News 24 Television
गगनसँग देउवा ब्याक, विश्वप्रकाशले हाने छिर्के
Bidhan-ra-Bishwoprakash__100

काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकमा गठबन्धनको विषय चर्काचर्कीमा मात्रै परिणत भएन, सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच केहि समय शीत युद्ध नै चल्यो । तर, अन्तिममा गगनले भने झैं गठबन्धन नगर्ने विषयमा गगनको हात माथि देखिएपनि अर्का महामन्त्री विश्वप्रकाश शर्माले गगनलाई चुनौति पेश गरेका छन् । गठबन्धनको घानमा किन कांग्रेस पिसिन खोज्दैछ ?

नेपाली कांग्रेसको महासमिति बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमा सर्वाधिक विवादको विषय बन्यो गठबन्धन । चुनावअघिको गठबन्धन अस्वीकार गर्ने महामन्त्री गगन थापाको प्रतिवेदनले निम्त्याएको विवाद सोमबार मध्यरातसम्म चर्किएपनि अन्ततः भाषा मिलाएर पेश हुने गरि देउवाले लचकता देखाए । देउवाले लचकता किन देखाए ? गगनसामू किन झुक्न पुगे ? गगनले जित हासिल गरेकै हुन ? तमाम प्रश्नहरु सतहमा छताछुल्ल भएका छन् ।

तर, कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनले कांग्रेसलाई फाइदा भएको विषयको तथ्याङ्कसहित पेश हुँदै गठबन्धन व्यक्तिगत र मनोगत रुपले व्याख्या गरेर नहुने भन्दै गगनलाई कडा चुनौति दिएका छन् ।

विश्वप्रकाशले गठबन्धनको औचित्य, आवश्यकता, कोशी प्रकरण लगायत विषयलाई दृढताका साथ अघि बढाएका छन् । उनले गठबन्धन गर्ने विषय चुनाव आन ४ वर्ष बाँकी रहँदै छलफल गर्नुपर्ने विषय नै नभएको समेत दाबी गरेका छन् । तर, गगन थापा भने चुनावी गठबन्धन गर्नै नहुनेमा हुंकार दिइरहेका छन् ।

गगन भर्सेस विश्वप्रकाश

–गठबन्धन आवश्यकता, औचित्य र समयअनुसार हुनेमा विश्वप्रकाशको मत
–चुनावी गठबन्धन गर्नै नहुने गगनको अडान
–रुखबाहेकमा भोट हाल्न लगाउन नहुनेमा गगनको दृढता
–गठबन्धनका कारण ०७४ भन्दा ०७९ को चुनावमा कांग्रेस बलियो बनेको विश्वप्रकाशको निष्कर्ष
– चुनावी गठबन्धनबाहेक अन्य विषयमा गगनको ध्यान नगएको तर्क
– पार्टीलाई फाइदा पुर्याउने गरि कदम चाल्ने विषय छलफलले टुंगो लगाउनुपर्ने निष्कर्ष

विश्वप्रकाश र देउवा कनेक्सनको नयाँ मोड

महामन्त्री विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदनले गठबन्धनमा हदैसम्मको लचकता र देउवाको मनोभावनालाई समेटेर आएको छ । देउवाले गठबन्धनबाहेकका विषय छलफलका लागि खुला रहने बताएपनि गगनले अड्डी कसेपछि दबाबमा परेका देउवालाई शर्माले भरथेग गरेपछि अब देउवा–शर्माको सम्बन्धमा नयाँ मोड सिर्जना हुने सम्भावना बढेको छ । विश्वप्रकाशले देउवालाई राजनीतिक संकटको बेला बलियो साथ दिने गरि पेश भएको प्रतिवेदनकै कारण पनि अब उनीहरुबीच नयाँ सहमति सम्झौता नहोला भन्न सकिन्न ।

देउवाको हतारो र गठबन्धन

कांग्रेस सभापति शेरबहादुर देउवालाई इतर पक्षबाट गठबन्धन विरोधी देखाउने गरि पेश भएको प्रतिवेदनले डर पैदा गरिदियो । डरकै कारण देउवाले महामन्त्री गगन थापालाई दबाब दिए । केहि समय रोकेपनि तर, सीप नचलेपछि देउवाले भाषामा केहि परिवर्तनसहित प्रतिवदन पेश गर्न त दिए । तर, त्यो भन्दा अघि नै देउवा आफ्ना विश्वासपात्र उपसभापति पूर्णबहादुर खड्कालाई लिएर बालुवाटार पुगे र गठबन्धन दल तथा सरकारको नेतृत्व गरिेहेका पुष्पकमल दाहाल ’प्रचण्ड’लाई विश्वास दिलाउने कोसिस गरे । प्रचण्डले ग्रीन सिग्नल दिएपछि देउवाले गगनको प्रस्तावलाई अन्ततः भाषामा केहि परिवर्तनसहित पेश गर्न अनुमति दिए । देउवा प्रचण्डपछि प्रधानमन्त्री बन्ने पालो कुरिरहेका छन् । यसकारण पनि उनीमा डर देखिन्छ ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  ०९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update