मकवानपुर । जनताको आधारभूत सेवा सुविधालाई प्राथमिकतामा राख्दै हेटौंडा उपमहानगरपालिका–१५ नम्बर वडाले वडाबासीका लागि निशुल्क खानेपानी, एम्बुलेन्स तथा रगतको सुविधा उपलब्ध गराउन सुरु गरेको छ ।
मकवानपुरको यस वडाले नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक सेवाहरू सहज रूपमा उपलब्ध गराउने उद्देश्यसहित यस्तो पहलको थालनी गरेको हो ।
हेटौंडा उपमहानगरपालिका १५ नम्बर वडाका श्याम बहादुर थिङको आमा मुटुरोगी छिन् । आमाको उपचारका लागि उनका परिवारले कहिले चितवनको भरतपुर त कहिले काठमाडौँ लानुपर्ने बाध्यता छ ।
उपचार गराउन लाग्ने खर्च जोहो गर्नुेपर्ने तनाव एकातिर छँदैछ । अर्कोतिर हेटौंडाबाट काठमाडौँसम्म एम्बुलेन्समा बिरामी लिएर गएको भाडा नै १० हजार रुपैंया भन्दा बढी तिर्नुपर्ने समस्या ।
एम्बुलेन्स भाडामै हजारौँ रकम खर्चिरहेको उनको परिवारको लागि वडाका जनप्रतिनिधिहरु सारथी बनेका छन् । यस वडाले बिरामी लिएर अस्पतालसम्म गएको खर्च व्यहोर्ने निर्णय गरेसँगै राहतको महशुस गर्न पाइएको उनी बताउँछन् ।
वडा कार्यालयले आफ्ना वडामा बसोबास गर्ने नागरिक बिरामी भई जहाँ सुकै उपचार गर्न लगे पनि लाग्ने एम्बुलेन्स भाडा, उपचारका लागि आवश्यक रगत खरिद खर्च तथा मासिक १० हजार लिटरसम्म खानेपानी निःशुल्क उपलब्ध गराउने निर्णय गरेपछि स्थानीयवासी उत्साहित भएका छन् ।
हेटौंडा उपमहानगरपालिका–१५ नम्बर वडाको यो निर्णयले विशेषगरी विपन्न तथा आकस्मिक अवस्थामा परेका बिरामीलाई ठूलो राहत पुग्ने विश्वास गरिएको छ ।
दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत सेवामा राहत मिल्ने भएपछि वडाबासीले यस कदमलाई स्वागत गरेका छन् । वडामा रहेका २१ वटा टोल विकास समिति मध्ये १९ वटा टोल विकास समितिमा यो कार्यक्रम हाललाई लागू गरिएको हो ।
टोल विकास समितिमार्फत् रकम निकाशा गरेर विवरण गरिने कार्यालयले जनाएको छ । वडामा रहेका २ हजार ३०६ घरधुरीले निः शुल्क खानेपानी प्रयोग गर्न पाउने भएका हुन् ।
गत माघ महिनादेखि यो कार्यक्रम कार्यान्वयनमा आएको र यो कार्यक्रमलाई आगामी आर्थिक वर्षहरुमा समेत निरन्तरता दिइने वडाअध्यक्ष सुनिल मोक्तान बताउँछन् ।
हेटौंडा उपमहानगर पालिकाभित्रका १९ वडाहरुमध्ये १५ नम्बर वडाले पहिलो पटक यस्तो कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यस कार्यक्रमले स्थानीय तहबाटै नागरिकको आधारभूत आवश्यकता सम्बोधन गर्ने उदाहरण प्रस्तुत गरेको छ । सेवा प्रवाहलाई नागरिकमैत्री बनाउँदै जीवनस्तर सुधारतर्फ उन्मुख यस्तो पहलले अन्य वडाहरूलाई पनि प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
