सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाका स्वास्थ्य चौकीहरूमा औषधिको चरम अभाव रहेको पाइएको छ । त्यस्तै पालिकाका सह–स्वास्थ्य संयोजकले औषधि नै नदिइ स्वास्थ्य चौकीबाट भरपाई गराउन खोजेको समेत सार्वजनिक भएको छ भने यस्तो कुकृत्यमा सहभागि हुन नखोज्ने कर्मचारीलाई नगरपालिकाले एकैपटक सरुवा गरिदिएपछि अहिले उनीहरू आन्दोलित बनेका छन् ।
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा औषधि नै नदिइ स्वास्थ्य चौकीहरूबाट भरपाई गराउन खोजिएको विषय बाहिरिएको छ । नगरपालिकाका सह–स्वास्थ्य संयोजक महेश पण्डितले औषधि नदिई भरपाई गराउन खोजिएको स्वास्थ्यकर्मीहरूले आरोप लगाएका छन् । भरपाई गर्न नमानेका स्वास्थ्यकर्मीहरूलाई पूर्वाग्रही ढंगले नगरपालिकाले सरुवा गरेको भन्दै स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् ।
मङ्गलबार नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै उनीहरुले यी विषय सार्वजनिक गरेका हुन् । विगत लामो समयदेखि औषधिको चरम अभाव रहेपनि नगरपालिकाले औषधि नदिने गरेको उनीहरूको गुनासो छ । स्वास्थ्य चौकीमा आउने बिरामीहरूलाई औषधि नदिँदा उनीहरू आक्रोशित बन्ने गरेको र त्यसको सिकार आफूहरु हुने गरेको गुनासो कर्मचारीले गरेका छन् । यद्यपी नगरपालिकासँग पटकपटक औषधि माग गर्दा पनि हालसम्म उपलब्ध नगराएको स्वास्थ्य चौकी तरहीका सिनियर अहेब उमेश शाह बताउँछन् ।
उनीहरूले बुझाएको ज्ञापनपत्रमा कर्मचारीको स्तर वृद्धि पनि लेनदेन र पहुँचको आधारमा गरिएको आरोप छ । औषधिको लागि माग फारम लिएर दराजमै थन्काउन गरेको आरोप समेत उनीहरुले लगाएका छन् ।
औषधि नहुँदा पालिकाको गमहरिया प्रवाह स्वास्थ्य चौकीमा सेवाग्राहीले स्वास्थ्यकर्मीसँग केही दिन अगाडि दुव्र्यवहार नै गरेको स्वास्थ्यकर्मी बताउँछन् । स्थानीय स्वास्थ्य संस्थाहरूमा सामान्यतया अति आवश्यक जीवनजल तथा सिटामोलको समेत चरम अभाव रहेको गुनासो स्वास्थ्यकर्मी गर्छन् । तर ज–जसले औषधि नै नदिई बिना बुझिलिएको भर्पाइ गर्न तयार भए, ती कर्मचारीको भने सरुवा नगरिएको उनीहरु बताउँछन् ।
मिलोमतोमा गरिएको कर्मचारीको स्तर वृद्धि, पूर्वाग्रहपूर्ण सरुवा बदर तथा औषधिको शीघ्र आपूर्ति गर्नुपर्ने उनीहरुले ज्ञापनपत्रमा माग राखेका छन् । यस्तो नगरिए आफूहरुले थप आन्दोलन गर्ने चेतावनी समेत उनीहरुले दिएका छन् । यता, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजय मण्डलले यी सबै आरोपको खण्डन गरेका छन् ।
औषधि जस्तो अति आवश्यक वस्तुको आपूर्तिमा पनि समस्या हुँदा अवश्य पनि स्थानीय मारमा परेका छन् । तर उनीहरुको समस्या समाधान गर्नुको साटो झन गलत प्रवृत्ति मौलाउनु भने पालिकाका लागि निकै लाजमर्दो विषय हो ।
