News 24 Television
वीरगञ्जमा सद्भाव कायम राख्ने सर्वपक्षीय सहमति
sadbhaw birgunj
  • हरिशंकर शर्मा

पर्सा । तराई मधेसका केही ठाउँमा हरेक वर्षजस्तो विभिन्न समयमा मुर्ति विसर्जनका विषय तनाव हुने गछ । केही दिनअघि रौतहटको ईशनाथ नगरपालिकाको मोतिपुरमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद चर्कियो । यसैको प्रभाव पर्साको वीरगञ्जमा पनि देखिएपछि प्रशासनले कर्फ्यु लगायो । सद्भाव कायम राख्न पर्साका प्रमुख जिल्ला अधिकारीको सक्रियतामा छलफल भई सहमति बनेको जुटेको छ ।

वीरगञ्जमा केही दिनदेखिको तनाव मत्थर भएसँगै मंगलबार जिल्ला प्रशासन कार्यालय पर्सामा सर्वपक्षीय बैठक बस्यो । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालको अगुवाईमा विभिन्न धार्मिक संगठनका अगुवाहरु, राजनीतिक दलका प्रतिनिधीहरु, वीरगंज महानगरपालिकाका प्रमुख, उद्योगी व्यापारी लगायत बुद्धिजिवी लगायतको सर्वपक्षीय छलफलबाट सहमति जुटेको छ । विभिन्न जातजाति, भाषा, धर्म समुदाय बीचको एकतालाई अझ मजबुत गराई नेपाली जनताबीचको सम्वन्ध एवं एकतालाई विखण्डन गर्न खोज्ने जुनसुकै दुष्प्रयासलाई निष्फल पार्ने सामुहिक प्रतिबद्धतासमेत जनाइएको छ । सदियौंदेखि कायम जातजाति, भाषा, धर्म, समुदायबीचको एकतालाई अझ मजबुत बनाउने प्रतिवद्धता सवै पक्षले गरेको छ ।

धार्मिकस्थलहरुमा नारावाजी, जुलुश लगायतका विरोधका कार्यक्रम नगर्ने नगराउने, शान्ति सुरक्षा र अमनचयनलाई खलल पार्ने किसिमका धार्मिक, सामाजिक, सांस्कृतिक सद्भाव विगार्ने एवं द्वन्दलाई उक्साउने प्रकारका अवाञ्छित गतिविधिहरु रोक्न सवैपक्ष सहमति भएको छ । साथै लाठी, भालासहित सद्भाव विगार्ने किसिमका जुलुस निकाल्ने लगायतका क्रियाकलाप गर्ने विरुद्ध कानून बमोजिम कारवाही गर्न प्रशासन समक्ष अनुरोध गर्न सवै पक्ष सहमत भएका छन् । सामाजिक सञ्जालमा जातजाती, धर्म वा समुदाय लक्षित गरी नकारात्मक प्रचार गर्ने गराउनेमाथि कानून बमोजिक कारबाही हुने भन्दै प्रशासनले सचेत पनि गराएको छ ।

गत फागुन ३ गते विहीबार रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्षबीच विवाद र झडप भएको विषयलाई लिएर सोमबार वीरगंजमा निकालिएको विरोध जुलुसको क्रममा विवाद भई झडपको स्थिति सिर्जना भएको थियो । सामाजिक सद्भाव विथोलिन नदिँन भन्दै स्थानीय प्रशासनले सोमवार साँझ ५ बजेदेखि वीरगंजमा कर्फ्यू जारी गरिएको थियो । मंगलबार विहान ६ बजेदेखि १० बजेसम्म खुला गरिएको थियो ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १०:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update