
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय राजनीतिक दलहरुको छायाँ बनिरहँदा लोकप्रियता घट्दै गएको छ । राजनीतिक खिचातानीका कारण आक्रान्त बनेको विश्वविद्यालय सुधारको चर्चा जति नै चले पनि सुधार हुन सकेको छैन । पछिल्लो समय खुला प्रतिष्पर्धाबाट उपकुलपति चयन गरी सुधारतर्फ लैजाने प्रक्रिया अघि बढिरहँदा पनि राजनीतिक छायाँ भने हट्न सकेको छैन ।
नेपालको इतिहासमै पहिलो पटक त्रिभुवन विश्वविद्यालयमा खुला प्रतिष्पर्धाबाट उपकुलपति चयन गर्ने निश्कर्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पुगे । खुल्ला प्रतिष्पर्धाबाट चयन गर्ने भनिसकेपछि पनि प्रक्रियागत त्रुटी रहेको भन्दै दोस्रो पटक विज्ञापन खुलाइएपछि ४३ जनाले आवेदन दिएका थिए । आवेदन दिएका मध्ये १४ जना सर्ट लिष्टमा परे । तर सर्ट लिष्टमा छनोट भएकाहरु विवादरहित थिएनन् । विवादित ब्यक्तिलाई छनोट नगर्न भन्दै सडकदेखि संसदसम्म नै आवाज उठ्यो ।
भ्रष्टाचार अनियमिताको आरोप लागेकादेखि बौद्धिक सम्पत्ति चोरीको आरोप लागेका केही ब्यक्तिहरु पनि शर्ट लिष्टमा परेपछि यो त्यसै विवादित बन्यो । नागरिकदेखि संसदसम्म विरोध भइरहँदा ३ जना उपकुलपतिका लागि अन्तिम सूचीमा सिफारिस भए । विश्वविद्यालयको सुधारको नीति लिँदै खुला प्रतिष्पर्धा भनिए पनि सेटिङ मिलाएर दलीय भागबण्डा गरिएको भन्दै सत्तारुढ दलकै नेताहरुले असन्तुष्टि जनाइरहेका छन् ।
शिक्षामन्त्री अशोक राई नेतृत्वको समितिले सोमवार क्रमशः चित्रबहादुर बुढाथोकी, केशरजंग बराल र टंकनाथ धमलाको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल प्रचण्डले तीन मध्ये एक जनालाई उपकुलपति नियुक्त गर्नेछन् । तर तीन जनाको नाम सिफारिस गर्नुअघि नै सत्तारुढ प्रमुख घटक माओवादी केन्द्र र नेपाली कांग्रेसबीच भागबण्डा भने मिलिसकेको छ ।
दलीय भागबण्डामा उपकुलपति नियुक्त गर्न लागिएको कांग्रेस महामन्त्री गगन थापा स्वयम्ले सार्वजनिक गरेका छन् । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा मात्र होइन, विश्वविद्यालयका रजिष्टारसम्म नै दलहरुको भागबण्डा मिलिसकेको छ । सिफारिस गरिएका तीन मध्ये पहिलो नम्बरमा सिफारिस गरिएका बुढाथोकी उपकुलपति नियुक्त हुने निश्चित जस्तै छ । बुढाथोकी उपकुलपति भएपछि कांग्रेसले सिफारिस गरेकालाई रजिष्टार बनाउने गरी भागबण्डा मिलिसकेको छ ।
कांग्रेसले जगत तिमिल्सिनालाई रजिष्टार बनाउन सिफारिस गरेको छ । माओवादी र कांग्रेसबीचको भागबण्डा भएकै कारण प्रमुख विपक्षी दल एमाले रुष्ट छ । आफ्नो पक्षका नपरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पहिले नै विवादित भइसकेको ब्यक्तिलाई उपकुलपति बनाउन लागेको भन्दै सोमबार आक्रोश पोखेका थिए । दुई पार्टीको भागबण्डापछि एमालेबाट पनि अन्य कुनै पदमा नियुक्ति पाएमा भने तैंचुप मैंचुप हुने निश्चित छ ।