काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन–२०८२ को परिणामले नेपाली राजनीतिमा एउटा ठूलो परकम्प ल्याइदिएको छ । नेपालमा पछिल्लो भदौ २३ र २४ मा भएको जेनजी युवाहरूको विद्रोहपछि सबै पुराना र स्थापित दल पाखा लाग्ने अवस्था आयो । त्यही विद्रोहको दोस्रो संस्करणका रूपमा मञ्चित भएको प्रतिनिधिसभा निर्वाचनले केवल रास्वपा (जो विद्रोहको स्टेकहोल्डर पनि हो) लाई देशभरिबाट करिब २ तिहाइ बहुमतको जनादेश दिएको छ । तर काँग्रेस, कम्युनिष्ट, मधेशवादी दल सब बढारिए ।
काँग्रेसमा जेनजी विद्रोहपछि गगन थापा र विश्वप्रकाश शर्माले ठूलो हिम्मत गरेर रूपान्तरणको प्रयास गरे, विशेष महाधिवेशन बोलाएर पुरानो अकर्मण्य नेतृत्वलाई विश्राम दिए । त्यसपछि युवालहर पनि देखियो, काँग्रेस पहिलो पार्टी बन्ने र गगन थापा प्रधानमन्त्री बन्ने आशा, अड्कल समेत बलियो थियो । तर चुनावी नतिजा अनपेक्षित भयो, गगन स्वयं पनि हारे । यस अवस्थामा उनीहरू कहाँ चुके, अथवा परिस्थित अर्कै भयो र रास्वपाको वेग थाम्न सकिएन ? आगामी दिनमा के गर्लान् गगन र विश्वप्रकाशले ? यी प्रश्न अहिले आम प्रश्न बनेका छन् ।
कहाँ चुके गगन–विश्व ?
‘जेनजी’ विद्रोहको जगमा उभिएको रास्वपाको दुई–तिहाइ बहुमत र गगन थापाजस्ता स्थापित युवा नेताको पराजयले नेपाली मतदाताको मनोविज्ञान पूर्णतः परिवर्तन भएको संकेत गर्छ । विशेष महाधिवेशनबाट उपसभापति बनेका विश्वप्रकाश शर्माले ‘जेन–जी’ पुस्ताले खोजेको समग्र परिवर्तनको चाहनालाई काँग्रेसले सम्बोधन गर्न र बुझाउन नसक्दा निर्वाचनमा पराजय भोगेको स्वीकारेका छन् । साथै उनले २०७९ को निर्वाचनले नै मूलधारका दलहरूलाई ‘खतराको घण्टी’ बजाइसकेको भए पनि त्यसलाई बुझ्न र आफूलाई बदल्न नसक्दा अहिलेको परिणाम भोग्नुपरेको बताए ।
शर्माले फागुन २१ को निर्वाचन परिणामलाई मात्रै हेरेर समीक्षा गर्दा अधुरो हुने बताए । उनका अनुसार त्यो बेलाको जनमतले दलहरूलाई ‘नेतृत्व बदल, सरकार बदल, शैली बदल’ भन्ने प्रष्ट सन्देश दिएको बताए । दलहरूले आफूलाई रूपान्तरण गर्न नसकेकै मौका छोपेर नागरिकको असन्तुष्टिलाई मतमा बदल्न नयाँ दलको जन्म भएको उनको विश्लेषण छ । नयाँ पुस्ताले सरकार, दल, नेतृत्व, प्रशासन र समाजमै एकमुष्ट परिवर्तन चाहेको तर काँग्रेसले आफूभित्र गरेको परिवर्तन उनीहरूलाई बुझाउन नसकेको पनि उनले स्वीकार गरेका छन् । जेन–जी पुस्तालाई सबै परिवर्तन एकैपटक हुँदैन र यसको शुरुवात काँग्रेसले गरिसकेको छ भनेर बुझाउन पार्टी चुकेको उनको भनाइ छ ।
देशमा केही राम्रा कामहरू पनि भइरहेका छन् भन्ने यथार्थलाई स्थापित गर्न नसक्दा नयाँ दलहरूले त्यसको फाइदा उठाएको विश्लेषण अहिले भइरहेछ । काँग्रेसको २०८२ माघमा विशेष महाधिवेशन गरेर गगन थापाले सभापति जिते पनि त्यो प्रयास आम निर्वाचनको मुखैमा मात्र भएको थियो । लामो समयसम्म शेरबहादुर देउवाको ‘अकर्मण्य’ नेतृत्वसँगै सरकारमा बसेको दाग र पार्टीभित्रको आन्तरिक कलहलाई यति छोटो समयमा मेटाउन सम्भव भएन । भदौ २३ र २४ को ‘जेनजी’ विद्रोहले पूर्णतः ‘एंटी–इस्ट्याब्लिसमेन्ट’ धार समातेको थियो ।
गगन–विश्वप्रकाश जतिसुकै सुधारवादी भए पनि जनताले उनीहरूलाई त्यही ‘पुरानो प्रणाली’ (कांग्रेस) को एउटा हिस्साका रूपमा हेरे । विद्रोहको भावनात्मक आवेगलाई कांग्रेसले भन्दा रास्वपा (बालेन लहर र घण्टी)ले बढी क्यास ग¥यो । यसपालि मतदाताले ‘सुधार’ होइन, ‘विस्थापन’ रोजे । गगन थापाले कांग्रेसभित्रै बसेर सुधार गर्ने कुरा त गरे, तर आक्रोशित युवा पुस्ताले कांग्रेसलाई नै विस्थापित गरेर नयाँ विकल्प (रास्वपा) रोज्ने निर्णय गरेको प्रस्ट देखिन्छ ।
आगामी दिनका चुनौती
अनपेक्षित हारले अन्य दलजस्तै काँग्रेस पनि रन्थनिएको पक्कै छ । उनीहरूका लागि अबको बाटो निकै कठिन छ । प्रत्यक्षतर्फ १७ सिटमा खुम्चिएको कांग्रेसलाई पुनर्जीवित गर्न गगन–विश्वले अब ‘संसदीय अंकगणित’ भन्दा बाहिर निस्केर सडक र संगठनमा समय बिताउनुपर्ने हुन्छ । रास्वपाले दुई–तिहाइ बहुमत पाउँदा सत्ता ‘निरंकुश’ हुने खतरा रहन सक्छ । यस्तो बेला गगन र विश्वप्रकाश संसदभित्र त छैनन् तर बाहिरबाट ‘लोकतान्त्रिक पहरेदार’को भूमिका खेल्नुपर्नेछ । अब कांग्रेसले बीपीको समाजवाद मात्र होइन, ‘डिजिटल एरा’ र ‘जेनजी’का मुद्दाहरूलाई व्यवहारिक रूपमै आत्मसात गर्नेगरी नयाँ वैचारिक दस्तावेज तयार पार्नुपर्ने चुनौती छ ।
समग्रमा गगन र विश्वप्रकाशले साहस त गरे, तर उनीहरू समयभन्दा अलि ढिलो भए । रास्वपाको वेग थाम्न नसक्नुमा उनीहरूको व्यक्तिगत कमजोरीभन्दा पनि कांग्रेसप्रतिको सामूहिक जनआक्रोश मुख्य कारक रह्यो । अब काँग्रेसको नियमित महाधिवेशन तथा पुनर्गठन गरेर धैर्यपूर्वक अघि बढ्नुको विकल्प छैन ।
