काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ वाचा गर्नमा माहिर छन्, तर बोलेका वाचा पूरा गर्न उनी पटकपटक चुकेका छन् । गर्छ भनेका कति काम गर्न सक्दैनन्, गर्दिनँ भनेका कुरा गर्न आफैँ अघि सर्छन् । हुनत नेपाली राजनीतिक वृत्तमा यो एक साझा रोग भइसकेको छ । हरेक पार्टीका नेता, मन्त्री, सांसदले बोल्ने एउटा, गर्ने अर्कै हुन्छ । यस मानेमा प्रधानमन्त्री प्रचण्ड पनि अछुतो छैनन् । उनले आफू र आफू नेतृत्व सरकारले धेरै सुधारका काम गर्नुपर्ने बेलाबेला सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । तर पनि न उनी आफूले प्रतिबद्धता गरेअनुरुप सुधारिन सकेका छन्, न त सरकारलाई नै सुधार्न सके । न त देशको बिग्रँदो हालत नै उनले सुधार्न सकेका छन् ।
पछिल्लो उदाहरण नै हेरौँ । आइतबार संसदमा प्रतिपक्षी दल एमाले र रास्वपाले प्रधानमन्त्रीलाई चुनौती दिँदै दोषी मन्त्री प्रकाश ज्वालालाई तत्काल बर्खास्त गर्न माग गरे । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीको परीक्षा मन्त्री ज्वालाई बर्खास्त गर्न सक्ने कि नसक्ने भनी चुनौती दिएका थिए । बालकुमारी घटनामा मन्त्री ज्वाला दोषी रहेको छानबिन समितिले औँल्याइसकेको छ । तर पनि प्रधानमन्त्रीले समितिको प्रतिवेदन अझै अध्ययन गरेका छैनन् । आइतबार संसदमा उनले बालकुमारी घटनामा छानबिन समितिले दिएको प्रतिवेदन सोही दिन अध्ययन गर्ने र सोही बेलुका बस्ने मन्त्रिपरिषद बैठकले आवश्यक कारबाही गरिछाड्ने बताएका थिए । तर आज तेस्रो दिन बित्दासमेत उनले प्रतिवेदन अध्ययन नगरेको देखिन्छ ।
गत पौष १३ गते बालकुमारीमा भएको प्रदर्शनस्थलमा मन्त्री ज्वाला जाँदा मन्त्रीको गाडीमाथि आगजनी हुनुका साथै प्रहरीको गोलीबाट २ युवाको ज्यान गएको थियो । यस विषयमा प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी ओलीले नैतिकता नभएका मन्त्री र हुतिहारा प्रधानमन्त्री भनेरै आक्रोश पोखेका छन् । बालकुमारी घटनामा दोषी करार भइसक्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री ज्वालाले राजीनामा नदिएकोमा उनले आपत्ति जनाए । ‘नैतिकता हराएका’ त्यस्ता मन्त्रीलाई हटाउन नसक्ने प्रधानमन्त्री प्रचण्डलाई उनले हुतिहारा भने ।
प्रधानमन्त्री प्रचण्डले त्रिविको उपकुलपति नियुक्तिमा पहिलोपटक खुला प्रतिस्पर्धा र मेरिट सिस्टमको वाचा गरे, सोही वाचाअनुसार खुल्ला प्रतिस्पर्धाको लागि त्रिविले विज्ञापन पनि निकाल्यो । पहिलो विज्ञापन विवादित भएपछि रद्द गरेर अर्को विज्ञापन निकाल्यो । त्यसपछि उम्मेदवारहरूमध्ये अन्तिममा तीन जना उपकुलपति नियुक्तिका लागि सिफारिस भएका छन् । तर यसमा पनि भागबण्डाकै आधारमा सिफारिस भएको आरोप लागेको छ । आइतबार सिफारिस भएका तीन जनामध्ये पहिलो नम्बरमा प्रा.डा. चित्रबहादुर बुढाथोकी, दोस्रोमा प्रा.डा. केशरजंग बराल र तेस्रोमा प्रा.डा. टंकनाथ धमला रहेका छन् । यीमध्ये मेरिटका आधारमा बुढाथोकी नै ७८ नम्बर लिएर उपकुलपतिका पहिलो दाबेदार छन् । उनलाई नियुक्ति नहुँदै सामाजिक सञ्जालमा बधाईको ओइरोसमेत आइसकेको छ । तर त्रिविका कुलपति रहेका प्रधानमन्त्री प्रचण्डले उपकुलपति नियुक्त गरिसकेका छैनन् र माओवादी निकट मानिएका बराल (७६ नम्बर)लाई नियुक्त गर्न चाहेको आरोप पनि उनीमाथि लागेको छ । मेरिट मिचेर नियुक्ति गरेमा उनी आफ्नै वाचा र प्रतिबद्धताबाट पुनः खस्किनेछन् ।
प्रतिपक्षी नेता ओलीले सरकार र सत्तारुढ गठबन्धन पूर्ण रुपमा असफल भइसकेको, ढल्न लागेको र देश असफल बनाइसकेको भनेर दैनिजसो खोइरो खन्ने गरेका छन् । उनले यो वा त्यो बहानामा सरकार र मूलतः प्रधानमन्त्री प्रचण्डलाई शब्दमार्फत प्रहार गर्दै आएका छन् । मंगलबार पनि एमाले केन्द्रीय कमिटी बैठकमा उनले पार्टीका एजेण्डाभन्दा पनि सरकारकै आलोचनामा अधिकांश समय खर्चिए । उनले प्रधानमन्त्री प्रचण्डले आफैँले एक वर्षमा केही गर्न नसकेको र अब सुध्रिन्छु भन्दै वाचा गरे पनि सुध्रिन नसकेको बताए । प्रधानमन्त्री सुधिन्छु भन्दाभन्दै सरकार असफल भएको र देशको अवस्था बिग्रिसकेको उनको दाबी छ । सरकारसँग सुशासनको, भ्रष्टाचार अन्त्यको र आम नेपाली जनताको समस्या समाधान गर्ने कुनै योजना नै नभएको उनको आरोप छ ।
यद्यपि प्रधानमन्त्री प्रचण्डले आफू सुशासन अभियानमा लागेको दाबी गर्दै आएका छन् । भलै आफ्नो पार्टी र गठबन्धनका निश्चित व्यक्ति र तिनका मुद्दा छाडेर अन्यलाई विभिन्न काण्डमा पक्राउ गर्ने, मुद्दा चलाउने, अनुसन्धान थाल्ने काम भने उनको सरकारले गरिरहेको छ । तर पनि प्रतिपक्षी नेताका दिनहरू सरकारले सबै बर्बाद नै पारिसकेको भन्दै खोइरो खन्दैमा बित्छन् । आफू र आफ्नो पार्टीको सरकार भए सब चमत्कार नै गरुँलाजसरी ओली प्रस्तुत हुन्छन् । तर आखिर ओली पनि विगतमा परीक्षण भइसकेका पूर्व–प्रधानमन्त्री हुन् । उनको पछिल्लो आक्रोश सत्ताबाट विमुख हुनुपर्दाको पीडा र कुण्ठा मात्रै नभएर के हो भन्ने त ? आखिर न प्रचण्ड सुध्रिन्छन्, न त ओली वा शेरबहादुर देउवा वा माधव नेपाल नै । यो देश यिनीहरूको चंगुलमा आलोपालो फसिरहेसम्म देश पनि सुध्रिँदैन ।
