News 24 Television
‘कमला मिस’ को केन्द्रीय भूमिकामा वरिष्ठ कलाकार रमेश बुढाथोकी

काठमाडौँ । नेपाली चलचित्रका भिष्मपितामह  नीर शाह र अर्का हस्ती, वरिष्ठ कलाकार रमेश बुढाथोकीको सहकार्य हुनु आफैँमा एउटा सुखद संयोग हो । झन्डै १२ वर्षपछि निर्देशनमा फर्किएका शाहको महत्वकांक्षी प्रोजेक्ट ‘कमला मिस’ को छायाङ्कन जारी छ । 
यस चलचित्रमा अभिनेता रमेश बुढाथोकी एउटा यस्तो ‘अर्थपूर्ण’ र ‘फरक’ चरित्रमा देखिँदैछन्, जसले उनको ४ दशक लामो अभिनय यात्रामा नयाँ मानक स्थापित गर्ने  अपेक्षा गरिएको छ ।

अहिलेको नेपाली सिनेमा बजार सस्तो लोकप्रियता र ‘भाइरल’ हुने दौडमा रुमल्लिइरहेका बेला बुढाथोकी भने एउटा बौद्धिक र गम्भीर यात्राको तयारीमा छन् । ‘कमला मिस’ मा उनी केवल एउटा कलाकार मात्र होइनन्, बरु मानवीय मनोविज्ञानको एउटा सूक्ष्म र जटिल संवाहक बनेर प्रस्तुत हुँदैछन् ।  बुढाथोकी कमला मिसमा आफ्नो भूमिकाबारे भन्छन्, ‘मैले धेरै चलचित्रमा काम गरेँ, तर ‘कमला मिस’ मेरो करियरका लागि एउटा विशेष र अर्थपूर्ण मोड हुनेछ । ’ उनको यो आत्मविश्वासले नै बताउँछ कि यसपटक दर्शकले उनलाई सधैँ देखिने भूमिका भन्दा विशिष्ट भूमिकामा पाउनेछन् । 

उसो त, शाह र बुढाथोकीको सहकार्यले आम दर्शकमा कौतुहलता बढाएको छ । यो सहकार्य किन पनि विशेष छ भने, नीर शाहले निर्देशन गरेको पछिल्लो फिल्म ‘सेतो बाघ’ पछि पछि उनले लामो समय उत्कृष्ट कथाको खोजीमा बिताए । अर्कोतिर, शाह आफैँले अभिनय गरेको पछिल्लो फिल्म ‘परान’ ले बक्स अफिसमा १८ करोडको व्यापार गरेर उनको लोकप्रियता अझै कायमै रहेको प्रमाणित गरिसकेको छ । 

यस्तो व्यावसायिक उचाइमा रहेका निर्देशकले आफ्नो सपनाको प्रोजेक्ट ‘कमला मिस’ का लागि बुढाथोकीलाई केन्द्ीय भूमिकामा रोज्नुले  नै फिल्मको कन्टेन्ट कति ओजिलो होला भन्ने अनुमान लगाउन सकिन्छ ।

व्यावसायिकताको अन्धधुन्ध दौडमा हराउँदै गएको मौलिक कथावाचन र मनोवैज्ञानिक गहिराइलाई पुनर्जीवित गर्न बुढाथोकी यसपटक निर्देशक शाहका भरपर्दा सारथी बनेका छन् । 

बासना तिमिल्सिना, शिवम सराफ क्षेत्री, आरभ दाहाल र भावना मगर जस्ता कलाकारहरूको साथमा बुढाथोकीले यसपटक पर्दामा कस्तो जादु छर्ने हुन्, त्यो हेर्न बाँकी नै छ । तर, मौलिकता र बौद्धिक सिनेमाको खडेरी परेको यो समयमा रमेश बुढाथोकीको यो ‘फरक अवतार’ नेपाली फिल्म क्षेत्रका लागि एउटा शीतल झोक्का बन्न सक्छ ।

०४० को दशकदेखि रङ्गमञ्चबाट यात्रा सुरु गरेका बुढाथोकीले सयौँ टेलिफिल्म र दर्जनौँ चलचित्रमा आफ्नो उत्कृष्ट अभिनयको छाप छोडिसकेका छन् ।  

दशकौँदेखि रङ्गमञ्च र पर्दामा सक्रिय बुढाथोकीका लागि यो चलचित्र केवल अर्को एउटा प्रोजेक्ट मात्र होइन । यो त एउटा पाको कलाकारले आफ्नो अनुभवको परिपक्वता पोख्ने क्यानभास पनि हो । उनले यसअघि निभाएका भूमिकाहरूभन्दा निकै भिन्न र चुनौतीपूर्ण चरित्र यसपटक दर्शकले देख्न पाउनेछन् ।

एउटा कुरा पक्का छ, ‘कमला मिस’ ले केवल एउटा कथा मात्रै भन्ने छैन । यसले रमेश बुढाथोकीको अभिनय क्षमताको त्यो ‘क्लासिक’ पाटो उजागर गर्नेछ, जुन नेपाली पर्दामा बिरलै देख्न पाइन्छ ।

कार्यकारी निर्माता उमेश मल्ल र चैतन्य प्रधान रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा (प्रेम भोम्जन) हुन्। छायांकन शिवराम श्रेष्ठ, सङ्गीत युग भुसाल, कोरियोग्राफी रामजी लामिछाने, निर्माण व्यवस्थापन भोला सुबेदी तथा मुख्य सहायक निर्देशन सगर बोहराले सम्हालिरहेका छन्। पटकथा तथा संवाद निर शाह, प्रजाल दुलाल र सुगम दुलालले संयुक्त रूपमा तयार पारेका हुन्।
 

प्रकाशित मिति: आइतबार, फागुन १७, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update