काठमाडौँ । नेपाली काँग्रेसभित्र गगन थापा नेतृत्वको संस्थापन पक्ष र शेरबहादुर देउवाले नेतृत्व गरेको इतर पक्षको संघर्ष अझै चुलिएको छ । गगन थापाले केही लचकता देखाउँदै देउवा पक्षलाई पनि समेट्ने वातावरण निर्माण गर्न खोजेपनि ठोष सहमति नहुने देखिएपछि दुई पक्ष आ–आफ्नै ढंगले अघि बढिरहेका छन् । संस्थापन पक्षले निर्धारण गरेको महाधिवेशनको मिति अब टाढा छैन । यो अवस्थामा सभापति थापाले पार्टीको १५आँै महाधिवशेनमा सहभागी हुन कोहीलाई बञ्चित नगराइने दावी गर्दै आएका छन् । तर पनि देउवा पक्षले महाधिवेशन रोक्न गरेको आग्रह तथा जस्ले पहिला महाधिवेशन गर्छ, त्यसले पार्टी फुटको जिम्मेवारी लिनुपर्ने भन्दै दिएको धम्किलाई बेवास्ता गर्दै गगन पक्ष महाधिवेशन मिति पूर्वनिर्धारित भन्दा तलमाथि नहुने अडानमै छ ।
काँग्रेस संस्थापन पक्षले असोज १६ गतेदेखि गर्ने महाधिवेशनदको प्रकृया असोज ४ गतेदेखि आरम्भ गर्दैछ । उता देउवा पक्षले भने मंसिरको अन्तिममा महाधिवेशन गर्ने मिति सार्वजनिक गरिसक्दा दुवै पक्ष आफ्नो अडानबाट व्याक हुने अवस्थामा छैनन् । गत वर्षको मंसिरमा भएको दोस्रो विशेष महाधविशेन र त्यसपछिको भएको फागुनको निर्वाचनमा दे्उवा पक्षले अपेक्षित सहयोग नगरेको विषयले काँग्रेसमा दुई पक्षको दूरी बढाएको छ ।
यसबीचमा पार्टी एकताका लागि देउवा पक्षले १४औँ महाधिवेशनमा चयन भएका महाधिवेशन प्रतिनिधि तथा केन्द्रीय कमिटि सदस्यहरुलाई नयाँ कमिटिमा स्वत समावेश गर्नुपर्नुजस्ता माग लिएर गगन पक्षसामु प्रस्ताव लगेको थियो । तर यो प्रस्तावलाई गगनले विधान बाधक रहेको भन्दै अस्वीकृत गरेपछि देउवा पक्ष अहिले पनि सर्वोच्चमै पुगेको स्थिति छ । उता देउवा पक्षले भने दोस्रो विशेष महाधिवेशनमाथिको वैधानिकतामाथि प्रश्न उठाउँदै गगन नेतृत्वको काँग्रेसको आधिकारिकता दिन नसकिने जिकिर अझै दोहोर्याउन छाडेको छैन ।
दुई पक्षको यो अडान र दावीले पार्टी एकता अहिले झन झन संकटमा पुगेको पुगेको स्थिति छ । नेताहरुको पछिल्ला अभिव्यक्ति र गतिविधिले अब काँग्रेस संगोल हुने संभावना सांघुरिँदै प्रष्टिन्छ ।
जिल्लामा पनि गगनलाई चुनौती
गगन पक्षकाले महाधिवेशनको तयारी अन्तिम चरण्मा पुर्याएको बेला देउवा पक्षले पनि ७७ जिल्लामै अधिवेशन गर्न केन्द्रीय प्रतिनिधि खटाएको छ । देउवा पक्षको महाधिवेशन तयारी समितिका संयोजक दीपकप्रसाद कुँइकेलले शनिबार एक विज्ञप्ति जारी गर्दै ७७ जिल्लामै प्रतिनिधि खटाएको हो । यो पक्षले असोज १५ गतेबाट वडा अधिवेशन थाल्न निर्देशन दिएको देखिन्छ । विज्ञप्तिमार्फत देउवा पक्षले १५औँ महाधिवशेन गर्ने आधिकारिकता आफूहरुको नै रहेको दावी समेत गरेको छ ।
पूर्णबहादुर गगनसँगै !
काँग्रेसका पूर्व कार्यावाहक सभापति पूर्णबहादुर खड्का समूहका नेताहरुले आफूहरुको माग संस्थापन पक्षले पूरा गरिदिएको भन्दै महाधिवेशनमा सामेल हुने तयारी गरिरहेका छन् । यो समूहका नेताहरुले आफ्ना पक्षका नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने तथा सदस्यताको विषयमा गरिएका प्रस्ताव सम्बोधन गरेको भन्दै संस्थापन पक्षको महाधिवेशनमा सामेल हुने संकेत गरेका हुन् । यो सँगै काँग्रेसको कार्यसम्पादन समितिले पूर्णबहादुर पक्षको मागलाई पार्टी बैठकबाट सम्बोधन गर्ने तयारी पनि गरेको छ ।
तर पूर्णबहादुर स्वयम भने अदालतमा मुद्धा आँफै दर्ता गरेकाले नैतिक प्रश्न उठ्ने भन्दै महाधिवेशनमा सहभागी नुहने भएका छन् । उता देउवा पक्षकै केही जिल्लास्तरका नेताहरु पनि अहिले गगन पक्षमा फर्कने तयारीमा देखिन्छन् । यो स्थितिले अहिले देउवा पक्ष कमजोर हुँदै गएको देखाउँछ भने,, गगन पक्ष थप बलियो बनेको देखिन्छ । तर यसरी काँग्रेस नेताहरुले समग्र पार्टी एकताभन्दा पनि समूहगत ध्रविकरणको रणनीति लिएमा पार्टी अझै गम्भीर मोडमा पुग्ने खतरा स्पष्ट छ । यो विवाद श्रृंखलासँगै अब पार्टी विभाजनको निर्णायक मोडमा पुगेकोसमेत विश्लेषण हुन थालेका छन् ।


