News 24 Television
संसदीय समितिले पाए नेतृत्व, रहवर अन्सारीमाथि पारदर्शिताको प्रश्न, लेखामा कांग्रेसका खड्का

काठमाडौं । प्रतिनिधिसभातर्फका विभिन्न समितिका सभापति निर्वाचित भएका छन् । संघीय संसदका १२ समितिका सभापतिमा सार्वजनिक लेखा समितिका कांग्रेस र बाँकी समितिको सभापतिमा रास्वपाका सांसदहरु निर्वाचित भएका छन् । समिति सभापतिको निर्वाचन र लेखा समितिलाई विपक्षीलाई दिने परम्पराले समितिबाट हुने कार्यसम्पादन कस्ता रहलान ? चासो देखिन्छ । 

संसदको मिनि पार्लियामेन्टको रुपमा चिनिने यस्ता समितिमा सभापति, सदस्यको संख्या र उपस्थितिले महत्वपूर्ण अर्थ राख्ने गर्छ। जसअनुसार समितिको सभापतिका निम्ति हानाथाप नै हुने गरेको देखिन्छ । तर, यो पटकको निर्वाचन परिणामपछि संसदीय समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीले एकलौटी रुपमा आफ्नो उपस्थिति सभापतिमा देखाएको छ । भने सदस्यको संख्यामा पनि उल्लेख्य सहभागीता देखिन्छ । जसअनुसार प्रतिनिधिसभाका १० एकल समिति र २ संयुक्त राष्ट्रियसभा समेत गर्दा सभापति को–को बने ? 

प्रतिनिधिसभातर्फ

१. अर्थसमितिः डा. कृष्णहरि बुढाथोकी

२. अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिः सुम्निमा उदास

३. उद्योग बाणिज्य तता श्रम तथा उपभोक्ता समितिः रहवर अन्सारी

४. कानुन, न्याय तथा मानव अधिकार समितिः समीक्षा बास्कोटा

५. राज्यव्यवस्था तथा सुशासन समितिः हरि ढकाल

६. सार्वजनिक लेखासमितिः भरतबहादुर खड्का

७. महिला तथा सामाजिक मामिला समितिः आकृति अवस्थी

८. पूर्वाधार विकास समितिः आशिष गजुरेल

९. कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिः अशोक चौधरी

१०. शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिः डा ओजस्वी शेरचन

राष्ट्रियसभासहितको संयुक्त समिति

१. संसदीय सुनुवाइ समितिः बोधनारायण श्रेष्ठ

२. राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिः गणेश कार्की

प्रतिष्पर्धा कुन समितिमा भयो?

संसदीय समितिको सभापति पदका निम्ति शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका डा ओजस्वी शेरचन र नेपाल कम्युनिष्ट पार्टी एमालेका गुरुप्रसाद बरालबीच प्रतिष्पर्धा भएको थियो भने संयुक्त समितिअन्तर्गत राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति सभापतिमा रास्वपाका गणेश कार्की र नेपाली कम्युनिष्ट पार्टीकी मदनकुमारी शाह ’गरिमा’बीच प्रतिष्पर्धा भएको थियो ।

जसमा दुबै समितिको सभापतिमा रास्वपाबाट शेरचन र कार्की निर्वाचित भएका हुन् । अन्य समितिको सभापतिमा भने रास्वपाका सदस्यहरु निर्विरोध बने । यस्तै, संसदको सार्वजनिक लेखा समितिमा भने रास्वपाले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको उम्मेदवारलाई छाडिदिएको छ। संसदीय अभ्यासमा सार्वजनिक लेखा समितिको सभापति विपक्षी दललाई दिने अभ्यास रहँदै आएको छ।

निर्वाचित बनेपछि के भने सभापतिहरुले?

संशदीय समितिका सभापतिमा निर्वाचित भएकाहरुले पदीय गरिमालाई पछ्याउने, सुशासनको पक्षमा काम गर्ने र मिनि पार्लियामेन्टलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसरी सभापतिहरु निर्विरोध निर्वाचित हुँदै गर्दा रास्वपाका रहवर अन्सारी उद्योग समितिमा सभापति बनेको विषयलाई भने उनीहरुले विधि र पद्धतिको पालनासंग जोडेका छन् । यो समितिमा रास्वपाकै मनिष झालाई अघि सार्ने तयारी अन्तिममा आएर झाले आफु समिति सभापतिमा नबस्ने भन्दै अस्वीकार गरेपछि अन्सारीलाई शिक्षा समितिबाट उद्योगमा एकाएक ल्याएर सभापतिको उम्मेदवार बनाइएको थियो । यसमा विपक्षी दलहरुले पारदर्शीताको प्रश्न समेत उठाएका हुन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update