सप्तरी । सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालमा ठप्प रहेको एचडीयु सेवा एक वर्षपछि सञ्चालनमा आएको छ । बुधबार अस्पतालका मेडिकल सुपरिटेनडेन्ट तथा कर्मचारीहरूको उपस्थितिमा एचडियु र एनआइसियु वार्ड सञ्चालनमा ल्याइएको हो । यद्यपी चिकित्सकहरु अस्पतालमा समयमै नआउने बिरामीको गुनासोे छ ।
संघीय सरकार अन्तर्गतको सप्तरीको गजेन्द्रनारायण सिंह अस्पतालमा ठप्प रहेको एचडियु वार्ड सेवा झण्डै एक वर्षपछि पुनः सञ्चालनमा आएको छ । गत फागुनमै ठप्प भएको एचडीयु सेवा तथा दुई महिनादेखि ठप्प रहेको एनआइसियु वार्ड सेवा पुनः सञ्चालनमा आएको हो ।
अस्पतालमा कार्यरत जनशक्तिको सरुवा भएपछि र करारका कर्मचारीहरूले जागिर छाडेपछि एचडीयु बन्द रहेको थियो भने गत कात्तिकमा चिम झरेर उपचाररत शिशुलाई लागेदेखि एनआइसियु सेवा पनि ठप्प रहेको थियो । दुवै सेवा बुधबारदेखि अस्पताल प्रशासनले संचालनमा ल्याएको छ ।
विगतको समय संचालनमा रहेको चार बेडको निःशुल्क एनआइसियु तथा १२ बेडको एचडियु सेवालाई अहिले पुनः निरन्तरता दिएपनि अगामी दिनमा आवश्यकता अनुसार सेवा थप गर्ने अस्पताल प्रशासनको भनाई छ ।
एचडियु र एनआइसियु सेवा ठप्प भएपछि सप्तरीका बिरामीलाई विशेष थप उपचारको लागि चर्को शुल्क तिरेर निजी अस्पताल पुग्नुपर्ने बाध्यता रहेको थियो ।
यद्यपी अस्पतालमा चिकित्सक समयमा नभेटिने गुनासो सेवाग्राहीहरूले गरेका छन् । चिकित्सकहरू अस्पतालको समयमा निजि क्लिनिकमा जाने गरेको आरोप सेवाग्राही लगाउँछन् ।
खासगरी निम्न आय भएका जिल्ला भरिकै बासिन्दाको सहारा रहेको अस्पतालको सेवा सुदृढ हुनु अति आवश्यक छ । सेवाहरुलाई निरन्तरता दिन अस्पताल प्रशासनले सक्दो हरसम्भव प्रयास गर्नुपर्छ ।
