्ने गरि यो समूहले असोज १५ गते वडा अधिवेशन गरेर मंसिर २१ देखि २३ गते महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गर्दै देशका ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि खटाइसकेको छ ।

संस्थापन पक्षको महाधिवेशन तालिका प्रभावित गर्ने गरि जिल्ला अधिवेशन तयारी समिति, संघीय तथा प्रदेशसभा निर्वाचन क्षेत्र क्षेत्रीय निर्वाचन तयारी समिति, पालिका र वडा अधिवेशन तयारी समितिहरु असोज ३ गतेभित्रै गठन गरिसक्ने गरि देउवा समूहले सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाएको छ । 

केन्द्रीय प्रतिनिधि खटाएसँगै यो समूहले निर्वाचन संयोजक समेत तोकेको छ । १४ औं महाधिवेशनका निर्वाचन समितिका सदस्य एकराज पोखरेललाई निर्वाचन संयोजक तोकेको छ ।

देउवाकै साथ छाड्दै छन् नेताहरु 

माघ २ गते निर्वाचन आयोगले र वैशाख ४ गते सर्वोच्च अदालतको संयुक्त इजलासले विशेष महाविधेशनलाई आधिकारिकता दिएपछि विशेष महाधिवेशनबाट आएको समितिले १५औँ महाधिवेशनको तयारी गरिरहँदा देउवा छुट्टै महाधिवेशन गर्न नै तम्सिएपछि यतिबेला आफ्नै समूहका नेताहरुले देउवाको साथ छाड्न थालेका छन् । 

देउवालाई निरन्तर साथ दिँदै पटक पटक अदालत पुगेका पूर्णबहादुर खड्कासमेत देउवाप्रति असन्तुष्ट छन् । सिंगापुरबाट फर्किएर देउवाले सशांकलाई अघि सारेपछि खड्का देउवाप्रति रुष्ट भएका हुन् । 

यता, नेता मीन विश्वकर्मा, निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लगायत देउवा समूहका २५ नेताहरुले पनि महाधिवेशनलाई एकतावद्ध बनाउन केही आधारभूत सर्तहरु अघि सारेका छन् । ती शर्तहरु पूरा भएमा असोज १६ को महाधिवेशनमा सहभागी हुन उनीहरु तयार देखिएका छन् । 

शेखर दुवै महाधिवेशनमा सहभागी नहुने

संस्थापन र देउवा पक्षले अलग अलग महाधिशन आह्वान गरेपछि शेखर कोइराला दुवै महाधिशनमा सहभागी नहुने भएका छन् । सबैलाई समेटेर एकताको महाधिवेशन नभए कोइरालाले दुवै महाधिवेशनमा सहभागी नहुने बताएका हुन् । 

दुई महाधिवेशन तोकिएपछि कताको महाधिवेशनमा सहभागी हुने भनी कार्यकर्ताले सोध्न आएपछि शेखरले यहि अवस्थामा दुवै महाधिवेशनमा सहभागी नहुने बताएका छन् ।

घनिभूत छलफलमा गगन

इतर पक्षका माग समेट्ने बारेमा सभापति थापा केही दिनदेखि घनिभूत छलफलमा छन् । भदौ २१ र २२ केन्द्रीय कार्य सम्पादन समितिको बैठक सम्पन्न गरेका थापाले एक साताकै अन्तरालमा पुनः आइतबार कार्य सम्पादन समितिको बैठक गरेका छन् । 

प्रदेश सभापतिहरुको समेत उपस्थिति रहेको यो बैठकमा बैठकमा शेखर, पूर्णबहादुर लगायत विभिन्न समूहको मागका विषयमा छलफल भएको छ । १४ औं महाधिवेशनका सबै केन्द्रीय सदस्यलाई १५ औं महाधिवेशन आयोजक समितिमा समेटेर लैजाने तयारी संस्थापन पक्षको छ । कांग्रेसले सबै पक्षलाई असोज १६ गतेदेखि १९ गतेका लागि तय भएको १५ औं महाधिवेशनमा सहभागी हुन आह्वान गरेको छ । 

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update