News 24 Television
नेपाली लोक संस्कृतिलाई विश्वमा चिनाउँदै एभरेष्ट नेपाल कल्चरल ग्रुप, अध्यक्ष कोइरालाको अनुभव के छ ?

एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक कला, संस्कृति र मौलिक पहिचानको संरक्षण, संवद्र्धन तथा अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको एक विशुद्ध सामाजिक संस्था हो । सन् १९९८ मा स्थापना भएको यस संस्थाले दुई दशकभन्दा बढी समयदेखि नेपाली लोक नृत्य, संगीत, परम्परा र सांस्कृतिक पहिचानलाई विश्वसामु चिनाउँदै आएको छ ।

सन् २०१२ देखि दक्षिण कोरियामा केन्द्रीय कार्यालय रहेको Federation of International Dance Festivals (FIDAF) को सदस्य बनेपछि एभरेष्ट नेपाल कल्चरल ग्रुपले अन्तर्राष्ट्रिय स्तरमा लोक सांस्कृतिक आदान–प्रदान गर्ने भूमिकालाई थप सक्रिय बनाउँदै आइरहेको छ । सन् २०२४ मा नेपालमा आयोजना गरिएको अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको व्यवस्थापन उत्कृष्ट भएको ठहर गर्दै दक्षिण कोरियाको छनान् शहरमा हालै आयोजित विशेष कार्यक्रममा संस्थालाई तथा संस्थाका अध्यक्ष आरसी कोइराला (रामचन्द्र कोइराला)लाई व्यक्तिगत रूपमा सम्मानित गरिएको थियो ।

यसै सन्दर्भमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका अध्यक्ष तथा १३औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला २०२६ का संयोजक कोइरालासँग समसामयिक विषयमा गरिएको कुराकानी :

एभरेष्ट नेपाल कल्चरल ग्रुपको मूल उद्देश्य के हो ?

एभरेष्ट नेपाल कल्चरल ग्रुप नेपाली लोक कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि लोक संस्कृतिप्रति समर्पित केही संस्कृतिप्रेमीहरूको सामूहिक प्रयासबाट स्थापना गरिएको संस्था हो । लोक संस्कृति र लोक नृत्यको प्रवद्र्धन गर्नु नै संस्थाको मूल लक्ष्य हो । सन् २००२ देखि प्रत्येक दुई–दुई वर्षमा नेपालमा अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला आयोजना गर्दै आएका छौं । विश्वसामु नेपालको लोक–संस्कृतिलाई चिनाउनु र नेपालमा यसरी नै प्रत्येक दुई दुई वर्षमा लोक सांस्कृतिक मेलाको आयोजना गर्नु नै संस्था स्थापनाको उद्देश्य हो ।

9821a28e-ccb7-44d3-a69f-3b3706dcd0a9-1771318782.jpg
संस्था स्थापनापछि संस्थाको नेतृत्वमा नेपाली सांस्कृतिक टोलीले हालसम्म विश्वका १०० भन्दा बढी अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाहरूमा सहभागिता जनाइसकेको छ । नेपाली टोली जहाँ–जहाँ पुगेको छ, त्यहाँ नेपाली लोक नृत्य र संस्कृतिले गहिरो छाप छोड्न सफल भएको छ । हाम्रा लागि यो गर्वको विषय पनि हो ।

नेपालमा १३औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेलाको आयोजना गर्दै हुनुहुन्छ । सांस्कृतिक पर्यटन प्रवद्र्धनमा लोक सांस्कृतिक मेलाको भूमिका कस्तो रहन्छ ?

एभरेष्ट नेपाल कल्चरल ग्रुपको आगामी कार्यदिशा सांस्कृतिक आदान–प्रदानको माध्यमबाट नेपालको अन्तर्राष्ट्रिय पहिचान अझ फराकिलो बनाउँदै सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्नु हो । नेपालमा आयोजना हुने यस्ता लोक सांस्कृतिक मेलाले एकातिर नेपाली समाजले विश्वको लोक संस्कतिलाई आफ्नै घरआँगनमा हेर्न, बुझ्न र विश्लेषण गर्न सहज वातावरण बन्छ भने अर्कोतिर विश्वबाट लोक सांस्कृतिक मेलामा सहभागी हुने आएका सयौं कलाकार र अफिसियलहरूलाई नेपाली समाजको सौन्दर्य र अतिथिलाई देवतातुल्य मान्ने हाम्रो संस्कति र परम्परासँग साक्षत्कार गराउने अवसर पनि मिल्छ । त्यसैले पनि यस्ता मेलाहरूको ठूलो र महत्वपूर्ण भूमिका रहन्छ ।

dbb68ca8-fa17-4121-bb70-fe75f5e1395c-1771318804.jpg
नेपाल बहुजातीय र बहुसांस्कृतिक देश भएकाले पनि यहाँको लोक संस्कृति विविधता पर्यटकका लागि ठूलो आकर्षणको विषय रहने गर्दछ । खाँचो केवल यथोचित प्रवर्द्धनको मात्र हो ।

निर्धारित लोक सांस्कृतिक मेलाको मिति किन पछि सारियो ? निर्वाचनको कारण हो वा तयारी नपुगेर हो ?

धेरै अगाडि नै हामीले १३औं अन्तर्राष्ट्रिय लोक सांस्कृतिक मेला फाल्गुण १५ देखि २४ गतेसम्म आयोजना गर्ने निर्णय गरेका थियौें । तर मुलुकमा सोही अवधिमा निर्वाचन मिति तोकियो । निर्वाचन आयोगले पनि हामीलाई हाम्रो कार्यक्रम सार्न औपचारिक पत्र पठायो । निर्वाचन आयोगको अनुरोधपछि केही पछि सारेर चैत्र ५ देखि १४ गतेसम्म गर्ने निर्णय गरेका हौं । हाम्रो तयारीमा कुनै कमी थिएन ।

नेपालका कारण मिति सार्दा अन्तर्राष्ट्रिय सहभागीहरूलाई गाह्रो भएन ? यस मेलामा अन्तर्राष्ट्रिय सहभागिता कस्तो छ ?

मिति परिवर्तनले केही व्यवस्थापकीय चुनौती थपिए पनि अधिकांश विदेशी कलाकार समूहहरूले नयाँ मितिअनुसार सहभागिता सुनिश्चित गरिसकेका छन् । आकस्मिक रूपमा विकसित नेपालको राजनीतिक घटनाक्रमलाई उनीहरूले पनि बुझेको देखियो ।

१३औं लोक सांस्कृतिक मेलामा इस्टोनिया, पोल्याण्ड, जर्मनी, इजरायल, बंगलादेश, बोत्स्वाना, भारत, दक्षिण अफ्रिका, टर्की, ताइवान लगायत १२–१५ देशका ३५० भन्दा बढी कलाकारहरूको सहभागिता हुने सुनिश्चित भइसकेको छ । मेला नेपालका काठमाडौं, पोखरा, काभ्रेको पाँचखाल, पनौतीलगायत विभिन्न स्थानमा आयोजना हुनेछ ।

अन्त्यमा केही भन्नु छ ?

लोक संस्कृति देशको पहिचान हो । यसको संरक्षण र प्रवद्र्धन सबैको साझा दायित्व हो । सरकार, निजी क्षेत्र र सम्पूर्ण नेपाली समाजको सहकार्य भएमा यस्तो अन्तर्राष्ट्रिय सांस्कृतिक अभियान अझ प्रभावकारी हुने मेरो विश्वास छ ।

प्रकाशित मिति: मंगलबार, फागुन ५, २०८२  १४:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update