News 24 Television
अन्ततः भागबण्डाकै आधारमा उपकुलपति, दुई जनाको पृष्ठभूमि विवादास्पद !
upakulpatima-ko-kasta_100

काठमाडौँ । नेपालको सबै भन्दा जेठो त्रिभुवन विश्वविद्यालय राजनीतिबाट आक्रान्त भई दुरावस्थामा पुगेको आरोप लागिरहँदा सरकारले उपकुलपतिको छनोट प्रक्रियाबाटै त्रिभुवन विश्वविद्यालय सुधार गरेर लैजाने बताइरहेको छ । त्यसैले खुला प्रतिष्पर्धाबाट उपकुलपति चयन गरिने बताए पनि छनोट प्रक्रिया नै प्रश्नहरु उठेका छन् । खुला प्रतिष्पर्धाबाट ४३ जनाले आवेदन दिएकोमा १४ जना सर्टलिष्टमा परेका थिए । भ्रष्टाचारमा मुछिएकादेखि बौद्धिक चोरहरुसमेत सर्टलिष्टमा परेको भन्दै संसदीय समितिमा खैलाबैला मच्चिएको थियो । ती मध्येका ३ जना उपकुलपतिका लागि सिफारिस गरिएका छन् । कस्ता ब्यक्तिहरु उपकुलपतिका लागि सिफारिस गरिएका छन् त ?

६० वर्ष लामो इतिहास बोकेको त्रिभुवन विद्यालयको उपकुलपति चयनबाटै सुधार गरेर लैजाने योजना रहेको प्रधानमन्त्री एवम् कुलपति पुष्पकमल दाहाल प्रचण्डले बताइरहेका छन् । फलस्वरुप खुला प्रतिष्पर्धाबाट उपकुलपति चयन गर्ने भन्दै दरखास्त आह्वान गरियो । जसमा ४३ जनाले आवेदन दिए । ती मध्ये १४ जना सर्टलिष्टमा परे । तर सर्टलिष्टमा परेका १४ जना उम्मेदवारमाथि भ्रष्टाचार, अनियमिततादेखि बौद्धिक चोरीको समेत आरोप लाग्यो । प्रतिनिधिसभा सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा निकै रस्साकस्सी चल्यो ।

मेरिटोक्रेसीका आधारमा छनोट गर्दा स्वच्छ तथा प्राज्ञिक र त्रिविलाई सुधार गर्ने क्षमता राख्ने ब्यक्ति छनोट गर्न संसदीय समितिले दबाब दियो । माघ २९ गतेको संसदीय समितिको बैठकमा उपस्थित हुँदै शिक्षा राज्यमन्त्री प्रमिलाकुमारी यादवले उपकुलपति छनौटको प्रक्रिया कानूनसम्मत रहेको दाबी गरेकी थिइन् ।

https://youtu.be/CftL5DHa42Y

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको सर्टलिष्टमा परेका विवादित व्यक्तिलाई अघि नबढाउन भन्दै संसदीय समितिले प्रधानमन्त्री एवम् कुलपति र सहकुलपतिलाई ध्यानाकर्षण गराएको थियो । भ्रष्टाचार आरोपीदेखि बौद्धिक सम्पत्ति चोरी गर्ने ब्यक्तिसमेत सिफारिस गरिएको भन्दै आरोपप्रत्यारोप चलिरहँदा सत्तारुढ दल नेपाली कांग्रेसकै नेताहरुले पनि राजनीतिक भागबण्डा गरेको आरोप लगाएका छन् ।

त्रिविको उपकुलपतिमा तीन जनाको नाम सिफरिस गरिएपछि प्रमुख विपक्षी दल नेकपा एमाले रुष्ट छ । विद्यार्थी संगठन अनेरास्ववियूले विहानै विज्ञप्ति जारी गरी विरोध जनाएको थियो भने एमाले अध्यक्ष केपी ओलीले असफल भइसकेको मान्छेलाई उपकुलपति बनाउन खोजेको आरोप लगाएका छन् ।

शिक्षामन्त्री अशोक राईको नेतृत्वको समितिले आइतबार सर्टलिष्टमा परेका १४ जनाको अन्तरवार्ता लिँदै ३ जनाको नाम कुलपति समक्ष सिफारिस गरेको छ ।

समितिले सिफारिस गरेका ३ जना को कस्ता छन् त ?

चित्रबहादुर बुढाथोकी

उपकुलपतिमा सिफारिस गरिएका ३ मध्येका अर्का ब्यक्ति हुन्, चित्रबहादुर बुढाथोकी । त्रिभुवन विश्वविद्यालयमा नै शिक्षाशास्त्र संकायका डीन रहेका उनी नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनका नजिकका पात्र हुन् । बुढाथोकीले सबैभन्दा बढी ७८ अंक प्राप्त गरेको भन्दै पहिलो नम्बरमा सिफारिस गरिएको छ । तर बुढाथोकीलाई यसअघि त्रिवि अन्तर्गतको प्राज्ञिक परिषद्ले आफूखुशी पाठ्यक्रमको नाम परिवर्तन पठनपाठन शुरु गरेको भन्दै कारवाही गरेको थियो । भविष्यमा यस्ता किसिमका काम कारवाही नगर्न नगराउन बुढाथोकीलाई सचेत गराउने भनी प्राज्ञिक परिषद् स्थायी समितिको २०८० श्रावण १४ गते बसेको बैठकले निर्णय गरेको थियो ।

केशरजंग बराल

दोस्रो नम्बरको सिफारिसमा परेका केशरजंग बराल पनि विवादमुक्त छैनन् । पोखरा विश्वविद्यालयको उपकुलपति हुँदा २०७१ सालमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको आरोप लगाएको थियो । पदाधिकारीहरुलाई गैरकानूनी सम्बन्धन दिनुका साथै अन्य अनियमिततामा संलग्न रहेको आरोप लगाउँदै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । यो आरोपमा उनले सफाइ भने पाइसकेका छन् ।

प्रा.डा. टंकनाथ धमला

तेस्रो नम्बरमा सिफारिस गरिएका ब्यक्ति हुन्, प्राध्यापक डाक्टर टंकनाथ धमला । ३० वर्षदेखि त्रिविको गणित केन्द्रीय विभागमा प्राध्यापनरत उनी नेपाल गणित समाजका पूर्वसभापति एबम् अनुसन्धानकर्तासमेत हुन् । त्रिभुवन विश्वविद्यालयको भविष्यप्रति चिन्तनमनन् गरिरहने प्राज्ञ हुन् उनी । त्रिविको घट्दो साख तथा वर्तमान दुरावस्थाप्रति चिन्तित रहने उनी यसलार्य खण्डहरमा रूपान्तरित हुन नदिने मत राख्दै आएका छन् । त्यसैले यसको विगत तथा वर्तमानको क्रूर समीक्षा गर्नुपर्ने बेला आएको बताउने उनी कुनै पनि राजनीतिक दलप्रति नजिक नभएको बताउँछन् । यद्यपि उनी एमाले निकट मानिन्छन् । १४ जनाको शर्टलिष्ट हुँदै तीन जना मध्ये तेस्रो नम्बरमा सिफासिर धमलाले उपकुलपति छनोट प्रक्रिया पूर्ण र बलियो नरहेको बताउँदै आएका थिए ।

प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update